५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

जिब्रो छेडेर महाद्वीप बोकी पार गरे ‘मध्यपुरथिमि–भक्तपुरसम्मको यात्रा’

जिब्रो छेडेर महाद्वीप बोकी पार गरे ‘मध्यपुरथिमि–भक्तपुरसम्मको यात्रा’
अ+ अ-

भक्तपुर । साँझ ढल्किँदै थियो । नेपाल संवत् तिथिबमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमि नगरपालिका–४ र ५ को सिमाना दिगुटोलस्थित दिगु भैरब अगाडि डबलीमा मानिसहरुको भीड बाक्लिँदैै थियो । बेलाबेलामा परेको वर्षाले भीड तितरबितर भए पनि पानी रोकिने बित्तिकै भीड उत्तिकै हुन्थ्यो ।

साँझ ७ बजे बिज्रो छेडेर यस वर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिर पुग्ने रुट तय भएको थियो । बेलाबेलामा परेको पानीले जात्रा सुरु गर्ने कार्यलाई बिथोलिरहे पनि रातलाई छिचोल्दै बत्तीको उज्यालोले भीडलाई तानिरहेको थियो । मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, मध्यपुरवासी, भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो ।

जात्रा आयोजक येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिले साँझ ७ बजे नै जात्रा सुरु गर्ने भनिए पनि राति ८ः३० बजे बल्ल बाँसको चिम्टी बजाउँदै एक हूल मानिसहरु हातको साङ्लो बनाएर दिगु भैरब अगाडिको डबलीमा आइपुगे । जात्रालु सबैको ध्यान त्यतै केन्द्रित भयो ।

एक छिनपछि कर्मी नाय बाबुकाजी नाय श्रेष्ठलाई लिएर एक समूह आइपुग्यो । त्यसको केही क्षणमै अर्को समूहसँग थिमि लाय्कुको नायो पमा ७२ वर्षीय श्यामकाजी पमा श्रेष्ठ परम्परागत पोसाकमा हनुमान ढोका दरबारबाट ल्याएको राज खड्ग लिएर डबलीमा आउनुभयो । दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेपछि ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रालाई जिब्रो छेडेर निरन्तरता दिन मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठलाई परम्परागत पोसाक लगाएर डबलीमा ल्याइयो । यहाँका बासिन्दाले जयजयकार गरे ।

जिब्रो छेड्न तयार भएका वीरेन्द्रभक्तलाई छोएर कर्मी नायले वरिपरि अक्षता फूल छर्किएर देवीदेवता पुकारे । राति ८ः३० बजे दिगु भैरब अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीनवटा चुच्चो भएको १० इन्च लामो फलामको सियोले जिब्रो छेडिदिनुभयो । वरिपरि रहेका सबैलाई दुई हात जोडेर नमस्कार गर्दै ४० किलो तौलको १७ वटा दीप रहेको चन्द्राँकारका महाद्वीप ९भोय० बोकेर खाली खुट्टा मध्यपुरथिमिदेखि भक्तपुरसम्मको यात्रा पूरा गर्न लम्किनु भयो वीरेन्द्रभक्त । छिपिँदो रातको बेवास्ता गर्दै उहाँलाई साथ दिन जयजयकार गर्दै उहाँको पछिपछि लम्किए मध्यपरथिमिका बासिन्दा ।

चौथोपटक जिब्रो छेडेर भक्तपुर पुगेर बिहान ४ फर्किए बालकुमारी 

वीरेन्द्रभक्तले दिगु भैरव मन्दिरअगाडि जिब्रो छेडेर महाद्वीप बोकेर बालकुमारी मन्दिर पुग्नुभयो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर ९क्वाछे० हँुदै पुन शङ्खधर चोक फर्कियो । शङ्खधर चोकबाट मुख्य सडक हुदै राधेराधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्धपोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर पुगेर परिक्रमा गरेपछि क्वाठण्डौ, हँुदै नवदुर्गा मन्दिर (द्यो छें) पुग्यो ।

