२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको माइतीघरमा भेला भए जेनजी, भ्रष्टाचारविरुद्ध प्रदर्शन



फाइल फोटो
अ+ अ-

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा अर्थात् जेन जीहरुले प्रदर्शन सुरु गरेका छन् ।

काठमाडौंको माइतीघरमा स्वत:स्फूर्तरुपमा भेला भएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

कतिपय युवा कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् ।

सत्तामा रहेर मनपरी गर्नेहरुविरुद्ध जेनजी पुस्ता सडक आन्दोलनमा उत्रिएको हो ।

‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्दै जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डल र संसद् भवन बानेश्वर अगाडि आन्दोलन छेड्ने घोषणा गरेको थियो ।

विगत केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।

यसको नेतृत्व कसले गर्छ भन्ने यकीन छैन । तर उद्देश्य सत्ताको मनोमानीविरुद्ध छ । लामो समयदेखि उकुशमुकुस प्रस्फुटन हुने देखिएको छ । । यसलाई नयाँ पुस्ताले जेनजी विद्रोह भनेको छ ।

फेसबुकलगायतका केही सामाजिक सञ्जाल बन्द भए पनि बाँकी रहेका टिकटक जस्ता सामाजिक सञ्लालमा अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ ।

सामाजिक सञ्जालमा जुन गतिमा यो ट्रेन्ड फैलिएको छ, यो कति लामो समय जान्छ भन्ने यकीन छैन । तर सामाजिक सञ्जालमा चाहिँ यो निकै लोकप्रिय बनेको छ । सामाजिक सञ्जाल बन्द भएको अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई सकारात्मक रुपमा हेर्नुपर्ने टिप्पणी अत्यधिक आइरहेका छन् । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् ।

यो आन्दोलन के हुन्छ भन्ने कुराले नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तरलाई मापन गर्नेछ । यदि युवाहरू साच्चै ठूलो संख्यामा सडकमा उत्रिए भने यसले केवल सरकारलाई मात्र होइन, पूरै राजनीतिक संस्कृतिलाई चुनौती दिनसक्छ ।

यी सबै परिदृश्य हेरिरहँदा नेपाल फेरि युवाले उठाएको नयाँ आन्दोलनको तयारीमा रहेको बुझाइ पनि कतिपयको छ । सामाजिक सञ्जालमार्फत सुरु भएको आवाजले आज काठमाडौंको माइतीघर, पोखराको सभागृह हलदेखि देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएका छन् । यसमा अधिकांशको समर्थन देखिन्छ ।

यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटक भित्र देखिएको ट्रेन्डसँग जोडिएको छ । फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो ट्रेन्ड नेपालमा समेत फैलिएको हो । यसमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआरामको जीवनशैली– महँगा ब्रान्डका कपडा, विदेश यात्रा र विलासी सामानलाई साधारण नेपाली युवाको आर्थिक संघर्षसँग तुलना गरिएको छ ।

यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइदिएपछि युवाहरू अझै आक्रोशित भएका हुन् । यसलाई ‘नेपो बेबी’ ट्रेण्ड नाम दिइएको छ, जसमा विभिन्न धुन र भावनात्मक रुपमा उत्तेजित गराउने संगीत राख्दै नेताका छोराछोरीको विलाशितालाई देखाइएको छ । उनीहरुको विलाशितासँगै जनताका छोराछोरीको अवस्थालाई पनि देखाइन्छ ।