१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवीय सुरक्षाका निम्ति जीएसआई



अ+ अ-

चीनको विश्वव्यापी सुरक्षा पहल (जीएसआई) पहिलो पटक सन् २०२२ अप्रिलमा पोआओ एसिया मञ्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेका हुन् । यो २०२१ र २०२३ बीच घोषणा गरिएका तीन प्रमुख पहलहरू मध्ये एक हो । अन्य दुई पहलहरूमा विश्वव्यापी विकास पहल अर्थात् ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र विश्वव्यापी सभ्यता पहल अर्थात् ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) हुन् ।

जीएसआईले २०२० मा घोषणा गरिएको ग्लोबल डेटा सेक्युरिटी इनिसिएटिभ (जीडीएसआई) को उद्देश्यलाई पनि समेटेको छ । यी पहलहरू सँगै सुधारिएको विश्व व्यवस्थाका लागि चीनको प्रस्तावको अंश बनेको छ । त्यसपछि मानव जातिको साझा भाग्य समुदायका लागि यसको दृष्टिकोणमा समावेश गरिएको छ ।

यसले विद्यमान विश्व व्यवस्थाका लागि चीनको प्रस्तावित विकल्पलाई प्रतिनिधित्व गर्दछ । विश्वव्यापी चुनौतीहरू समाधान गर्न असफल भएको र विश्व शान्ति खतरामा परिरहेका बेला चीनले सुरक्षा चुनौतीलाई समाधान गर्न अगाडि सारेको महत्त्वपूर्ण विकल्प हो र यो संयुक्त राज्य अमेरिकाको प्रभुत्ववाद र एक पक्षीयवादको आलोचनाका साथ अगाडि बढेको छ ।

जीएसआई अवधारणापत्रले विश्वव्यापी सुरक्षा प्रत्याभूति प्राप्त गर्न सहयोग गर्दै सुरक्षा र कूटनीतिक गतिविधिहरूलाई प्रवद्र्धन गर्दछ । यसले विश्वव्यापी सुरक्षा दृष्टिकोण र सुरक्षा संयन्त्रहरूको सुधार प्रक्रिया भित्र एक प्रमुख विश्व शक्तिका रूपमा चीनको स्थितिलाई उभ्याउँछ । जीएसआईले संयुक्त राष्ट्र संघ र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ आसियान सहित बहु पक्षीय संस्थाहरूको भूमिकालाई पुन:पुष्टि गर्दछ । चिनियाँ सुरक्षा मापदण्डहरू र सञ्चालन अभ्यासहरूलाई अपनाउन प्रवद्र्धन गर्दछ । यी मापदण्डहरूले जीएसआईको स्थापनामा चिनियाँ पहलहरू र संवाद प्लेटफर्महरूलाई चीन अफ्रिका शान्ति र सुरक्षा फोरम, ल्यानकाङ मेकोङ सहयोग ढाँचा र ब्रिक्स प्लस जस्ता विश्वव्यापी सुरक्षा मुद्दाहरू छलफल गर्न केन्द्रीय स्थानमा राख्ने गर्दछ ।

यी सुरक्षा सम्बन्धहरूले चीनलाई विदेशमा रणनीतिक रूपमा महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गर्न आफ्ना नागरिकहरू र व्यवसायहरूलाई प्रत्यक्ष रूपमा सुरक्षित गर्न सहयोग प्रदान गर्दछ । जीएसआईले चीनलाई फरक तरिकाले विश्वव्यापी सुरक्षा अभिनेताका रूपमा प्रस्तुत गर्न खोज्छ । जीएसआई अवधारणापत्रले ‘प्रतिआतङ्कवाद, साइबर सुरक्षा, जैविक सुरक्षा, उदीयमान प्रविधिहरू’ र अन्तर्राष्ट्रिय प्रहरी जस्ता क्षेत्रहरूमा बृहत्तर सुरक्षा सहयोगको वकालत गर्दछ ।

