२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

सम्पादकीय : सही सूचना, जिम्मेवार पत्रकारिता

त्यसैले हाम्रा कर्मप्रतिको विश्वास पनि समाजले नै गरिदिनुपर्दछ । त्यसो भएन भने बुझौँ हामी अब अस्तित्वमा छैनौँ ।

सम्पादकीय : सही सूचना, जिम्मेवार पत्रकारिता
अ अ+ अ-

पत्रकार समाजको अगुवा हो, यसले समाजलाई मार्गनिर्देश गर्दछ । यसलाई पत्रकारिताको सिद्धान्तको भाषामा कतै कतै मिडियाको एजेण्डा सेटिङ पनि भन्ने गरिन्छ, जसको अर्थ मिडियाले समाजलाई जुन बाटो हिँड्दा राम्रो हुन्छ त्यही बाटो हिँड्न सहजीकरण गरिरहेको हुन्छ । अझ ठेट भाषामा भन्ने हो भने बाटोमा काँडा नलागोस भनेर नै मिडियाले पत्रकारिता हिँड्ने बाटो टर्च लाइट बालेर देखाइरहेको हुन्छ ।

यतिविधि भर भएकैले समाजले मिडियालाई पछ्याउँछ पनि । त्यसैले नेपाली मात्र होइन, हर समाज र पत्रकारिताका बीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । यी दुईले एक अर्काका आवश्यकता र भूमिका पनि पूरा गर्ने गर्दछन् । प्रेसले समाजबाट सूचना लिन्छ र त्यसैका आधारमा समाचार बनाएर समाजलाई नै फिर्ता दिन्छ ।

अनि समाजले पनि सूचना या समाजका लागि प्रेससँग नै सम्बन्ध राख्दछ । यसरी प्रेस र समाज एक अर्कामा निर्भर छन् र एक अर्काका परिपूरक छन् । यो सुमधुर र अपरिमेय सम्बन्धका कारण नै दुवै अस्तित्वमा छन् । प्रेसको आफ्नै अस्तित्व छ र त्यसको निर्धारण समाजले गरिदिन्छ । अनि समाजको अवस्था र व्यवस्थाको जानकार प्रेस रहन्छ र उसैले त्यो समाज र एकको अर्काे समाजलाई जानकारी गराइरहन्छ । यसकारण यी दुई एक अर्काका अस्तित्व र आवश्यकतामा निर्भर रही आएका छन् ।

त्यसो हुनका लागि त्यो प्रेस अर्थात् भनौँ पत्रकारिताले सही सूचना बोकेको हुनुपर्छ र असल नियतको संवाहक पनि हुनुपर्दछ । नि:स्वार्थ आपसका सहयोगी छन् र त यिनले एकअर्कालाई पनि सही मार्गनिर्देश गर्न सक्दछन् । समाज असल समाजकै रुपमा रहन तथा पत्रकारिताले पनि आफ्नो सामाजिक उत्तरदायित्वको सिद्धान्तको महसुस गर्न सेतुको काम सही सूचनाले नै गरेको हुन्छ ।

सही सूचना हुँदा मात्र जिम्मेवार पत्रकारिता हुन्छ । सही सूचनाले मात्र असल समाजको निर्माण गर्न सक्दछ । पत्रकारिता समाजको पहरेदार हो भन्नुको अर्थ पहरेदारका रुपमा रहेका व्यक्तिले जसरी त्यस घर या भवनको ढोकाबाट गलत तत्वहरुलाई भित्र प्रवेश दिँदैन, त्यस्तै प्रेसले पनि समाजमा गलत तत्वको प्रवेश गराउँदैन भनेको हो । पत्रकारिता समाजको पहरेदार हो (वाच डग अफ द सोसाइटी) भनेको पनि त्यही हो ।

तर यो एआइको युग हो । अब पत्रकार बिना नै समाज लेख्ने, पढ्ने काम मेशिनले गर्न थाल्यो । यस्तो युगमा आइसकेपछि अहिले अब हामी के कुरामा पनि व्याख्या गर्न थालेका छौँ भने प्रेसमात्र समाजको पहरेदार होइन समाजले पनि प्रेसको पहरेदारी गर्नुपर्दछ, गरेको हुनुपर्दछ ।

यसको अर्थ अब प्रेसले जे लेख्यो त्यो मात्र पत्याइदिनुपर्छ, मानिदिनुपर्छ भन्ने होइन । आपसको अन्तरनिहीत सम्बन्धको सिद्धान्तमा यो आधारित हुनुपर्छ भन्ने हो ।

आज न्यूजपोलारको छैठौँ वार्षिकोत्सको दिनमा यो समिक्षा गरौँ कि प्रेसले समाजलाई सही ढंगले डाेर्‍याएकै छ त ? अनि के प्रेस सूचना अथवा भनौँ समाचारका लागि पूर्णरुपेण पत्रकारितामै निर्भर रहेको छ त ?

