३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवीय सुरक्षाका निम्ति जीएसआई



अ+ अ-

चीनको विश्वव्यापी सुरक्षा पहल (जीएसआई) पहिलो पटक सन् २०२२ अप्रिलमा पोआओ एसिया मञ्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेका हुन् । यो २०२१ र २०२३ बीच घोषणा गरिएका तीन प्रमुख पहलहरू मध्ये एक हो । अन्य दुई पहलहरूमा विश्वव्यापी विकास पहल अर्थात् ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र विश्वव्यापी सभ्यता पहल अर्थात् ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) हुन् ।

जीएसआईले २०२० मा घोषणा गरिएको ग्लोबल डेटा सेक्युरिटी इनिसिएटिभ (जीडीएसआई) को उद्देश्यलाई पनि समेटेको छ । यी पहलहरू सँगै सुधारिएको विश्व व्यवस्थाका लागि चीनको प्रस्तावको अंश बनेको छ । त्यसपछि मानव जातिको साझा भाग्य समुदायका लागि यसको दृष्टिकोणमा समावेश गरिएको छ ।

यसले विद्यमान विश्व व्यवस्थाका लागि चीनको प्रस्तावित विकल्पलाई प्रतिनिधित्व गर्दछ । विश्वव्यापी चुनौतीहरू समाधान गर्न असफल भएको र विश्व शान्ति खतरामा परिरहेका बेला चीनले सुरक्षा चुनौतीलाई समाधान गर्न अगाडि सारेको महत्त्वपूर्ण विकल्प हो र यो संयुक्त राज्य अमेरिकाको प्रभुत्ववाद र एक पक्षीयवादको आलोचनाका साथ अगाडि बढेको छ ।

जीएसआई अवधारणापत्रले विश्वव्यापी सुरक्षा प्रत्याभूति प्राप्त गर्न सहयोग गर्दै सुरक्षा र कूटनीतिक गतिविधिहरूलाई प्रवद्र्धन गर्दछ । यसले विश्वव्यापी सुरक्षा दृष्टिकोण र सुरक्षा संयन्त्रहरूको सुधार प्रक्रिया भित्र एक प्रमुख विश्व शक्तिका रूपमा चीनको स्थितिलाई उभ्याउँछ । जीएसआईले संयुक्त राष्ट्र संघ र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ आसियान सहित बहु पक्षीय संस्थाहरूको भूमिकालाई पुन:पुष्टि गर्दछ । चिनियाँ सुरक्षा मापदण्डहरू र सञ्चालन अभ्यासहरूलाई अपनाउन प्रवद्र्धन गर्दछ । यी मापदण्डहरूले जीएसआईको स्थापनामा चिनियाँ पहलहरू र संवाद प्लेटफर्महरूलाई चीन अफ्रिका शान्ति र सुरक्षा फोरम, ल्यानकाङ मेकोङ सहयोग ढाँचा र ब्रिक्स प्लस जस्ता विश्वव्यापी सुरक्षा मुद्दाहरू छलफल गर्न केन्द्रीय स्थानमा राख्ने गर्दछ ।

यी सुरक्षा सम्बन्धहरूले चीनलाई विदेशमा रणनीतिक रूपमा महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गर्न आफ्ना नागरिकहरू र व्यवसायहरूलाई प्रत्यक्ष रूपमा सुरक्षित गर्न सहयोग प्रदान गर्दछ । जीएसआईले चीनलाई फरक तरिकाले विश्वव्यापी सुरक्षा अभिनेताका रूपमा प्रस्तुत गर्न खोज्छ । जीएसआई अवधारणापत्रले ‘प्रतिआतङ्कवाद, साइबर सुरक्षा, जैविक सुरक्षा, उदीयमान प्रविधिहरू’ र अन्तर्राष्ट्रिय प्रहरी जस्ता क्षेत्रहरूमा बृहत्तर सुरक्षा सहयोगको वकालत गर्दछ ।

