१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

नयाँ संक्रमित भेटिएपछि भुल्के बस्ती फेरि त्रसित

नयाँ संक्रमित भेटिएपछि भुल्के बस्ती फेरि त्रसित
अ अ+ अ-

उदयपुर । दुई सातायता भुल्के बस्तीको नतिजामा सुधार आउन थालेपछि स्थानीय प्रशासनले केही दिनभित्रै सिल गरिएको क्षेत्रलाई क्रमशः सहज गर्दै जाने रणनीति तय गरेको थियो। स्थानीय र प्रदेश सरकारको समन्वयमा गरिएको स्वाब परीक्षणका सबै रिपोर्ट नेगेटिभ आएपछि बस्ती पनि सामान्य बन्दै गएको थियो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा उकुसमुकुस जीवन बिताइरहेका सर्वसाधारण पछिल्लो नतिजामा खुसी हुँदै क्रमशः सहज हुनेमा आशा गरेका थिए। तर, उनीहरूको त्यो खुसीमा पुनः एक पटक ‘ब्रेक’ लागेको छ। शनिबार एकाबिहानै विभिन्न सञ्चारमाध्यममा पुनः तीन जना महिलामा कोरोना भाइरस देखापरेको समाचार सार्वजनिक भएपछि स्थानीय तहमा आएको त्यो खुसी हराएको हो। दोस्रोपटक संकलन गरिएकामध्ये तीन जनामा संक्रमण देखिएपछि स्थानीय थप त्रसित भएका हुन्। तीन दिनअघि स्वास्थ्यकर्मीको टोलीले भुल्के क्षेत्रमा नै गई तीन सय ३४ जनाको स्वाब संकलन गरेको थियो। त्यसमध्ये धरानमा ९८ जना र विराटनगरमा २ सय ३८ जना परीक्षणका लागि पठाएकोमा ९० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए। उनका अनुसार जिल्लामा हालसम्म एक हजार १३ जनाको स्वाब संकलन गरिएको छ।

विराटनगर पठाइएका सबै मुस्लिम र धरान पठाइएका अन्य समुदायका छन्। त्यहीँमध्ये विराटनगर पठाइएका तीन जनामा कोरोना देखिएको प्रमुख सुवेदीले जानकारी दिए। उनले पछिल्लो रिपोर्टले सुहानुभूति दिइरहेका बेला शनिबारको रिपोर्टले त्रास फैलाएको बताए। त्रियुगा नगर प्रमुख बलदेव चौधरीले सामान्य बन्दै गएको गाउँमा पुनः त्रास फैलिएको बताए। उनले भने, ‘नतिजा सोचेअनुरुप आएपछि क्रमशः सिल गरिएको क्षेत्रलाई खुकुलो बनाउने रणनीति तय भएको थियो, त्यो एकाएक तोडियो।’ प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले भुल्के क्षेत्रमा थप कडाइ गरिने बताए। उनले भने, ‘सिल गरिएको बस्तीलाई हालका लागि कायम राख्दै स्वाब परीक्षणलाई तीव्रता दिइनेछ।’ स्थानीय यदुप्रसाद ढकालले सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण फैलिँदै गएकामा चिन्ता व्यक्त गरे। उनले भने, ‘सेना प्रहरीले घरबाहिर निस्कन दिएको छैन, सावधानी पनि अपनाएकै हौँ तर घट्दो नभई बढ्दो भएकाले, प्रभावकारी कदम चलाउनुपर्ने अवस्था देखिन्छ।’

