१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

कोरोनाबाट निको हुने दर बढेन, विज्ञहरु चिन्तित

कोरोनाबाट निको हुने दर बढेन, विज्ञहरु चिन्तित
अ अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हालसम्म कसैको मृत्यु नभए पनि निको हुने दर पनि बढ्न सकेको छैन ।

चिकित्सकहरूका अनुसार कोरोना संक्रमितमा कुनै प्रकारको उपचार गर्नुपर्ने अवस्थासमेत आएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार रातिसम्म मुलुकभर १०९ जना संक्रमित देखिएकोमा ३१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

‘संक्रमण बढ्दै गएर सय नाघिसकेको छ तर भगवान् भरोसा नै भनौं कसैको मृत्यु भएको छैन,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी भन्छन्, ‘हामीकहाँ २८ प्रतिशत मात्र बिरामी निको भएका छन्, यो धेरै कम हो । यसलाई न्यूनतम ५० प्रतिशतसम्म पुर्‍याउनुपर्छ ।’

दिनहुँ नयाँ संक्रमित थपिने र उपचाररत संक्रमितहरू लामो समयसम्म अस्पताल बस्नुपर्दा निको हुने दरमा अझै कमी आउन सक्छ । विश्वमै चीनमा कोरोना संक्रमितको निको हुने दर सबैभन्दा राम्रो देखिएको छ । त्यहाँ झन्डै ८४ हजार संक्रमितमध्ये ९५ प्रतिशत निको भएका छन् ।

डा. बीसी भन्छन्, ‘हामीले कोभिड–१९ संक्रमित निको हुने दर बढाउनैपर्छ, यसका लागि हालको उपचारको मोडालिटी (प्रणाली) परिवर्तन गर्नुपर्छ ।’

चीनलगायत विश्वका अन्य भागमा कोभिड–१९ बिरामीहरूलाई प्रयोगात्मक, आधुनिक, वैकल्पिकलगायत विभिन्न प्रकारको उपचार प्रक्रिया सुरु गरेको छ ।

नेपालमा भने ज्वरोका लागि सिटामोल र तत्काल देखिएको समस्याको लाक्षणिक उपचारबाहेक अन्य कुनै प्रयास नगरिएको उनको भनाइ छ । उनले हाल डिस्चार्ज भएका संक्रमितहरू आफैं निको भएको दाबी गरे ।

कोभिड–१९ का संक्रमितबाट अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भनेर अस्पतालमा राख्नुबाहेक हालसम्म कुनै सघन उपचार आवश्यक नपरेको वीरगन्जस्थित नारायणी अस्पतालका डा. निरज सिंह बताउँछन् । उनका अनुसार नारायणी अस्पतालमा हालसम्म भर्ना गरिएका २८ जनालाई कुनै उपचार आवश्यक देखिएको छैन ।

संक्रमितमा सामान्य लक्षणबाहेक अन्य जटिलता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन् ।

‘हामीकहाँ तीन जना संक्रमित भर्ना भए, सामान्य लक्षणबाहेक अन्य जटिलता देखिएन,’ उनले भने, ‘ती संक्रमितलाई ज्वरोका लागि पारासिटामोल, खोकी, घाँटी खसखस गर्दा एन्टिहिस्टामिन र चिन्तारव्याकुलता बढ्दा तनाव कम गर्ने औषधि मात्रै दिइएको थियो ।’

‘हालसम्म रोग प्रतिरोधी क्षमता भएकालाई मात्रै संक्रमण’

हालसम्म मुलुकमा कोभिड–१९ भाइरससँग लड्न सक्ने क्षमता भएकालाई मात्र संक्रमण देखिएको र यसबाट कसैको मृत्यु नभएकाले आत्तिने अवस्था नआएको डा। बीसीको भनाइ छ । ‘हामीले कम्तीमा ५० प्रतिशतसम्म निको हुने दरलाई बढायौं भने भविष्यमा यो रोगले हुन सक्ने सम्भावित मृत्युदर कम हुन्छ,’ उनले भने ।