जीएसआईले विश्वव्यापी सुरक्षा सामानहरूको आपूर्तिमा चीनको योगदानका रूपमा चिनियाँ अन्तर्राष्ट्रिय सुरक्षा गतिविधिको विस्तारलाई सक्रिय रूपमा प्रवद्र्धन गर्दछ । चीनले तालिम वा संयुक्त गस्ती प्रदान गरेर वा प्रविधि र उपकरणहरू निर्यात वा सहयोग प्रदान गरेर प्रहरी साझेदारीको प्रवद्र्धन गर्दछ । त्यस्ता सम्झौता र गतिविधिले विश्वव्यापी र जिम्मेवार सुरक्षा अभिनेताका रूपमा चीनको छवि प्रवद्र्धन हुनेछ ।

जीएसआई साझेदार देशले आफ्नो राष्ट्रिय सुरक्षा सुधार गर्न प्रविधि, उपकरण, तालिम र सहयोगका लागि चीनको यस प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन् । विकासशील र उदीयमान अर्थतन्त्रहरूले चिनियाँ प्रविधि र प्रणालीहरू आयात गरी तिनीहरूको उच्च गुणस्तर, कम लागत र वित्तपोषणका फाइदा लिइरहेका छन् ।

जीएसआईका प्राथमिकता

‘विश्वव्यापी सुरक्षा पहल’ अर्थात् जीएसआई अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाका लागि चीनले अगाडि सारेको एउटा दृष्टिकोण हो । यो प्रस्ताव आएको तीन वर्ष पूरा भएको छ । जीएसआईको उदीयमान तस्वीरले चीनलाई बहु पक्षीय संलग्नता र विश्वव्यापी हितका रूपमा व्यापक सुरक्षाको प्रावधानका लागि प्रतिबद्ध अग्रणी जिम्मेवार शक्तिका रूपमा प्रस्तुत गर्दछ ।

सन् २०२२ मा पोआओ एसयाली मञ्चमा पहिलोपटक चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेपछि सन् २०२३ मा ‘अवधारणा पत्र’ मा सार्वजनिक भएको हो । यसले साझा ‘व्यापक’ सुरक्षाका छ ‘मुख्य’ सिद्धान्तहरू प्रस्तुत गरेको थियो । राष्ट्रिय सार्वभौमिकतालाई संयुक्त राष्ट्र संघको बडापत्रको पालनामा यसले सशक्त रूपमा महत्त्व र जोड दिइएको छ । ‘सबै देशहरूको वैध सुरक्षा चासो’ लाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने कुरा नै यसको मूल मर्म हो । साथै संवाद मार्फत विवाद समाधान गर्नुपर्छ भन्ने यसको दोस्रो महत्त्वपूर्ण पक्ष हो । यसले स्वास्थ्य, वातावरण र एआई सहित परम्परागत र गैर परम्परागत क्षेत्रहरूमा सुरक्षाप्रति प्रतिबद्धता पनि प्रस्तुत गरेको छ ।

जीएसआईलाई चीनको नेतृत्वमा तर बहु पक्षीयका रूपमा प्रस्तुत गरिएको छ, जसले संयुक्त राष्ट्र संघ र जी २० सँग चीनको संलग्नता प्रदर्शन गर्दछ । विकासशील विश्वका सबै क्षेत्रहरूसँगको सहकार्यलाई चीनको बहु पक्षीय संलग्नता मार्फत जोड दिइएको छ । यसले आसियान र अफ्रिकी संघ जस्ता क्षेत्रीय संस्थाहरूसँगको संवाद र सहयोगमा ध्यान केन्द्रित गरेको छ । यही पहल अन्तर्गत चीनले बेनिनमा स्वास्थ्य प्रावधानदेखि श्रीलंकामा पानी सहयोग र जिम्बाब्वेमा नागरिक उड्डयनसम्म द्विपक्षीय सहयोगका शृङ्खला पनि प्रस्तुत गरेको छ ।

चीनले मध्यस्थता र द्वन्द्व समाधानमा वास्तविक प्रयासहरू सहित वार्ताका लागि आफूले गर्दै आएको प्रयासलाई नै जीएसआईले समर्थन गरेको छ । यद्यपि जीएसआईलाई अमेरिकाले आफ्नो नेतृत्वको सुरक्षा व्यवस्थाका लागि चुनौती ठान्दै आएको छ । चीनले आफ्नो सैन्य गठबन्धनमा आधारित प्रभुत्वलाई भत्काइदेला भन्ने डर अमेरिकाले पालेकोे छ ।

