मुस्ताङ। यहाँको मुस्ताङ भन्सार कार्यालयलाई व्यवस्थित तुल्याउन विभिन्न आठबुँदे निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आज बसेको जिल्ला राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकले नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयलाई थप व्यवस्थित गरी आयात÷निर्यात सहज बनाउनेगरी उल्लिखित निर्णय गरिएको हो ।
यहाँको आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नाकालाई थप व्यवस्थित गर्ने र नाकामा चोरी सिकारी, अवाञ्छित गतिविधि नियन्त्रण, सरसफाइ, पार्किङ र अनुगमनलगायत विभिन्न विषयवस्तुमा आवश्यक सहजीकरण गर्ने र भन्सारमैत्री तुल्याउने निर्णय भएको छ ।
यस्तै, नाकालाई व्यवस्थित, सुदृढ र प्रभावकारी तुल्याई अन्तरदेशीय व्यापारिक मार्गका रूपमा लैजान भन्सारले गर्ने मालवस्तुको आयात निर्यातका लागि सबै पक्षले जिम्मेवारीपूर्वक योगदान पु¥याउनेलगायत निर्णय गरिएको भन्सार कार्यालयले जनाएको छ ।
बैठकमा प्रजिअ विष्णुप्रसाद भुसाल, भन्सार अधिकृत रमेश खड्कालगायत सुरक्षाकर्मी, एक्याप, कोरला सडक आयोजनालगायत सरोकार भएकाहरूको सहभागिता रहेको थियो । रासस