थप स्वाब परीक्षणको माग

कोरोना संक्रमण बढ्दै जान थालेपछि स्थानीयले स्वाब परीक्षणलाई गति दिन आग्रह गरेका छन्। बस्तीमा रहेका ३ सय १५ परिवारका एक हजार पाँच सय जनामै स्वाब परीक्षण गरिदिन आग्रह गरेका छन्। आधाजसो मानिसको स्वाब परीक्षण गर्न बाँकी नै रहेकाले तत्काल परीक्षण गरी त्रासमुक्त वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका हुन्। स्थानीय राजन राउतले भने, ‘एउटै बस्ती भएकाले हिजो आउजाउ, विभिन्न सामान ओसारपसारमा प्रत्यक्ष रूपमा सबैको संलग्नता रहेकाले सबैको परीक्षण हुनुपर्छ।’ आफ्नो शरीरमा कोरोना छ कि भन्ने सबैमा त्रास भएको स्थानीय पवित्रा गिरीले बताइन्। उनले भनिन्, ‘त्रासले ज्यान जाने बेला भइसक्यो त्यसैले यसबाट मुक्ति पाउन पनि परीक्षण गर्नै पर्ने भयो।’ उनले जे–जस्तो भए पनि नतिजालाई स्विकार्न र सावधानी अपनाउन स्थानीय तयार रहेकाले स्वाब संकलनलाई फराकिलो बनाइदिन आग्रह गरिन्।

 ३१ मध्ये १४ उपचारपछि फर्किए

कोरोना संक्रमित ३१ जनामध्ये १४ जना उपचारपछि फर्किएका छन्। भारतबाट आएका १२ जना जमाती र विराटनगरका ४ जनामा कोरोनो पुष्टि भएसँगै फैलिएको संक्रमण २८ जनामा पुगेर दुई सातायता स्थिर बनेको थियो। वैशाख ५ गतेबाट सुरु भएको संक्रमणले शनिबारसम्म आइपुग्दा ३१ जना पुगिसकेको छ। संक्रमण देखापरेसँगै उपचारका लागि लगिएकामध्ये १४ जना सामान्य उपचारपछि फर्किएका छन्। पहिलो चरणमा ६ जना र दोस्रो चरणमा ८ जना गरी १४ जना उपचारपछि फर्किएका हुन्।उनीहरूमध्ये एक जना महिलालाई उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा र अन्य सबैलाई रानी मस्जिदको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रजिअ पहाडीले बताए।

सदरमुकाम पनि त्रास र जोखिममा

संक्रमित क्षेत्र सदरमुकाम गाईघाटदेखि तीन किलोमिटर पर दूरीमा छ। आउजाउका हिसाबले नजिकको बस्ती रहेको र बजार क्षेत्रमा मस्जिद रहेकाले गाईघाटबासीमा त्रास फैलिएको छ। संक्रमित एकै घरका तीन व्यक्ति सदरमुकाम गाईघाट बजारको मुख्यचौकका व्यापारी रहेको र अधिकांश तरकारी, दूध संक्रमित बस्तीबाट आउने गरेकाले गाईघाट बजारमा त्रास मात्र छैन जोखिम पनि उत्तिकै छ। स्थानीयमा तरकारी र दूध बिक्री गर्दा सरेको हुन सक्ने भन्दै आशंका उत्पन्न भएको छ।

बजार क्षेत्रभित्रै मस्जिद रहेकाले त्यहाँसमेत आउजाउ भएकाले अझ बजारबासी त्रसित भएका हुन्। त्यति मात्र हैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्षीया महिलामा पनि संक्रमण रहेका पुष्टि गरेपछि थप सन्त्रास फैलिएको हो। उनी मास्क बनाएर बिक्री गर्छिन्। उनका श्रीमान् टेलर्स सञ्चालक हुन्। उनले भुल्के सामुदायिक वन उपभोक्ता समूहको अर्डरमा ८ सय २० थान मास्क बनाएर करिब ४ सय घरपरिवारमा बाँडेका थिए।

मास्क सिलाएर बाँड्नेका दम्पती नै संक्रमित रहेको थाहा पाएपछि मास्क लगाउने घरधुरीका सबै परिवार त्रसित छन्। ‘मास्क मुस्लिम बस्ती र बाहिरका पनि धेरैलाई बाँडिएको थियो,’ स्थानीय शम्भु थापाले भने,’ सामुदायिक वन उपभोक्ता समूहले तिनैलाई दिएको रहेछ, उनैले सबै मास्क अर्का एक जना सहयोगी राखेर तयार गरेका थिए।’ त्यति मात्र हैन, संक्रमित अर्का एक व्यक्ति गाईघाट बजारमा अटोरिक्सा चलाउँथे। प्रहरीले गरेको अनुसन्धानमा उनीहरूको सामीप्य गाईघाट बजारबासीमा समेत रहेको देखिएको छ। अन्नपुर्णपोष्ट दैनिक