१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा रास्वपाका ९ आकांक्षीबाट उम्मेदवार छान्न आज प्राइमरी इलेक्सन



अ+ अ-

काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज प्रारम्भिक चुनाव गर्दै छ । रास्वपाका ९ जना आकांक्षी छन् । उनीहरुमध्ये एक जनालाई उम्मेदवार बनाइने छ ।

उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षीहरूमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, पूर्वउम्मेदवार, चिकित्सक, प्राध्यापक, सहकारी अभियन्ता, उद्योगी र विदेशबाट फर्किएका युवासमेत छन् ।

रास्वपाले साउन ७ देखि २१ गतेसम्म आवदेन माग गरेकोमा ९ जनाको आवेदन परेको थियो । यो बीचमा पार्टीका विभिन्न चरण पार गरेसँगै उनीहरुमध्येबाट आज र भोलिभित्र सम्बन्धित क्षेत्रका सदस्यहरुले मतदान गरेर छान्नेछन् ।

उपनिर्वाचनमा उम्मेदार बन्नका लागि बुटवल सेमलारका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र बुटवलकै मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उनीहरुमध्येबाट धेरै मत ल्याउने एक जनाको नाम रास्वपाले भदौ १५ मा सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

रास्वपाले उम्मेदवार छनोट विधिअन्तर्गत प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) को नतिजाको ५० अंक, समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।

भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म उम्मेदवार छनोटका लागि पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ (प्राइमरी इलेक्सन) हुनेछ । प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहने छ । पार्टी सदस्यको मतदानमा साउन २६ सम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने छन् ।

आाकांक्षीहरुबीच ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार छान्ने रास्वपाको विधानमा भएको पुरानै व्यवस्था हो । तर, अहिलेसम्म व्यवहारिकरूपमा यसको प्रयोग हुन सकेको थिएन ।

रास्वपाको विधानअनुसार उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक इलेक्सनमा सम्वन्धित क्षेत्रका पार्टी सदस्यहरुले भाग लिन सक्छन् ।

यस्तै, पार्टीका केन्द्रीय सदस्यहरुलाई पनि मतदानको अधिकार हुन्छ । तर, प्राइमरी इलेक्सनबाटै उम्मेदवार तय हुने भन्ने होइन । पहिलेको व्यवस्थामा संसोधन गरेर ५० प्रतिशत अंकभार मात्रै प्रारम्भिक निर्वाचनको नतिजाले प्राप्त गर्ने प्रावधान राखिएको छ ।

बाँकी ५० प्रतिशतमध्ये लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक आवद्धता) लाई २० प्रतिशत र समावेशीतालाई ५ प्रतिशत भाराङ्क दिने व्यवस्था संसोधित कार्यविधिमा गरिएको हो ।