रोगसँग लड्ने क्षमता कम भएका (दिर्घरागी, वृद्घ) व्यक्तिहरूमा संक्रमण चुलिए मुलुकको टाउको दुखाइ हुने उनले जनाए । ‘हामीले चीनको उपचार प्रणाली अपनाएर भविष्यमा हुन सक्ने मृत्युलगायत समस्याबाट जोगिनुपर्छ,’ उनको सुझाव छ ।

समयमै लकडाउन सुरु भएकाले संक्रमण समुदायमा फैलिन नपाउँदा कमजोर वृद्घ, दिर्घरोगी पीडित हुन नपरेको कोसी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट एवं जनस्वास्थ्यविद् डा। संगीता मिश्रको बुझाइ छ । भन्छिन्, ‘उस्तैउस्तै भूगोल, संस्कृति, जीनसमेत भएको भारतमा देखिएको मृत्यु र विदेशमा भएका नेपालीहरूको मृत्यु हाम्रा लागि चेतावनी नै हो ।’

विश्वभर केही समययता आइसोलेसनमा मृत्यु भएकाहरूको राम्ररी निगरानी हुनुपर्नेसमेत विज्ञहरूले औंल्याएका छन् । उनीहरूले अब कोभिड–१९ को प्रयोगात्मक उपचारसमेत सुरु गर्ने समय आइसकेको डा। बास्तोलाले जनाए ।

‘एन्टिभाइरल औषधि ‘रेमडेसिविर’ कोभिड–१९ विरुद्घ सबैभन्दा राम्रो ‘एक्सपेरिमेन्टल’ औषधि हो,’ उनले भने, ‘यसबाहेक प्लाज्मा थेरापी, परम्परागत चिनियाँ, नेपाली जैविक औषधिको समेत उपयोग गर्न सकिन्छ ।’

हालसम्म कोभिड–१९ संक्रमितहरूमा निमोनिया सबैभन्दा धेरैमा देखिएको छ । ‘निमोनिया भएमा अक्सिजन थेरापी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, यसैले मुलुकमा सबै ठाउँमा अक्सिजन उपलब्ध हुनुपर्छ,’ डा. बास्तोला भन्छन्, ‘योसँगै हालसम्म उपलब्ध विज्ञानसम्मत वैकल्पिक उपचारमा समेत ध्यान दिनुपर्छ ।’

उनका अनुसार कोरोनाका करिब १४ प्रतिशत संक्रमितलाई अक्सिजनले जोगाउने र ५ प्रतिशतलाई भेन्टिलेटर चाहिन सक्छ । संक्रमितलाई घोप्टो पारेर राख्दा श्वास फेर्न सहज हुने डा. बास्तोलाले जनाए ।

‘हामी अक्सिजन थेरापीमा केन्द्रित हुनुपर्छ, अक्सिजन दिएर पनि केही प्रतिशत बिरामीको ज्यान जोगाउन सक्छौं,’ उनले भने । यस्तो उपचार प्रक्रियाले भविष्यमा देखिन सक्ने सम्भावित मृत्युदर कम गर्नुका साथै संक्रमित निको हुने समयमा समेत कमी आउनेछ ।

३१ जना डिस्चार्ज, ७९ उपचाररत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर ७९ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् भने ३१ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगन्जमा २७, विराटनगरमा २१, नेपालगन्जमा २४, रूपन्देहीमा ६ र भरतपुरमा एक जना संक्रमितको उपचार भइरहेको बताए ।

शनिबार देशभर पीसीआर विधिबाट ८१७ नमुनाको परीक्षण गरिएको छ । हालसम्म यो संख्या १६ हजार ३०९ पुगेको छ । यस्तै, शनिबार १,३९९ नमुनाको आरडीटी गरिएकोमा हालसम्म ५५ हजार ९३० नमुनाको परीक्षण भइसकेको छ ।

देशभर १४ हजार ५९२ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा २ र उपत्यकाबाहिर १४१ गरी कुल १४३ जना आइसोलेसनमा छन् । करिब ५० हजार पीसीआर किट मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले थोरै रिएजेन्टले पीसीआरबाट धेरैको परीक्षण गर्न सकिने ‘पुल टेस्टिङ’ को व्यवस्था गर्नसमेत प्रयोगशालाहरूलाई पत्राचार गरेको जनाएको छ । कान्तिपुर दैनिक