१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन जना मन्त्रीको सपथ आज हुँदै, अरु कहिले ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा थप गरेका तीन जना सदस्यको आज सपथ हुँदैछ । प्रधानमन्त्री कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी हुन् । आन्दोलनकारी जेनजीसँगको परामर्शपछि गएराति उनीहरुको नाम टुंगो लागेको हो ।

प्रधानमन्त्री कार्कीले खनाललाई अर्थमन्त्री र घिसिङलाई ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय पनि घिसिङले सम्हाल्नेछन् । अर्याललाई गृह तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

अधिवक्ता अर्याल काठमडौं महानगरका प्रमुख बालेन्द्र शाहका कानुनी सल्लाहकार हुन् । तीनै जनालाई आफ्नो मन्त्रिपरिषदमा राख्न कार्कीले आवश्यक सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छन् ।

खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् । आन्दोलकारी जेनजीले रुचाएका व्यक्ति हुन् दुवै जना । जेनजी आन्दोलनपछि आन्दोलनको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन् ।

अन्य मन्त्री छनोटको काम पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेनजी युवाहरूको परामर्शमा गरिरहेकी छन् ।

खनाल, घिसिङ र अर्यालको शपथपछि सानो आकारको मन्त्रिपरिषदबाट कार्कीले आवश्यक कामहरू अघि बढाउने छिन् । थप नामहरूको टुङ्गो लागेपछि अन्य मन्त्रीहरू चयन हुनेछन् । भ्रष्टाचारको विरोधमा जेनजी आन्दोलन भएकाले प्रधानमन्त्री कार्की तथा जेनजी युवाहरूले सुशासन कायम राख्न सक्ने तथा अन्तरिम सरकारको जिम्मेवारी तथा चुनौतीहरूलाई सामना गर्न सक्ने व्यक्तिलाई मन्त्री बनाउन चाहेका छन् । पूर्वसैन्य तथा प्रहरीका अधिकारी तथा पूर्व प्रशासकहरूको नाममा पनि मन्त्री बन्ने चर्चा चलाइएको छ ।