काठमाडौं । नेपाल कानुन समाजले गैरराजनीतिक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गरी कानुनी शासनको सहज वातावरण सिर्जना गर्न अपील गरेको छ ।
समाजले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी तथा सुरक्षा निकायलाई संयमता अपनाउन र शान्ति कायम गर्न अपिल गरेको छ ।
त्यसैगरी भदौ २३ गते जेन–जी पुस्ताको अगुवाईमा नाताबाद–कृपाबाद, कुशासन भ्रष्टचार तथा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध बिरुद्ध आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा अन्धाधुन्ध गोली लागि कम्तिमा १९ जना प्रदर्शनकारीको मृत्यु र चार सयभन्दा बढी घाइते भएकोप्रति समाजले दु:ख व्यक्त गरेको छ ।
यो घटनामा प्रतिक्रियास्वरुप भदौ २४ गतेको प्रदर्शनबाट उपत्यकाका भित्रका सिंहदरवार, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, न्यायलय लगायत अन्य महत्वपूर्ण स्थलहरु र काठमाडौं बाहिर भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, लुटपाट तथा योजनाबद्ध ढंगबाट व्यक्ति, नेता तथा तिनका परिवारमाथि सांघातिक आक्रमणमा समेत समाजले दु:ख व्यक्त गरेको छ ।
समाजले मुलुकमा शान्ति कायम राख्ने हामी सबै नागरिकको कर्तब्य भएको भन्दै यसको पहल बदलाको भावनाले नभई रचनात्मक राजनीतिक संवाद तथा सम्भावनाबाट मात्र खोज्न सकिनेमा समाजले विश्वास व्यक्त गरेको छ ।
समाजले जारी गरेको विज्ञप्ति
जेन–जी पुस्ताको अगुवाईमा नाताबाद–कृपाबाद, कुशासन भ्रष्टचार तथा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध बिरुद्ध आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा अन्धाधुन्ध गोली लागी कम्तीमा १९ प्रदर्शनकारीको दुखद मृत्यु र चारसय भन्दा बढी घाईते भएको समाचारप्रति नेपाल कानून समाज गहिरो दु:ख व्यक्त गर्दै मृतात्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवाप्रति हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।
प्रहरी प्रशासनले शान्तिपूर्ण प्रदर्शनकारी माथि सुरक्षाका न्यूनतम मापदण्ड समेतको पालना नगरी अन्धाधुन्ध घातक गोली प्रहार गर्नु अनुचित मात्र होईन गैरजिम्मेवारीपना पनि हो । संयुक्त राष्ट्रसंघको कानुन कार्यन्वयन निकायको वल तथा हतियार प्रयोगका आधारभुत सिद्धान्त, स्थानीय प्रशासन ऐन तथा नेपाल प्रहरीको निर्देशिका समेतको विरुद्ध संविधानप्रदत्त मौलिक हक प्रयोग गर्न गएका प्रदर्शनकारीहरुको मृत्यु समेत भएको घट्नाले नागरिकको बाच्न पाउने अधिकार समेत हनन् हुनेगरी भएको ज्यादती तथा अमानवीय कार्यको हामी घोर निन्दा गर्दछौं ।
मुलुकका विभिन्न ठाउँमा प्रदर्शनकारीमाथि भएका दमन तथा हत्याको विश्वसनीय र निष्पक्ष न्यायिक छानविन आयोग गठन गरी दोषीहरुमाथि कडा कारवाही गरी दण्डहीनताको अन्त्य गर्न एवं यस्ता घट्ना नदोहोरिने सुनिश्चित गर्न आग्रह गर्दै मृतकका परिवारलाई न्याय एवं उचित क्षतिपूर्ति र घाईतेहरुलाई स्वास्थ्य उपचारको उचित ब्यवस्था एवं क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष हार्दिक अपिल गर्दछौं ।
उक्त घटनाको प्रतिकृयास्वरुप भदौ २४ गतेको प्रदर्शनबाट उपत्यकाका भित्रका सिंहदरवार, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, न्यायलय लगायत अन्य महत्वपूर्ण स्थलहरु र काठमाण्डौ बाहिर भएका ब्यक्तिगत तथा सार्वजनिक संपत्तिमाथि आगजनी, तोडफोड, लुटपाट तथा योजनाबद्ध ढंगबाट ब्यक्ति, नेता तथा तिनका परिवारमाथि सांघातिक आक्रमण समेतका घट्नाप्रति गहिरो दुख: व्यक्त गर्दछौं । मुलुकमा शान्ति कायम राख्ने हामी सबै नागरिकको कर्तब्य हो । यसको पहल बदलाको भावनाले नभई रचनात्मक राजनीतिक संवाद तथा संभावनाबाट मात्र खोज्न सकिन्छ भन्ने कुरामा समाज विश्वस्त छ ।
२ दिनभित्र घटेका घटनाबाट भएको असिमित धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै सम्बन्धित सरोकारवालाहरुमा थप धैर्य बन्न राज्यका सुरक्षा निकायहरु थप जिम्मेवार बन्न अपिल गर्दछौं । आगामी राजनीतिक मार्गको रचानात्मक ढंगबाट निकाश निकाल्दै राष्ट्रपति, सेना र युवा समुहवीच सहमती कायम गरी गैर राजनीतिक वयक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गरी कानूनी शासनको सहज वातावरण श्रृजना गर्नु अपरिहार्य छ । त्यसको लागि प्रदर्शनकारी तथा सुरक्षा निकायलाई संयमता अपनाउँन र शान्ति कायम गर्न अपिल गर्दछौं ।










