१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मजदुरको पिडा : ‘नागरिकता नहुदैमा म नेपाली नागरिक होइन र ?’

मजदुरको पिडा : ‘नागरिकता नहुदैमा म नेपाली नागरिक होइन र ?’
अ अ+ अ-

काठमाडौं । सर, म नेपाली नागरिक होइन र ? मलाई नागरिकता नभएको भन्दै राहत दिएनन् । मलाई भोक लाग्दैन र ? यो पीडा मिश्रित भनाइ हो कमानसिंह लामाको ।

नुवाकोटको रानीपौवा घर भएका ५२ वर्षीय लामा विगत एक वर्षदेखि कीर्तिपुर नगरपालिका वडा नं ६ मा ज्यामी मजदूरी गर्दै आउनुभएको छ । स्थानीय उपभोक्ता समितिले निर्माण गर्न लागेको सडकमा काम गर्न नुवाकोटबाट कीर्तिपुर पुग्नुभएका लामासँग नागरिकता छैन ।

नागरिकता घरमै छाडेर आएको उहाँ बताउनुहुन्छ । मलाई नागरिकता नभएका कारण वडाले बाँडेको राहत पाउन सकिन । स्थानीय नागदह नजिकैको लप्सीबोटमा भेटिनुभएका लामा आफूलाई वडा (स्थानीय सरकार)ले राहत नदिएर सौतिने व्यवहार गरेको बताउनुहुन्छ । लामासँग नाति उमेरको कुमार लामा पनि बस्नुहुन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलने डरले सरकारले ‘लकडाउन’ घोषणा गरेको पनि लामो समय भयो । काम नहुँदा खाने सामल सकियो लामाको ।

स्थानीय वडाले केही दिन खाना पकाएर खुवायो । व्यवस्थापन मिल्न नसकेको भन्दै खाना पकाउने काम पनि बन्द भयो । त्यसो त के कतिलाई खाना खुवाउने भन्ने स्पष्ट तथ्याङ्क नहुँदा सो कार्य बन्द भएको नागदह आसपासमा बस्ने दैनिक ज्यालादारी गर्ने श्रमिक बताउँछन् । स्थानीय समाजसेवीले सो क्षेत्र आसपासमा बस्नेलाई आफ्नै पहलमा गाँस काटेर भए पनि बचाइराखेका छन् । सधैँ उनीहरु पनि सेवा गर्न सक्ने अवस्थामा छैनन् ।

समस्यामा परेका दैनिक ज्यालादारी, श्रमिक तथा विद्यार्थीका लागि व्यवस्थापन गर्ने दायित्व स्थानीय जनप्रतिनिधिको हो । उनीहरु पनि जिम्मेवार नदेखिएको स्थानीयवासी गुनासो छ । स्थानीय तहले भने आफूहरु निरन्तर व्यवस्थापनमा लागिपरेको बताउँदै आएको छ ।

रासससँगको भेटमा लामा भन्नुहुन्छ, “दाल, चामल भए हुन्थ्यो । नून त एक महिनालाई पुग्नेछ ।” उहाँ भन्नुहुन्छ, “ज्यामी काम गरेर कमाएको पैसा ‘लकडाउन’ हुनुभन्दा पहिल्यै घर पठाए । अहिले पैसा पनि छैन, खाने सामल पनि छैन ।” उहाँसँगै आश्रय लिएका कुमार पनि आफूहरुलाई केही चामल पाएहुन्थ्यो जस्तो लागेको बताउनुहुन्छ । सोह्र वर्षका लामा पनि कमानसिंहसँगै ज्याबेल चलाउन आउनुभएको हो ।

यस्तै फिरोज मिया पर्सा नग्वाबाट काठमाडौँ आउनुभएको हो । मिस्त्रीको काम गर्न आउनुभएका मियाको परिवारमा चार जना छन् । दश महिनाको छोरी पनि छ । लकडाउनका कारण दैनिक गर्दै आएको काम रोकिएपछि के खाने भन्ने चिन्ताले सताएको छ । रु चार हजार भाडा तिरेर हिमाल सिमेन्टको कारखाना नजिकै बस्दै आउनुभएका मियालाई पनि अरु सहयोग नभए पनि खाने चामल र दाल भए हुन्थ्यो भन्ने लागेको छ । ऋण धन गरेर भए पनि बस्ने इच्छा भए पनि सबैतिर उस्तै समस्या रहेकाले कसले आफूलाई सहयोग गर्ला र भन्ने चिन्ताले सताएको छ उहाँलाई । “घर जान मन थियो, सवारी साधन चलेका छैनन, यी लाला बाबा भोकै पर्लान् कि भन्ने ठूलो चिन्ता छ, केही सहयोग पाइन्छ र सर”, मियाले भन्नुभयो ।

पर्साकै दीपेन्द्र कुमाल पनि पाँच जनाको परिवारका साथमा सोही स्थानमा बस्दै आउनुभएको छ । आठ, छ र चार वर्षका तीन वटा बच्चा छन् । “भोक लाग्यो भन्छन्, हामीले कही कतैबाट सहयोग पाएनौँ । कि त हामीलाई घर जाने वातावरण बनाइदिनुपर्यो होइन भने केही खाने सामल उपलब्ध गराइदिनुपर्यो”, उहाँ पीडा पोख्नुहुन्छ । स्थानीय वडाबाट राहत नपाएको बताउँदै उहाँ समाजसेवी महिला समूहले भने आफूहरुलाई पाँच किलो चामल, दाललगायतका सामग्री उपलब्ध गराएको बताउनुहुन्छ । उहाँले राहत दिने महिला समूहलाई भने धन्यवाद दिनुभयो ।

यस्तै भारतको मोतीहारीका साहिल मिया पनि उहाँहरुसँगै बस्नुहुन्छ । विपद्को समयमा सबै नागरिकलाई सेवा र सुरक्षा प्रदान गर्नुपर्ने भए पनि आफूले कुनै राहत नपाएको गुनासो गर्नुभयो । एक वर्षको बच्चा र श्रीमतीसहित बस्दै आउनुभएका मियाको परिवारलाई स्थानीय समाजसेवी मनोज रानालगायतले केही राहत उठाएर दिनुभएको छ ।

स्थानीय समाजसेवी राना समस्यामा परेका, दैनिक ज्यालादारी गर्ने श्रमिकलाई आफूहरुले पहल गरेर केही राहत दिए पनि त्यो पुग्दो नभएको बताउनुहुन्छ । स्थानीय महिला समूह तथा समाजसेवीको पहलमा राहत दिइए पनि कोही सहृदयी मनले राहत प्रदान गर्ने इच्छा राखेको र त्यसको आफूहरुले सहजीकरण गरिदिएको उहाँ बताउनुहुन्छ ।

नागरिकता नभएका तथा कुनै परिचयपत्र नभएका नागरिकले राहत नपाएको र राहत वितरणमा विभेद गरेको गुनासो आइरहेका बेला कीर्तिपुर नगरपालिका– ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन भने आफूहरुले सबैलाई राहत प्रदान गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “हामीले नागरिकता नभएकालाई पनि राहत दिएका छौँ । कोही कसैले राहत नपाएको भए वडा कार्यालयमा सम्पर्क गर्न म आग्रह गर्दछु ।” वडाअध्यक्ष महर्जन कोही कसैले पनि वडाभित्र भोकै बस्नु नपरोस् भनेर लागिपरेको बताउनुहुन्छ । कोही समस्यामा परेको भए आफूलाई सोझै सम्पर्कसमेत गर्न उहाँको आग्रह छ ।