पत्रकारिताका माध्यमहरु (हामीले परम्परागत रुपमा पत्रकारिताका माध्यम मानेका पत्रपत्रिका, रेडियो, टीभी र अहिले कान्छो स्वरुपमा जन्म लिएको अनलाइन) मा मात्र छ कि त्यो भन्दा पनि बाहिर पनि छ सूचना अर्थात् हामीले भन्ने या खोज्ने गरेको समाचार ? यस विषयमा घोत्लिने र खोज्ने बेला आएको छ ।

अनि खोज्नैपर्ने अर्काे विषय हामी कति जिम्मेवार छौँ भन्ने हो । हामी कति हदसम्म जनतालाई, समाजलाई सुसूचित गर्नमा जिम्मेवार छौँ अर्थात् माथि भनिएनस्तै कति मात्रामा हामीले समाजलाई बाटो देखाएर डाेर्‌याउन सकेको छौँ ? हाम्रा सूचना सही छन् ? हाम्रा समाचार जिम्मेवार छन् ? छन् भने हाम्रा समाचार कन्टेन्टहरुले हालैमात्र हाम्रा सार्वजनिक सम्पत्ति र सम्पदाहरुमा झोसिरहेको आगो निभाउन किन सकेनन् ?

विश्वव्यापी रुपमा स्वीकार गरिएका पत्रकारिताका चार काममा सूचना दिनु, शिक्षा दिनु, उत्प्रेरित गर्नु र मनोरञ्जन दिनु नै हुन् । यीमध्ये हामीले हालै के दियौँ र काठमाडौँभरि आगो झोसियो ? कि हामीले दिएर पनि लिनेले लिएनन् कि ? त्यसो हो भने हामीप्रतिको विश्वास स्वात्तै घटेको हो भनेर बुझ्नुपर्छ । हाम्रो प्रभाव, भूमिका र विश्वास नै घटेको हो भने पत्रकारिता र समाजबीचमो माथि भनिएजस्तो आपसको अन्योन्याश्रित सम्बन्ध पनि त अब कायम छैन भनेर बुझ्नुपर्यो ।

समाजलाई नै हामीले दिएको सूचनामा विश्वास छैन भने हाम्रो अस्तित्व कहाँ खोज्न जानु ? हामीले बाघ बचाउँ भनेर लेखिएको समाचारको उपभोग गर्न पनि त आखिर समाज नै हो, बाघले त त्यो समाचार पढ्न सक्ने होइन । सामाजिक अस्तित्वमा रहेका अन्य सबै अवयवहरुजस्तै पत्रकारिताको अस्तित्व रहने पनि समाजमै हो, नागरिकमै हो ।

अब सोचौँ, हामी कहाँ छौँ र हाम्रा स्टेकहोल्डर को हुन् ? हामीले समाजलाई पत्याउने बनाउन सकेका छैनौँ भने हाम्रा सूचनाहरुका उपभोक्ता को हुने होलान् ? कुनै श्रोता या पाठकले हामीलाई लगइन गरिदिएनन् भने हाम्रो अस्तित्व कहाँ रहला ?

मन्दिर भत्किन लागेका खबर भगवानले सुन्दैनन्, पढ्दैनन् । पुल छिन्न लागेका हाम्रा समाचार पुलले सुन्दैनन्, पढ्दैनन् । अघि भनेजस्तै बाघ, बन्यजन्तु बचाउनुपर्ने समाचार पनि तिनले त पढ्दैनन् । यी सबैको स्टेकहोल्डर समाज नै हो । त्यसैले त समाचार हुनलाई मानवीय चासो भरिएको हुनुपर्दछ । यो पृथ्वीमा मानिसको चासो नभएको केही वस्तु छैन, कुनै काम छैन । त्यसैले हाम्रा कर्मप्रतिको विश्वास पनि समाजले नै गरिदिनुपर्दछ । त्यसो भएन भने बुझौँ हामी अब अस्तित्वमा छैनौँ ।

अहिले समाचार हामीसँग मात्र छैन । पत्रकारिता बाहिर पनि समाचार छ, सूचनाको छुट्टै संसार छ । हामी पत्रकार बिना नै मानिसहरु यथेष्ट मात्रामै सञ्चार गरिरहेका छन् । तर ती सबै पत्रकारिताको कशीले जाँचिएका छैनन् । तिनमा पत्रकारिताको आचारसंहिताका कुनै सिद्धान्त भेटिँदैन ।

यसकारण फरक छ त्यो सञ्चार र पत्रकारिताको सञ्चार । तर पनि हामीभन्दा बाहिरको संसार झन् ठूलो सञ्चारमा छ, हामीभन्दा पनि अझ बढी प्रभावकारी छ । सायद त्यसैले त्यहाँ बढी जोखिम पनि छ र त्यसले नै समय समयमा नेपाली समाजलाई संकटमा पारिरहेको छ ।

त्यसैले अहिलेको सञ्चार भनेको सही सूचना र जिम्मेवार पत्रकारिताको हो । त्यसका लागि हाम्रो समाजसँगको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुपर्छ, तोड्नुहुँदैन । पत्रकारिता बाहेकको सञ्चारले दुर्घटना पनि निम्त्याउन सक्छ, निम्ताइरहेकै छ भन्ने अवस्था हामीले नै सिर्जना गर्नुपर्छ । र, यो सबै जिम्मेवार पत्रकारिताबाट मात्र सम्भव छ । आजका दिनमा हामीले हाम्रा समग्र शुभेच्छुक, पाठक र समग्र विज्ञापनदातादेखि अरु सबै स्टेकहोल्डरहरुलाई दिलाउनुपर्ने विश्वास पनि सही सूचना र जिम्मेवार पत्रकारिताकै हो । यसैमा हामी सदैव प्रतिबद्ध रहने प्रण गर्दछौँ ।