एजेन्सी । दुनियामा यस्ता धेरै कानुन र नियमहरू छन्, जसबारे निकै कम मानिसलाई मात्र जानकारी हुन्छ । तर, यस्ता विषयमा सबैलाई जान्न आवश्यक हुन्छ । आज हामी त्यस्तै एउटा रोचक कानुनबारे जानकारी दिँदैछौं ।
के तपाईंलाई थाहा छ ? यदि अन्तर्राष्ट्रिय उडानमा यात्रा गरिरहेका बेला आकाशमै कुनै महिलाले शिशुलाई जन्म दिइन् भने, त्यो शिशुको जन्मस्थान र नागरिकता कुन देशको हुनेछ ?
सामान्यतया सात महिनाभन्दा बढीको गर्भवती महिलालाई हवाई यात्रामा प्रतिबन्ध हुन्छ, तर विशेष परिस्थितिमा यात्रा गर्न अनुमति दिइन्छ । त्यही क्रममा यदि नेपालबाट बेलायत जाँदै गरेको विमानमै कुनै महिलाले शिशुलाई जन्म दिइन् भने, त्यस शिशुको नागरिकता र जन्मस्थान कसरी निर्धारण हुन्छ ?
यसरी हुने अवस्थामा शिशु जन्मिएको समय विमान कुन देशको सीमा भित्र थियो भन्ने आधारमा हेर्ने गरिन्छ । साथै विमान जहाँ अवतरण गर्छ, त्यही देशको विमानस्थल प्राधिकरणबाट जन्म प्रमाणपत्रसम्बन्धी कागजात लिन सकिन्छ । यस्तै, शिशुले आफ्ना बाबुआमाको राष्ट्रियता पाउने अधिकार पनि हुन्छ ।
यस्तै घटना अमेरिकामा
यसअघि पनि यस्तै एउटा घटना अमेरिकामा भएको थियो । नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डमबाट अमेरिका जाँदै गरेको विमानमा एक महिलाले बच्चीलाई जन्म दिएकी थिइन् । त्यतिबेला विमान अटलान्टिक महासागरमाथि उडिरहेको थियो । विमान अमेरिकामा अवतरण गरेपछि आमा र बच्चीलाई अस्पताल भर्ना गरिएको थियो ।
महिलाले अमेरिकाको सीमाभित्र बच्चीलाई जन्म दिएको कारण बच्चीलाई नेदरल्यान्ड्स र अमेरिका दुबै देशको नागरिकता प्राप्त भयो ।
तर, विमानमै जन्मिएका शिशुको नागरिकता सम्बन्धी नियम देशअनुसार फरक–फरक हुन सक्छन् ।










