काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र पूर्वअर्थसचिव रामेश्वर खनालाई मन्त्री बनाउने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री बनाउने तयारी गर्नुभएको हो । प्रधानमन्त्री कार्की र घिसिङबीच यस विषयमा छलफलसमेत भइसकेको बताइएको छ ।
स्रोतका अनुसार घिसिङ तीन वटै मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुने निश्चित भएको छ ।
यसैगरी पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थ मन्त्री बनाउने टुंगो लागेको छ । देशको विकास खर्च सुस्त रहेको र अर्थतन्त्रको अवस्था सुधार गर्नुपर्ने भएकाले अनुभवी खनाललाई मन्त्रालयको साँचो दिन लागिएको हो ।
प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन वितिसक्दा मन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । सरोकारवालाहरुसँग परामर्श जारी राखे पनि घिसिङ र खनाललाई भने मन्त्री बनाउने निश्चित भएको हो । तर अरु मन्त्रीको टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
विशेष गरी जेन–जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार अड्किएको हो ।
विभिन्न समूहमा छलफल गरेर मन्त्रीहरूको नाम टुङ्ग्याउनुपर्ने चुनौती आएपछि प्रधानमन्त्रीले आज पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन ।
आजै केही मन्त्रीले सपथ ग्रहण गर्ने दाबी केही जेन–जीले गरेका थिए । तर दिनभर र साँझसम्ममा छलफल भइरहेको छ ।
यता मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले पनि मन्त्रिपरिषद्मा भाग खोजेपछि समस्या भएको छ । प्रसाईंलाई मन्त्री बनाउन केही जेन–जी युवाहरु तयार भएका छैनन् । यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहनिकटलाई पनि मन्त्रिपरिषद्मा राख्नुपर्ने बाध्यता छ ।
त्यसो त धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि आफ्ना मान्छेलाई मन्त्रिपरिषद्मा समायोजन गर्नुपर्ने माग गर्दै आउनुभएको छ ।