रात छिपिँदै थियो । आकाशमा चन्द्रग्रहण लागिरहेको थियो तर पनि वीरेन्द्रभक्तको पाइला रोकिएन, आठ किलोमिटरको धार्मिक यात्रा सकेर महाद्वीप बोकेर फेरि अर्को आठ किलोमिटरको यात्रा तय गर्न पाइला लम्कियो । नवदुर्गा मन्दिरमा साक्वः लान हुँदै पुन पाँचतले मन्दिरबाट वंशगोपाल, सिद्धपोखरी, सल्लाघारी चोङ्गा गणेश, मध्यपुरथिमिको निकोसेरा, मध्यपुरथिमि नगरपालिका चोक, पाटी विहार, गुङ चिवा, भीमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्धिगणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, भुलाँखेल, चोडे, दुई पोखरी हुँदै १६ किलोमिटरको यात्रा बिहान ४ बजे बालकुमारी मन्दिर पुग्यो । जिब्रोबाट सियो निकालेर बालकुमारीको माटो घाउमा नाय पःमाले लगाई दिएपछि आज बिहान द्योःलित तवनेगु अर्थात् विसर्जन पूजा गरी सियोलाई मन्दिरभित्र काठमा ठोकेपछि जात्रा विसर्जन भएको वीरेन्द्रभक्त बताउनुहुन्छ ।

लोप भइसकेको जात्राले पायो पुनर्जीवन 

ऐतिहासिक यो जात्रा ३५० वर्षदेखि चल्दै आए पनि विविध कारणले २०२६ सालपछि लोप भएको बताउनुहुन्छ ७२ वर्षीय नाय पःमा श्यामकाजी पःमा श्रेष्ठ । जात्राका बारेमा स्थानीयले धेरै खोजबिन गरी पुराना गुरु र नाय पःमालगायतहरुसँगको छलफलपछि २०५० सालमा स्थानीय चोडे निवासी कृष्ण नानी श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमि परिक्रमा गरेपछि जात्राले पुनर्जीवन पायो भने नयाँ पुस्तामा पनि जात्राप्रतिको मोह जागेर आयो ।

येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले २०५० साल ०५७ र ०६३ गरी तीनपटक कृष्णनानी श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए पनि जात्रा पुनः रोकिएको बताउनुहुन्छ । जात्रा गर्दा पुजा सामग्री, विभिन्न सामान र भोजमा मात्रै लाखौँ खर्च हुन र त्यो रकमको भार पनि जिब्रो छेड्ने व्यक्तिलाई नै पर्ने भएपछि यो जात्रा रोकिँदै आएको उहाँ बताउनुहुन्छ । जात्रा जोगाउन समिति गठन गरेको भन्दै समितिका अध्यक्ष श्रेष्ठ अहिले जात्रा सम्पन्न गर्न करिब आठ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको बताउनुहुन्छ ।

विसं २०७४ मा पुनः स्थानीय युवाको सक्रियतामा जात्रा सञ्चालनका लागि पहिलोपटक समिति नै गठन गरेर वडा नं ४ बालकुमारीका वीरेन्द्रभक्तले जिब्रो छेडेर मध्यपुरथिमिको विभिन्न टोल एवं मन्दिरहरुको परिक्रमा गरी जात्रा सञ्चालन भयो । २०७५ सालमा भने मध्यपुरथिमि–५ चोडेका बालकराम श्रेष्ठले जिब्रो छेडाएर मध्यपुरथिमिको परिक्रमा गर्नभयो । त्यसपछि कोरोना महामारीले तीन वर्ष रोकिएको यो जात्रा २०७९ मा पुनः वीरेन्द्रभक्तले नै जिब्रो छेडेर मध्यपरथिमिको परिक्रमा गर्नुभयो ।

यो जात्रामा २०८० सालमा भने पशुपतिनाथ मन्दिरमै पुग्ने सङ्कल्प गरेर बालकराम नानी श्रेष्ठले दिगुटोलमा जिब्रो छेडेर मध्यपुरथिमिको परिक्रमा गर्दै पेप्सीकोटाबाट गुहेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको परिक्रमा गरी सोही रुटबाट २६ किलोमिटरको यात्रा महाद्वीप बोकेर खाली खुट्टाले नै पूरा गर्नुभयो । २०८१ सालमा पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर सोही रुट हुँदै पशुपतिनाथका परिक्रमा गरेर फर्कनुभयो । यस वर्ष २०८२ मा पनि वीरेन्द्रभक्तले नै जिब्रो छेडेर मध्यपरथिमि हुँदै भक्तपुरसम्मको रातभरिको १६ किलोमिटर यात्रा आज बिहान ४ बजे पूरा गर्नुभएको छ । जात्राले मध्यपुरथिमिको इतिहासलाई जीवन्त राखेको र विश्वमा जात्राबारे प्रचार पुर्‍याउँदै पर्यटन विकासमा टेवा दिन नगरपालिका लागिरहेको मध्यपरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि ३५० जनाले जिब्रो छेडेको दाबी 

