काठमाडौं । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले मन्त्री बन्न अनिच्छा व्यक्त गरेका छन् ।
आचार्यले अन्तरिम सरकारको मन्त्री बन्न धेरैतिरबाट सुझाव आए पनि आफूले इच्छा नगरेको बताएका छन् ।
सामाजिक सञ्जालबाट आफ्ना धारणा सार्वजनिक गर्दै वरिष्ठ अधिवक्ता आचार्यले भनेका छन्– ‘फेरि मेरो चियाको, रियाजको, लेखनको– जमिनको जिन्दगीको आनन्द, खुशी र स्वतन्त्रता कसरी गुमाउ म !’
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
क्याबिनेटमा जानु पूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई मन्त्रि प्रस्ताव राख्नु भएको थियो । मैले विनम्रतापूर्वक आफू इच्छुक नभएको बताइसकेको छु । जीवन भरि संविधानको मूल्यको कुरा गरे आन्दोलनबाट निर्मित सरकारको सिमा निश्चित हॅंदैन । यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिदैंमा बित्ने हुन्छ । चर्चा पुन भएको हो भने यसका लागि आभार । फेरि मेरो चियाको, रियाजको, लेखनको- जमिनको जिन्दगीको आनन्द, खुशी र स्वतन्त्रता कसरी गुमाउ म ! देशलाई परेको बखत् गर्ने सहयोग त सबै अवस्थामा गरेकै जस्तो लाग्छ । यति हो ती निर्दोष युवाहरू को रगतको श्राप लाग्ने दिन नआवस्, सरकारी, सार्वजनिक संपदा र निजी सम्पत्तिको बिनास र हत्यामा संलग्न व्यक्तिहरु लाई कानूनको दायरामा ल्याउन सकिएन भन्ने सुन्न नपरोस्, देशको अस्मितामा आँच आउने कुनै काम नहोस् !










