काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकमा भोलिदेखि हुने विधान महाधिवेशनका विषयमा छलफल हुने छ ।
बैठकमा भोलिदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।
यसैगरी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि पनि छलफल हुने छ ।
विधान महाधिवेशन नजिकिँदै गर्दा दुई ध्रुवमा विभाजित नेताहरूले फरक–फरक रणनीति बनाइरहेका छन् । महाधिवेशनमा मुख्य तीन वटा प्रतिवेदन पेस हुने भए पनि विधान संशोधनमा एमालेमा विवाद छ । उपाध्यक्ष विष्णु पौडेलले पेस गर्ने विधान संशोधन प्रस्तावमा फरक मत लैजाने तयारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट समूहले गरेको छ । यसको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्दै हुनुहुन्छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्षहरु सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले फरक प्रस्ताव पेश गर्न लाग्नुभएको हो । उहाँहरुले आफ्नो प्रतिवेदनसमेत तयार बनाइसक्नुभएको छ । त्यो प्रतिवेदन आज बस्ने सचिवालय बैठकमै राखेर वैधानिक रुपमै महाधिवेशनसम्म पुर्याउने तयारी छ ।
नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्नुहुने छ ।
उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्ताव सबैभन्दा पेचिलो बनेको छ । प्रतिवेदनमा दुई किसिमका सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेर हद नरहने, जिल्ला कमिटीलाई कार्यकारीरूपमा कायम गर्ने, २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्यूरो र कम्तिमा एक महिलासहित १५ जना केन्द्रीय पदाधिकारी रहने लगायतका प्रस्ताव छ ।
यी प्रस्तावमा पार्टी भित्र स्पष्टरूपमा फरक मत देखिइसकेको छ । ७० वर्षे उमेर हद नरहने प्रस्ताव भने सबैभन्दा बढी जटिल बनेको छ । पार्टीमा विधान बमोजिम अध्यक्षलगायतका पदाधिकारी चल्नु पर्नेमा व्यक्ति हेरेर विधान चलाउन खोजिएको आरोप छ ।
विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका रूपमा थप गरिएका ३ सय १५ जना गरी २३ सय ४१ जना सहभागी हुने टुंगो लागेको छ ।










