काठमाडौं । राजधानी काठमाडौंमा आज कवाड व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले काठमाडौं महानगरपालिकाले गरेको निर्णय खारेज गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म र्याली निकाल्दै ‘हाम्रो व्यवसाय बचाऊ’, ‘रोजीरोटी खोस्न पाइँदैन’ ,’कवाड संकलकलाई वैकल्पिक व्यवस्था गर’ भन्ने नारासहित नाराबाजी गरेका थिए ।
काठमाडौं महानगरपालिकाले पछिल्लो समय आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसलाई अन्यथा व्यवहार गर्दै कवाड संकलक र व्यवसायीहरू निरन्तर आन्दोलनरत रहेका छन् । उनीहरूले कवाड संकलन मात्र होइन, यसैबाट हजारौं परिवारको जीवननिर्वाह हुने भन्दै प्रतिबन्धले प्रत्यक्ष रूपमा गरिब तथा श्रमिक वर्गमाथि आघात पुयाएको आरोप लगाएका छन् ।
















