२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराछोरीको घरभाडा तिरिदिँदै एसओएस वालग्राम



अ+ अ-

बलराम प्यासी
काठमाडौं। त्यसो त घर छोडेर भिन्नै बसेका छोराछोरीलाई त जन्म दिने बाबुआमाले खासै चासो नदिने वर्तमान समाजमा एसओएस वालग्राम नेपालले भने समाजमा भर्खरै पुर्नस्थापित भएका आफ्ना छोराछोरीप्रति आफ्नो कर्तव्य पालना गरिरहेको छ । शिशु अवस्थादेखि हुर्काई बढाई गरि पढाएर रोजगारी भएपछि समाजमा भर्खरै पुर्नस्थापित भएका आफ्ना छोराछोरीले दुःख पाएको ‘वालवालिकाको लागि मायालु घरको रुपमा परिचित विश्वव्यापी संस्था एसओएस वालग्रामले कसरी टुलुटुलु हेर्न सक्छ र ? विश्वव्यापी महामारी ‘कोभिड—१९’ का कारण बन्दाबन्दी (लकडाउन) भएपछि देशभरका उद्योग, कलकारखाना, विमानस्थल, होटललगायतमा आर्थिक समस्याग्रस्त भएका कारण त्यहाँबाट रोजगारी गुमाउन पुगेका आफ्ना छोराछोरीप्रति एसओएस वालग्राम नेपाल संवेदनशिल देखिएको हो ।

लकडाउनका कारण रोजगारी गुमाएर समस्यामा परेका आफ्ना छोराछोरीको घरभाडा तिर्नदेखि उनीहरुको तत्कालका घरायसी समस्या समाधान गर्न एसओएस वालग्राम नेपालले समाजमा पुर्नस्थापित १ सय ५ जना आफ्ना छोराछोरीका लागि नगद सहयोग गरि उदाहरणीय र अनुकरणीय काम गरेको छ । वालग्रामको आपत्कालीन कोषबाट तत्कालका लागि प्रति छोरा/छोरी १० हजारको दरमा कूल १० लाख ५० हजार आर्थिक सहयोग गरिएको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताए । ‘रोजगारी गुमाएर आर्थिक समस्यामा परेका हाम्रा त्यस्ता छोराछोरीलाई रोजगारीको अर्काे व्यवस्था मिलाउन र रोजगारी नहुन्जेलसम्मका लागि थोरै नै भएपनि नियमितरुपमा सहयोग गर्न हामी प्रयासरत छौं’-राष्ट्रिय निर्देशक शर्माले भने-‘यसका लागि एसओएस वालग्राम अन्तर्राष्ट्रियदेखि एसओएस वालग्राम नेपाललाई नियमित सहयोग गर्दै आएका नेपाली दाताहरुसंग अनुरोध गरिरहेका छौं ।’ वालग्रामलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने एकहजार ८० जना स्थानीय दाता छन् ।

नेपालभरी रहेका एसओएस वालग्राममा हुर्केका छोराछोरी पढाई सकेर रोजगार भईसकेपछि ‘समाजमा पुर्नस्थापित’ हुने वालग्रामको नियम रहेको छ । यो भनेको वाहिरी समाजमा आफुलाई जन्मदिने बाबुआमाबाट छोरछोरी भिन्नै बसे सरह हो । नेपालमा एसओएस वालग्रामको स्थापनाको ५० वर्षको अवधिमा वालग्राममा हुर्की, पढी रोजगारी भएपछि हालसम्म करीव २ हजार पाँचसय जना छोराछोरीहरु समाजमा पुर्नस्थापित भईसकेका छन । करीव ८ सय जना छोराछोरी वालग्रामको युवालय (छात्रावास) मा बसेर उच्च शिक्षा अध्ययनरत छन् । करीव १ हजार २०० छोराछोरी मुलुकका १० वटा वालग्रामको पारिवारिक घरमा बसिरहेका छन् । समाजमा पुर्नस्थापित भईसकेका २ हजार पाँचसय छोराछोरीमध्ये अधिकाँशको आर्थिक अवस्था भने राम्रो छ ।

यसको साथै वालग्रामले नेपालभरी रहेका १० वटा एसओएस वालग्रामबाट परिवार सुदृढीकरण कार्यक्रम (एफ.एस.पि) का लाभग्राही विपन्न र अति जोखिममा रहेका ४ सय ८५ परिवारका लागि एक महिनाको लागि पुग्ने खाद्यान्न पनि सहयोग गरेको राष्ट्रिय निर्देशक शर्माले बताए । परिवारमा साना केटाकेटी भएका, विरामी र अपाङ्गता भएका र लकडाउनका कारण दैनिक रोजीरोटी र सानोतिनो व्यापार समेत गुमाउन पुगेका त्यस्ता ४ सय ८५ विपन्न परिवारको लागि चामल, पिठो, तेल, दाल, नुन लगायतका खाद्यान्न वितरण गरेको हो । नेपालमा रहेका १० वटा एसओएस वालग्राम सानोठिमी, काभ्रे, जोरपाटी, इटहरि, पोखरा र कास्की, चितवन, रुपन्देही, सुर्खेत र धनगढीले ती वालग्रामबाट परिवार सुदृढीकरण कार्यक्रममार्फत लाभ लिइरहेका त्यस्ता विपन्न परिवारलाई वालग्राममै बोलाएर या उनीहरुकै घरघरमा गएर खाद्यान्न वितरण गरिरहेको छ ।   परिवार सुदृढीकरण कार्यक्रममार्फत त्यस्ता परिवारले वालग्राम मार्फत स्वास्थ्य, शिक्षा, विभिन्न रोजगारमूलक तालीम र सानोतिनो आर्थिक सहयोग समेत पाउँदै आएका छन् ।