२१ श्रावण २०८३, बिहीबार
,
Latest
करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती



अ+ अ-

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका-८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् ।

उत्पादित खुर्सानी प्रतिकिलो रु २५० देखि रु ३५० सम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री गरिसकिएको छ, बिक्रीका लागि बजारको समस्या छैन, तर मूल्य उचित पाउन सकिरहेका छैनौँ ।”

उत्पादित खुर्सानी जिल्लाको भीमाद, दुलेगौँडादेखि पोखराका बजारमा बिक्री गर्दै आइएको किसान बताउँछन् । पहिलो चरणमा रु दुई लाख बढीको खुर्सानी बिक्री गरिसकिएको कृषक समूहले जनाएको छ ।

गाउँपालिकाले खुर्सानका बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो । सुरुमा सामूहिक रूपमा रु छ लाख लगानी गरिएको समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताउनुभयो । वैशाखको अन्तिम साता बिरुवा ल्याएर खेती थालिएको बताउँदै उहाँले भन्नुभयो, “बिरुवा लगाएको दुई महिनामा फल्न सुरु भएको छ, अब दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको छ ।”

ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका गञ्जसिंले पशुपालन र कृषि व्यवसायका लागि किसानलाई सहुलियत दर (सात प्रतिशत) मा ऋण उपलब्ध गराउँदै आएको बताउनुभयो । “गाउँका युवा विदेसिनेक्रम बढ्दै गएको अवस्थामा युवालाई स्वदेशमा बसेर काम गर्ने वातावरण र रोजगार सिर्जना गर्ने पहल थालेका हौँ”, उहाँले भन्नुभयो ।

उत्पादनका लागि यहाँको माटो उर्वरायुक्त रहेकाले जे खेती लगाउँदा पनि प्रशस्त आम्दानी लिन सकिने किसान बताउँछन् । जमिन बाँझो नराख्ने अभियानअन्तर्गत १४० रोपनीमा सुन्तलाखेती सुरुआत गरिसकिएको समूहका सदस्य गञ्जसिंले बताउनुभयो । उहाँले भन्नुभयो, “एक हजार सुन्तलाका बिरुवा लगाइसकिएको छ, तीन हजार बिरुवा लगाउने योजनासहित अघि बढेका छौँ ।”रासस