जीएसआईले विश्वव्यापी सुरक्षा सामानहरूको आपूर्तिमा चीनको योगदानका रूपमा चिनियाँ अन्तर्राष्ट्रिय सुरक्षा गतिविधिको विस्तारलाई सक्रिय रूपमा प्रवद्र्धन गर्दछ । चीनले तालिम वा संयुक्त गस्ती प्रदान गरेर वा प्रविधि र उपकरणहरू निर्यात वा सहयोग प्रदान गरेर प्रहरी साझेदारीको प्रवद्र्धन गर्दछ । त्यस्ता सम्झौता र गतिविधिले विश्वव्यापी र जिम्मेवार सुरक्षा अभिनेताका रूपमा चीनको छवि प्रवद्र्धन हुनेछ ।

जीएसआई साझेदार देशले आफ्नो राष्ट्रिय सुरक्षा सुधार गर्न प्रविधि, उपकरण, तालिम र सहयोगका लागि चीनको यस प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन् । विकासशील र उदीयमान अर्थतन्त्रहरूले चिनियाँ प्रविधि र प्रणालीहरू आयात गरी तिनीहरूको उच्च गुणस्तर, कम लागत र वित्तपोषणका फाइदा लिइरहेका छन् ।

जीएसआईका प्राथमिकता

‘विश्वव्यापी सुरक्षा पहल’ अर्थात् जीएसआई अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाका लागि चीनले अगाडि सारेको एउटा दृष्टिकोण हो । यो प्रस्ताव आएको तीन वर्ष पूरा भएको छ । जीएसआईको उदीयमान तस्वीरले चीनलाई बहु पक्षीय संलग्नता र विश्वव्यापी हितका रूपमा व्यापक सुरक्षाको प्रावधानका लागि प्रतिबद्ध अग्रणी जिम्मेवार शक्तिका रूपमा प्रस्तुत गर्दछ ।

सन् २०२२ मा पोआओ एसयाली मञ्चमा पहिलोपटक चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेपछि सन् २०२३ मा ‘अवधारणा पत्र’ मा सार्वजनिक भएको हो । यसले साझा ‘व्यापक’ सुरक्षाका छ ‘मुख्य’ सिद्धान्तहरू प्रस्तुत गरेको थियो । राष्ट्रिय सार्वभौमिकतालाई संयुक्त राष्ट्र संघको बडापत्रको पालनामा यसले सशक्त रूपमा महत्त्व र जोड दिइएको छ । ‘सबै देशहरूको वैध सुरक्षा चासो’ लाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने कुरा नै यसको मूल मर्म हो । साथै संवाद मार्फत विवाद समाधान गर्नुपर्छ भन्ने यसको दोस्रो महत्त्वपूर्ण पक्ष हो । यसले स्वास्थ्य, वातावरण र एआई सहित परम्परागत र गैर परम्परागत क्षेत्रहरूमा सुरक्षाप्रति प्रतिबद्धता पनि प्रस्तुत गरेको छ ।

जीएसआईलाई चीनको नेतृत्वमा तर बहु पक्षीयका रूपमा प्रस्तुत गरिएको छ, जसले संयुक्त राष्ट्र संघ र जी २० सँग चीनको संलग्नता प्रदर्शन गर्दछ । विकासशील विश्वका सबै क्षेत्रहरूसँगको सहकार्यलाई चीनको बहु पक्षीय संलग्नता मार्फत जोड दिइएको छ । यसले आसियान र अफ्रिकी संघ जस्ता क्षेत्रीय संस्थाहरूसँगको संवाद र सहयोगमा ध्यान केन्द्रित गरेको छ । यही पहल अन्तर्गत चीनले बेनिनमा स्वास्थ्य प्रावधानदेखि श्रीलंकामा पानी सहयोग र जिम्बाब्वेमा नागरिक उड्डयनसम्म द्विपक्षीय सहयोगका शृङ्खला पनि प्रस्तुत गरेको छ ।

चीनले मध्यस्थता र द्वन्द्व समाधानमा वास्तविक प्रयासहरू सहित वार्ताका लागि आफूले गर्दै आएको प्रयासलाई नै जीएसआईले समर्थन गरेको छ । यद्यपि जीएसआईलाई अमेरिकाले आफ्नो नेतृत्वको सुरक्षा व्यवस्थाका लागि चुनौती ठान्दै आएको छ । चीनले आफ्नो सैन्य गठबन्धनमा आधारित प्रभुत्वलाई भत्काइदेला भन्ने डर अमेरिकाले पालेकोे छ ।