जात्राका नाय पःमा श्यामकाजी पःमा श्रेष्ठ यो जात्रामा ३५० जनाले जिब्रो छेडेको दाबी गर्नुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ, “म आठ नौ वर्षको हुँदादेखि नै यो जात्रा देख्दै आएको हुँ । त्यतिखेर राजाले नै जात्रा चलाउथेँ । लायकू दरबारमा जिब्रो छेडिन्थ्यो । हनुमान ढोका दरबारबाट राज खड्ग ल्याएपछि मात्र जिब्रो छेडिन्थ्यो । सबै प्रक्रिया मेरै घरमा हुन्थ्यो । मलाई थाहा छ, एउटै परिवारका पाँच जनाले र अर्को एकजनाले गरि एकै दिन छ जनाले जिब्रो छेडेर परिक्रमा गरेको देखेको छु, त्यतिखेर एकै पटक १७ जनाले जिब्रो छेडेको बुबाले सुनाउनु हुन्थ्यो ।”

विसं २०३६ सम्म सरकारी अमानीबाट जात्रा चलेको सय वर्षअगाडि पनि पशुपति मन्दिरसम्म जात्रा गएको बताउनुभयो । जिब्रो छेडेर पशुपति, चाँगुनारायण मन्दिर र काभ्रेको नमोबुद्धसम्म पुगेको पुर्खाबाट आफूले सुनेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले पनि बालकुमारी मन्दिरमा आएर सियो हेरे हुन्छ, एकै पटक ६ जनाले, १७ जनाले जिब्रो छेडेको सियौ एकै ठाउँमा ठोकिएको छ, गन्दा ३५० भन्दा बढी सियो अहिले पनि देखिन्छ, त्यसैलाई आधार मान्दा पनि जात्रा ३५० वर्ष पुरानो र ३५० जनाले जिब्रो छेडेको पुष्टी हुन्छ ।”

यस्तो छ पौराणिक कथन  

परापूर्वकालमा मध्यपुरथिमिका बासिन्दामा विभिन्न रोग, डर र भयले त्रसित बनाई बस्ती आसपासमा भूत, प्रेत र पिचासले दुःख दिए । एक दिन एक तान्त्रिकले आराध्येदेवी श्री बालकुमारी माईको साधना गरी उहाँको दिव्य उपदेशअनुसार भाद्र शुक्ल पुर्णिमाका दिन एक साहसिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर नगर परिक्रमा गराइयो ।

ती साहसिक व्यक्तिले आफ्नो बस्तीबाट भूत, प्रेत, पिचास भगाउन र बस्ती नजिकका अर्को बस्तीहरु चाँगुनारायण, गुह्वेश्वरी, पशुपतिसम्म रहेका भूत, प्रेतले पनि दुःख नदिऊन् भनेर जिब्रो छेडेर थिमिबाट चाँगुनारायण, पशुपतिसम्मका बस्तीहरुमा महाद्वीप बोकेर घुमेर यहाँका बासिन्दालाई भयरहित बनाउन, बस्तीमा सुरक्षा एवं सहकाल भित्र्याउन जिब्रो छड्ने गरेको पौराणिक कथन रहेको छ ।

जात्राका लागि एक महिनाअगाडि नै नातु (सुइरो) बनाउन पूजा लिएर नकर्मीको घरमा खबर गर्ने परम्परा छ । नकर्मीले तीन तिर भएको नातु बनाई एक महिना शुद्ध तोरीको तेलमा डुबाएर राख्ने परम्परा छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने, त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाउने परम्परा छ । जिब्रो छेड्ने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने, आकाशदीप बोक्ने मानन्धरहरु नै हुनुपर्ने प्रचलन छ । जात्राका लागि गुरु कवीन्द्र जामन श्रेष्ठ, बाबुकाजी कःमी श्रेष्ठ, रामभक्त नकर्मीको संलग्नता रहेको छभने राजखड्ग लिन जाँदा खड्गीहरुले नाखि बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेको छ ।

जात्रामा सरकारको सहयोग 

यस जात्राका लागि मध्यपुरथिमि नगरपालिकाले विगत वर्षजस्तै यसवर्ष पनि रु तीन लाख सहयोग गरेको छ । यस वर्ष वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले जात्रालाई रु दुई लाख र वैशाख २ गते बोडेको जिब्रो छेड्ने जात्रालाई रु दुई लाख हरेक वर्ष नियमति आउने गरी बजेटको व्यवस्थापन गरेको मन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिका र प्रदेश सरकारबाट आएको रकमबाट अपुग रकम भने स्थानीयवासी, समितिका पदाधिकारी एवं सदस्यहरुबाट स्वेच्छाले सङ्कलन गर्ने समितिको निर्णय भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । रासस