१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण ल्याइयो अस्थिरताको शिलान्यास गर्ने खतरनाक अध्यादेश



अ+ अ-


काठमाडौँ । स्थिरताको अपेक्षा गरेका जनतालाई निराश बनाउँदै नेपालको राजनीतिमा अस्थितरताको शिलान्यास भएको छ । ऐतिहासिक दुईतिहाइ जनमतबाट निर्वाचित सरकारले अहिले संसद्मा रहेको समाजवादी पार्टी फुटाउने योजना मात्र बनाएको छैन, भविष्यमा अरू दल पनि फुट्ने अभ्यासको पुनरावृत्ति गर्दै छ । यसरी कोरोना महामारीविरुद्ध देश एकजुट भएर संघर्ष गर्नुपर्ने वेला सरकार टुटफुटको राजनीतिमा लागेकोमा धेरैले आलोचना गरेका छन् ।

कुनै दल विभाजन गरेर नयाँ दल दर्ता गर्दा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने कानुन थियो । तर, सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गरेपछि अब केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुगे दल विभाजन गर्न र नयाँ दल दर्ता गर्न मिल्ने भएको छ ।

डा। बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टी फुटाउने उद्देश्यका साथ सरकारले दल फुट्नेसम्बन्धी कानुन संशोधन अध्यादेश ल्याएको छ । मोहम्मद इस्तियाक राई र रेणु यादवलगायतका नेताहरू अध्यक्ष यादवसँग असन्तुष्ट छन् । उनीहरूले पार्टी फुटाउने गरी सरकारमा हिस्सेदारी खोजेका छन् । प्रधानमन्त्रीले दुई मन्त्री, एक राज्यमन्त्री दिने आश्वासन पनि दिएको उनीहरूले आफ्ना नेताहरूलाई भन्दै आएका छन् । मन्त्रिपरिषद्मा यत्ति नै सिट उपेन्द्र यादवले पाएका थिए । समाजवादीबाट विद्रोह गर्नेले उपसभामुख पदमा पनि दाबी गरेका छन् ।

समाजवादी विभाजन भएमा प्रदेश २ सरकारबाट पनि उपेन्द्र यादवको समूह विस्थापित हुनेछ । त्यहाँको सरकार ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीको योजना छ । त्यस्तै राजपालाई पनि विभाजित गर्न सजिलो हुने बालुवाटारको बुझाइ छ । राजनीतिक रूपमा लामो तयारी गरे पनि कानुनी रूपमा भने यो प्रक्रिया नाटकीय रूपमा सम्पन्न भएको छ ।

त्यस्तै, संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेताको समर्थनविना पनि निर्णय हुन सक्ने गरी अध्यादेश ल्याइएको छ । यो कानुनले अख्तियारमा आयुक्त नियुक्ति गर्न सरकारलाई सजिलो हुने भएको छ ।

सोमबार अपराह्न साढे तीन बजे सकिएको मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै दुवै अध्यादेश राष्ट्रपति कार्यालय गएका थिए । मुख्यसचिव र कानुनसचिवले प्रस्ताव पुर्‍याएको १५ मिनेटमै राष्ट्रपतिले अध्यादेश जारी गरेकी छिन् ।

संसद्को पाँचौँ अधिवेशन सकिएको १४ दिनपछि र नयाँ अधिवेशन सुरु हुनु ठीक अगाडि सरकारले अत्यावश्यक ठानेर अध्यादेश ल्याएको छ । यही केही साताभित्र समाजवादी पार्टी फुटाउने लक्ष्य लिएको छ । केही सातापछि संसद् सुरु भएपछि यो अध्यादेश विधेयकबाट प्रतिस्थापित हुनुपर्नेछ । विधेयक पारित भएमा भविष्यमा अरू दल फुट्ने आधार पनि तयार हुनेछ । त्यो अवस्थामा अहिले समाजवादी र राजपा मात्र होइन, भविष्यमा सत्तारुढ नेकपा स्वयं वा विपक्षी कांग्रेसलाई पनि विभाजित हुने मैदान बन्नेछ ।

अध्यादेशमाथि सचिवालयमा नेताहरूले छलफल गर्दागर्दै राष्ट्रपतिबाट जारी भएपछि छलफलको औचित्य सकिएको भन्दै बैठक टुंगिएको थियो । राजनीतिक दल विभाजन र नयाँ दल गठनसम्बन्धी विधेयक आउँदैछ भन्ने जानकारी सोमबार मन्त्रिपरिषद् बैठकमा सहभागी अधिकांश मन्त्रीलाई अन्तिमसम्म पनि थिएन । तर, बैठक सकिनै लाग्दा प्रधानमन्त्रीले यो प्रस्ताव ल्याएपछि मन्त्रीहरू मुखामुख गरेका थिए ।

‘यो नेकपासँग जोडिने विषय होइन है’ भन्दै प्रधानमन्त्रीले एजेण्डा प्रवेश गराए पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल र ऊर्जामन्त्री वर्षमान पुन त्यसमा आश्वस्त हुन सकेनन् । उनीहरूले जनता अहिले कोरोना महामारीविरुद्ध संघर्षमा रहेको र देश लकडाउनको अवस्थामा रहेका वेला दल विभाजनसम्बन्धी अध्यादेशलाई सरकारले प्राथमिकता दिँदा गलत सन्देश जाने मत राखेका थिए । आवश्यक भए संसद्को आगामी अधिवेशनबाटै कानुन ल्याउन उपयुक्त हुने उनीहरूको सुझाब थियो ।

तर, प्रधानमन्त्रीले खासै चासो नदिएपछि मन्त्रीहरूले सवालजवाफ गरेनन् । बरु प्रधानमन्त्रीले अध्यादेशको औचित्यमाथि प्रकाश पार्दै सबै परिस्थितिलाई मध्यनजर गर्दै सुविचारित ढंगले नै ल्याउन खोजिएको प्रस्ट्याएका थिए । विदेशमा समेत केन्द्रीय समिति र संसदीय दल दुवैतिर ४० प्रतिशतको अनिवार्य व्यवस्था नरहेको तर्क राखेका थिए । मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति कार्यालय पठाएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठकमा बसेका थिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको उद्देश्य, सन्दर्भ र पद्धतिमाथि प्रश्न उठाएका थिए । ‘अहिले कोरोनाविरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने वेला हो, पार्टी फुटाउने तयारीमा लाग्ने वेला होइन, फेरि यो विषयमा पार्टीभित्र संस्थागत छलफल नहुनु गम्भीर विषय हो,’ प्रचण्डको भनाइ थियो ।

त्यस्तै वरिष्ठ नेता खनालले जुट्न सजिलो हुने संस्कार विकास गर्नुपर्नेमा पार्टी फुटाउन सजिलो हुने कानुन अहिले कसरी आवश्यक भयो भन्ने प्रश्न गरेका थिए । उनको भनाइ थियो, ‘आवश्यकता भएको भए पार्टीमा छलफल किन भएन, यसले गलत पद्धति विकास भएको छ ।’

त्यस्तै, प्रवक्ता श्रेष्ठले अध्यादेश ल्याउँदा देश कुन अवस्थामा छ भन्नेसमेत ख्याल नगरिएको बताएका थिए । ‘अहिले देशलाई जुटाएर अघि बढ्नुपर्नेछ, तर संस्थागत विधि र प्रक्रियालाई लत्याएर पार्टीभित्र छलफल नगरी हठात मन्त्रिपरिषद्बाट अध्यादेश पास गर्नु गलत हो,’ उनको भनाइ थियो । (आजको नयाँपत्रिकामा समाचार छ ।)