काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गर्नुभयो । उहाँले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरुसँगको कुटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पिधुरा नेपालकै भएको स्पष्ट समेत पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र सचिवद्वारा जारी प्रेस नोटअनुसार चीनमा हाम्रा प्रधानमन्त्रीजीले चिनियाँ राष्ट्रपतिसँग नेपालको कुनै, संलग्नता, जानकारी र सहमतिबिना नेपालको भूमि लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच ३ भद्र २०८२ मा भएको सहमतिका प्रति स्पष्टतः नेपालको आपत्ति रहेको जनाउनु भएको छ । साथै महाकाली नदिको मुहान लिम्पियाधुरामा रहेको र सुगौली सन्धिका अनुसार महाकालीमाथिका सबै भूभाग सार्वभौम मुलुक नेपालको नै रहेको स्पष्ट छ भन्दै आफ्नो अडान समेत राख्नुभएको छ । यस प्रसंशनीय कार्यका लागि म सबैलाई हार्दिक धन्यावाद पनि दिन चाहान्छु । आफ्नो देशको सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सन्दर्भमा सिंगो संसद सम्पूर्ण राजनीतिक दलहरु, सिंगो नागरिक समाज, नेपाली प्रेस जगत र नेपाली जनता विगतमाझैँ एक ढिक्का छन् र एकसाथ उभिएका छौं हामी भन्नेमा पनि म विश्वस्थ छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका राष्ट्रपति सी जीनपिङसँग भएको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्टरुपमा आपत्ति रहेको विषय उठाउनुभएको थियो ।










