२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

डेनमार्कमा ‘सोल्ड आउट’ नेपथ्य साँझ

डेनमार्कमा ‘सोल्ड आउट’ नेपथ्य साँझ
अ अ+ अ-

कोपनहेगन: दुई साताअघि मात्रै बेलायतको वेम्बली एरिनामा १० हजार दर्शकका अघिल्तिर नेपाली लोकरक प्रस्तुत गरेको नेपथ्य डेनमार्कमा पनि दर्शकबाट उत्तिकै माया पाउन सफल भएको छ । कार्यक्रम हुनु केहि समय अगावै टिकटहरु सोल्ड आउट भइसकेको थियो ।

युरोपमा औद्योगिक युगको पुरानो वैभव सम्झाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार अटेसमटेस दर्शकदीर्घामा नेपाली राजदूतदेखि नेपाल आएका उक्त मुलुकका राजदूतहरूको सपरिवार उपस्थिति थियो । शान्त कोपनहेगन सहर मात्र नभई वरपरका युरोपेली मुलुक फिनल्यान्ड, जर्मनी, नर्वे, स्वीडेन र बेल्जियमदेखि समेत नेपथ्यप्रेमी तन्नेरी उत्साहसाथ जम्मा भएका थिए ।

कन्सर्टका लागि एक घण्टा अगावै अर्थात् बेलुकीको ठीक ६ बजे हलको ढोका खुल्नासाथ दर्शक चहलपहल सुरु भइसकेको थियो । जब पहिलो प्रस्तुतिका रूपमा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो, हलभरिका दर्शकले उत्तेजना र उत्साहको आवाज गुन्जाउन सुरु गरिहाले । यो क्रम ब्यान्डका सदस्यहरू मञ्चमा आएपछि झनै बढ्यो ।

मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरि चिच्याहट सुनियो नै, उठेका हातभरि चम्किरहेका मोबाइल फोनको बत्तीले पूरै हल झिलिमिली देखिएको थियो । यस क्रमले दुई घण्टा लामो कन्सर्ट अवधिसम्मै निरन्तरता पाइरह्यो ।

डेनमार्कमा नेपथ्यले आफूलाई नौ वर्षपछि उभ्याएको हो ।

नेपाली राजदूत सुम्निमा तुलाधरले यो कन्सर्ट मात्र नभएर नेपाली उत्सव बनेको प्रतिक्रिया दिइन् । ‘सङ्गीत प्रस्तुत गर्ने अमृत गुरुङको टिमदेखि व्यवस्थापन सम्हालेकासम्म सबैको काम गराइमा कतै पनि कमजोरी देखिएन,’ उनी भन्दै थिइन्, ‘कार्यक्रमले देशबाहिर बसेका नेपालीलाई जोड्ने मात्र होइन, समुन्नत नेपालका लागि योगदान गर्न प्रेरणा पनि दिइरहेको थियो ।’

नातिसहित सपरिवार उपस्थित भएर नेपालका लागि डेनमार्कका पूर्वराजदूत गर्ट मेनकीसमेत कन्सर्टमा रमाइरहेका देखिन्थे । ‘आफ्नो मुलुकको परम्परागत सङ्गीतलाई उच्च व्यावसायिक ढङ्गसहित प्रस्तुत गर्ने नेपथ्य स्वयंमा समुन्नत पुरानो नेपाल र आउँदो भविष्य, नेपाल र संसारभरि फैलिएका उसको नयाँ पुस्ता अनि नेपाल र बाँकी विश्वबीच सानदार पुल बनेको महसुस गरेँ,’ कन्सर्ट सकिएपछि गर्टको प्रतिक्रिया थियो, ‘मञ्चका कलाकार र हलभरिका दर्शक यसरी आपसमा घुलमिल भएर एकसुरले बाँधिएको कन्सर्ट विरलै देख्ने गरेको छु ।’

