काठमाडौँ । अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध दृढ प्रतिज्ञा व्यक्त गरेकी छन् ।
उनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै “भ्रष्टाचार र भ्रष्टाचारीलाई समाजमा स्थान नदिने” प्रतिज्ञा गर्न सबैलाई आह्वान गरेकी हुन् ।
उनले लेखेकी छन्, “आउनुस्, आज एउटा सपथ हामी पनि लिऔं आफैंसँग, भ्रष्टाचार विरुद्ध जुन उद्देश्य र सपना बोकी हाम्रा वीर सहिदहरूले लडे, आज एउटा सपथ लिऔं – घुस लिने र दिने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाउँ दिने छैनौं, यो त्याग र बलिदान खेर जान दिने छैनौं ।”
केकी अधिकारीको पोस्टमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
नेपाली चलचित्रमा अभिनयसँगै सामाजिक विषयमा पनि सक्रिय रहने अधिकारीले यसअघि लैङ्गिक हिंसा, वातावरण संरक्षण र पारदर्शी शासनका पक्षमा पनि आवाज उठाउँदै आएकी छिन् ।