अमेरिकामा दोस्रोपटक राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पको प्रशासनले सिर्जना गरेको अनिश्चितताहरूका बीचमा चीनले बहु पक्षीयप्रति प्रतिबद्ध जिम्मेवार विश्वव्यापी शक्तिका रूपमा आफूलाई प्रस्तुत गरेपछि धेरै देशले चीनको समर्थन गरेका हुन् ।

विशेष गरी ग्लोबल साउथका देशहरूले जीएसआईलाई निकै ठूलो आड र भरोसा मानेका छन् । विकासशील राष्ट्रहरूलाई स्वास्थ्य र पूर्वाधार प्रावधानका साथै प्रहरी तालिम मार्फत सहयोग गर्दै चीनले घरेलु र मानव सुरक्षामा सहयोगका लागि इच्छा देखाएको छ । जीएसआई धेरै देशहरूका लागि स्वागतयोग्य प्रस्ताव भएको छ । जसरी चीनका बीआरआई परियोजनाहरूले स्वागत पाएका छन्, त्यसैगरी जीएसआईले पनि न्यानो स्वागत पाएको छ ।

जीएसआईले चीनको घरेलु राजनीतिमा एक मुख्य अवधारणासँग धेरै नजिकको समानता बोकेको छ । यसले व्यापक राष्ट्रिय सुरक्षासँगसँगै राष्ट्रिय गतिविधिका लगभग सबै पक्षहरूलाई सुरक्षाका मामिला मान्ने गर्छ, जसमा स्रोत पहुँच, स्वास्थ्य, अर्थतन्त्र र चीनको विदेश हितहरू समावेश छन् ।

जीएसआईले चीनलाई आफ्नो राजनीतिक प्रणाली निर्यात गर्ने संयन्त्रका रूपमा कदापि काम गर्दैन । यसले जीएसआई सम्बन्धित पहलहरूले विदेशमा सुरक्षाका बारेमा चीनको बुझाइ फैलाउनेछ भन्ने सुझाव दिन्छ । विशेष गरी जहाँ यसले चिनियाँ लगानी र विकास परियोजनाहरूको सुरक्षा गर्न आतिथ्य देशहरूको क्षमतालाई बलियो बनाउँछ ।

जब परम्परागत सुरक्षा चिन्ताको कुरा आउँछ तब चिनियाँ दृष्टिकोणमा संयुक्त राष्ट्र संघको केन्द्रीय भूमिकालाई ‘संवाद र परामर्श’ मार्फत द्वन्द्व मध्यस्थतामा जोड दिने कुराले महत्त्व राख्छ । उदाहरणका लागि रुस युक्रेन युद्धमा शान्ति वार्ताका लागि चीनले आह्वान गरेको छ । राजनीतिक वार्ताले मात्र दीर्घकालीन शान्ति स्थापना गर्न सकिन्छ; हतियार युद्ध र द्वन्द्वबाट कहिल्यै पनि शान्ति स्थापना हुन सक्दैन भन्ने चिनियाँ अडान स्थिर र अडिग रहेको छ ।

मध्यस्थता र द्वन्द्व समाधानमा वास्तविक प्रयासहरूका साथ चीनले वार्ताका लागि आफ्नो समर्थनलाई सधैँ वकालत गर्ने गरेको छ । यसले जीएसआईको सार्वभौमिकताका सिद्धान्तहरू र देशहरूको ‘वैध सुरक्षा हित’ बीच सामन्जस्य गराउँछ ।

गैर परम्परागत र घरेलु सुरक्षाका क्षेत्रमा जीएसआई धेरै विकासशील देशहरूका लागि आकर्षक साबित भएको छ । यो अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्छ । मानव सुरक्षामा जीएसआई वास्तविक रूपमा सबल छ । भविष्यमा द्वन्द्व मध्यस्थताका सन्दर्भमा पनि यो निकै प्रभावकारी हुनेछ ।

(मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित चेतनाथ आचार्यको ‘चिनियाँ दृष्टिकोण’ पुस्तकको अंश । यो पुस्तक यही मंसिर ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक हुँदैछ ।)