आफ्नो सधैँको स्वभावजस्तै ब्यान्डका मुख्य गायक एवं अगुवा अमृतले कन्सर्ट अवधिभर दर्शकसँग गीतका साथसाथै संवादलाई जारी राखे ।
‘आज बाको मुख हेर्ने दिन कुशेऔँसी हो,’ उनी भन्दै थिए, ‘कुनै कारणवश घरमा फोन गर्न भ्याउनुभएको छैन भने गरिहाल्नुस् । मनमुटाव भएको छ भने पनि कुरा गरेर सुल्झाइहाल्नुस् ।’

घर छाडेर यति पर आएका दर्शक अमृतका यी शब्दले भावविभोर बन्न पुगेका थिए ।

अमृतले विदेशमा बसेका बेला नेपाली एकजुट हुनुपर्ने र आफ्नो भाषा अनि पहिचानलाई अझ दह्रोसँग समात्नुपर्ने आवश्यकता पनि औँल्याए ।

फिनल्यान्डको हेलसिन्कीबाट आएकी व्योमा ताम्राकारका लागि कोपनहेगनमा नेपथ्यको कन्सर्ट हेर्न पाउनुले अर्को रमाइलो थपिरहेको थियो । ‘सन् २००६ मा हेलसिन्कीमा भएको नेपथ्यको कन्सर्ट अझै सम्झना छ,’ उनले उतिखेर र अहिलेको प्रस्तुति तुलना गर्दै भनिन्, ‘गीतदेखि दर्शकदीर्घासम्मको वातावरणले प्रत्येक सेकेन्डलाई अविस्मरणीय बनाइरहेको देख्दा यसपाला यस ब्यान्डप्रति मेरो आकर्षणले अर्को नयाँ उचाइ समातेको पाएँ ।’

व्योमाका अनुसार सङ्गीतकर्मी र व्यवस्थापनको यस स्तरको प्रस्तुतिले नेपाली सङ्गीतलाई नै उँचो बनाएको छ । ब्यान्डको जोसिलो प्रस्तुतिले सम्पूर्ण दर्शकलाई उफ्रिएर नाच्न बाध्य बनाइदिएको उनले बताइन् ।

उता नर्वेको राजधानी ओस्लोदेखि आएका प्रलय रिसाल यो कन्सर्ट सङ्गीतप्रेमीका लागि जीवनमा एकपटक लिनैपर्ने अनुभवको स्तरमा उभिएको सुनाइरहेका थिए ।

कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले स्वदेशमा स्कुल जान नपाएका केटाकेटीलाई सक्दो सहयोग गरिदिएर भए पनि देशप्रतिको दायित्व निभाइदिन दर्शकलाई अपिल गरेका थिए । यसरी सामाजिक दायित्वलाई सन्देशका रूपमा सुनाउँदासुनाउँदै पनि नेपथ्यले सर्वकालिक हिट गीतहरू नछुटाई दर्शकमाझ प्रस्तुत गरेको थियो ।

दर्शक उत्तेजनाकै बीच ‘रातो र चन्द्रसुर्जे’ सुनाएपछि ब्यान्डले बिदा मागेको थियो ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘लामो समयदेखिको प्रतीक्षा अनि दुई वर्षको अथक मेहनतले दिएको प्रतिफल हो यो,’ स्थानीय आयोजक टोली पवन पाण्डे भन्छन्, ‘एकातिर सपना पूरा भएको छ भने अर्कातिर सबै दर्शक रमाएर फर्केको देख्दा खुसीको सिमाना छैन ।’

डेनमार्कमा हासिल गरेको यो सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अब अर्को मुलुक माल्टा पुगेको छ । त्यस मुलुकको उत्तरी भेगमा पर्ने आटार्ड सहरस्थित ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’ मा अगस्त २७ बुधबार नेपथ्यका गीतहरू गुन्जिनेछन् ।
त्यसपछि ब्यान्ड अगस्त ३१ आइतबार प्रस्तुत हुने गरी पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा कार्यक्रम राखिएको छ ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित एईडी स्टुडियोजको स्टुडियो सेभेनमा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ ।

युरोपका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।