अमेरिकामा दोस्रोपटक राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पको प्रशासनले सिर्जना गरेको अनिश्चितताहरूका बीचमा चीनले बहु पक्षीयप्रति प्रतिबद्ध जिम्मेवार विश्वव्यापी शक्तिका रूपमा आफूलाई प्रस्तुत गरेपछि धेरै देशले चीनको समर्थन गरेका हुन् ।

विशेष गरी ग्लोबल साउथका देशहरूले जीएसआईलाई निकै ठूलो आड र भरोसा मानेका छन् । विकासशील राष्ट्रहरूलाई स्वास्थ्य र पूर्वाधार प्रावधानका साथै प्रहरी तालिम मार्फत सहयोग गर्दै चीनले घरेलु र मानव सुरक्षामा सहयोगका लागि इच्छा देखाएको छ । जीएसआई धेरै देशहरूका लागि स्वागतयोग्य प्रस्ताव भएको छ । जसरी चीनका बीआरआई परियोजनाहरूले स्वागत पाएका छन्, त्यसैगरी जीएसआईले पनि न्यानो स्वागत पाएको छ ।

जीएसआईले चीनको घरेलु राजनीतिमा एक मुख्य अवधारणासँग धेरै नजिकको समानता बोकेको छ । यसले व्यापक राष्ट्रिय सुरक्षासँगसँगै राष्ट्रिय गतिविधिका लगभग सबै पक्षहरूलाई सुरक्षाका मामिला मान्ने गर्छ, जसमा स्रोत पहुँच, स्वास्थ्य, अर्थतन्त्र र चीनको विदेश हितहरू समावेश छन् ।

जीएसआईले चीनलाई आफ्नो राजनीतिक प्रणाली निर्यात गर्ने संयन्त्रका रूपमा कदापि काम गर्दैन । यसले जीएसआई सम्बन्धित पहलहरूले विदेशमा सुरक्षाका बारेमा चीनको बुझाइ फैलाउनेछ भन्ने सुझाव दिन्छ । विशेष गरी जहाँ यसले चिनियाँ लगानी र विकास परियोजनाहरूको सुरक्षा गर्न आतिथ्य देशहरूको क्षमतालाई बलियो बनाउँछ ।

जब परम्परागत सुरक्षा चिन्ताको कुरा आउँछ तब चिनियाँ दृष्टिकोणमा संयुक्त राष्ट्र संघको केन्द्रीय भूमिकालाई ‘संवाद र परामर्श’ मार्फत द्वन्द्व मध्यस्थतामा जोड दिने कुराले महत्त्व राख्छ । उदाहरणका लागि रुस युक्रेन युद्धमा शान्ति वार्ताका लागि चीनले आह्वान गरेको छ । राजनीतिक वार्ताले मात्र दीर्घकालीन शान्ति स्थापना गर्न सकिन्छ; हतियार युद्ध र द्वन्द्वबाट कहिल्यै पनि शान्ति स्थापना हुन सक्दैन भन्ने चिनियाँ अडान स्थिर र अडिग रहेको छ ।

मध्यस्थता र द्वन्द्व समाधानमा वास्तविक प्रयासहरूका साथ चीनले वार्ताका लागि आफ्नो समर्थनलाई सधैँ वकालत गर्ने गरेको छ । यसले जीएसआईको सार्वभौमिकताका सिद्धान्तहरू र देशहरूको ‘वैध सुरक्षा हित’ बीच सामन्जस्य गराउँछ ।

गैर परम्परागत र घरेलु सुरक्षाका क्षेत्रमा जीएसआई धेरै विकासशील देशहरूका लागि आकर्षक साबित भएको छ । यो अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्छ । मानव सुरक्षामा जीएसआई वास्तविक रूपमा सबल छ । भविष्यमा द्वन्द्व मध्यस्थताका सन्दर्भमा पनि यो निकै प्रभावकारी हुनेछ ।

(मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित चेतनाथ आचार्यको ‘चिनियाँ दृष्टिकोण’ पुस्तकको अंश । यो पुस्तक यही मंसिर ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक हुँदैछ ।)