२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पार्टी कार्यालयमा विपक्षी दलको बैठक
सांसद अपहरणको विषयमा अनुसन्धान गर्न माग



अ+ अ-

काठमाडाैं

नेपाली काँग्रेसकाे केन्द्रीय कार्यालय सानेपामा साेमबार बसेकाे चार विपक्षी दलहरूकाे बैठकले सांसद अपहरणको विषयमा अनुसन्धान गर्न माग गरेकाे छ । बैठकले जनकपुरबाट समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानबिन गर्न माग गरेकाे हाे । पार्टी फुटाउन अपहरणको शैलीमा सांसद यादवलाई काठमाडौं ल्याइएको भन्दै विपक्षी दलहरुले घटनाको छानबिन गर्न माग गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी नेपाल र राप्रपाकाे सहभागिता थियाे । सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा विपक्षी दलहरुबाट व्यापक विरोध भएपछि सरकारले दल विभाजन सम्बन्धी विधेयक फिर्ता लिएपनि पृष्ठभूमिमा भएको अपराधको चित्र र चरित्रको पटाक्षेप नभएको भन्दै दलहरुले विराेध गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री समेत संलग्न भई सांसद अपहरण भएको विषयमा मुद्दा समेत दर्ता नगरिएपछि दलहरु एकसाथ कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए । काठमाडौंमा मुद्दा दर्ता भएर महोत्तरीमा अनुसन्धान गर्न सकिने ठाउँ हुँदाहुँदै पनि मुद्दा दर्ता नभएपछि दलहरु गम्भीर बनेको प्रवक्ता शर्माले बताए ।

विगतमा पनि चितवनमा दर्ता भइ काठमाडौंमा अनुसन्धान र काठमाडौंमा दर्ता भइ सुनसरीमा गिरफ्तारी भएका नजीरहरु रहेको भएपनि शक्तिको आडमा अहिले मुद्दा दर्ता नगरिएको उनले बताए । उनले भने, ‘स्वदेशभित्र र स्वदेश भन्दा बाहिर रहेका नेपालीहरुले चासो राख्नु भएको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरु यो अपहरणसँग सम्बन्धित भएको विषयको मुद्दा समेत दर्ता नहुने, मुद्दा दर्ता काठमाडौंमा गरेर अनुसन्धान महोत्तरीमा गराउन नसकिने भन्ने होइन । विगतको नजीरलाई मध्यनजर राखेर काठमाडौंमा मुद्दा दर्ता भएर चितवनमा दर्ता भएका अथवा कारबाही भएका या चितवनमा दर्ता भएर काठमाडौंमा गिरफ्तारी भएका अथवा काठमाडौंमा मुद्दा दर्ता भएर सुनसरीमा गिरफ्तारी भएका अन्य घटनाक्रमहरु पनि हामीले हेरेका छौं ।’

सांसदको अपहरण जस्तो विषय कुनै एक दलसँग मात्रै सम्बन्धित नभएर समग्र शान्ति, संविधान र लोकतान्त्रिक प्रणालीमा गलत कदम भएको निष्कर्ष बैठकले निकालेको छ ।