७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नापी हाकिममाथि भ्रष्टाचार मुद्दा, ५ करोड ७९ लाख अवैध सम्पत्ति रहेको ठहर



अ+ अ-

काठमाडौँ । नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ अवैध सम्पत्ति रहेको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विभागीय प्रमुख र दलका नेताहरूलाई प्रभावमा पारी उपसचिवसरहको प्रमुख रहने दरबन्दी रिक्त बनाई, विदेश पढ्न गएका कर्मचारीको पद र दरबन्दी कायम गरी यादवले दशौं वर्ष निमित्त हाकिम चलाएर सरकारी सार्वजनिक जग्गा हाल साबिक, प्लट मिलान, सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पारी करौडौंको आर्थिक चलखेल गरेको अख्तियारको दाबी छ ।

यादव र परिवारको २०५३ असार १३ देखि ८१ असार १६ सम्मको सम्पत्ति विवरण जाँच गर्दा तलभ भत्तासहित कुल वैध आय ९ करोड ३ लाख ९५ हजार ४४४ देखिएको छ ।

तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, व्यवसायिक लगानीको रकम हिसाब गर्दा व्ययतर्फ १४ करोड ८३ लाख ५७ हजार ८८४ रूपैयाँ खर्च भएको बताइएको छ ।

आयव्ययको लेखाजोखा गर्दा यादवको ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ गैरकानूनी देखिएको हो ।

अख्तियारले उनको श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवका नाममा खरिद गरेका सम्पत्तिसमेत जफत गर्ने गरी तीनैजनालाई प्रतिवादी बनाएको छ ।

7EZDOA