४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

कुशेऔँशीमै बुबाको मुख किन हेर्ने

कुशेऔँशीमै बुबाको मुख किन हेर्ने
अ+ अ-

एक वर्षमा जम्मा १२ वटा औँशी हुन्छन् । प्रत्येक औँशीका आफ्नो धार्मिक महत्व, आध्यात्मिक अर्थ र खगोलीय प्रभाव हुन्छन् । भाद्रकृष्ण औँशीलाई कुशेऔँशीका नामले चिनिन्छ । औँशी तिथिका स्वामी पितृ हुन् । यसकारण पितृलाई औँशीका दिनमा जल चढाउने, दक्षिण फर्काएर बत्ती बालिदिने, श्राद्ध गर्ने, पितृका नाममा सेवा गराउने कार्यले सन्ततिलाई आशीर्वाद मिल्छ ।

सूर्य ग्रह कमजोर भएका, सूर्यग्रहणमा जन्मिएका वा ग्रहण योग परेकालाई पितृसेवा र बुबाको सुश्रुसा महौषधि हुन्छ । सूर्य ग्रह मुटु, हड्डी, दाहिने आँखा, बुबा आदिको कारक मानिन्छ । औँशीतिथि यसकारण पितृ वा पितासँग सम्बन्ध कार्यका लागि महनीय अवसर मानिन्छ । रोकिएका श्राद्धहरु कुशेऔँशीका दिनमा गर्ने परम्परा आदिमकालदेखि रहीआएको छ ।

बुबाले जन्ममात्र दिनुभएन गोत्र, थरसहित सन्तानका लागि जीवन समर्पण गरेको हुन्छ । बुबाआमाको योगदानलाई अहिले वृद्धाश्रमले चिनेको छ, विदेशिएका सन्ततिको प्रेमलाई एक्लै बसेका बुबाआमाको मनले बुझेको छ ।

देवऋण, पितृऋण, गुरुऋणलाई मात्र होइन मातृभूमिकै ऋणलाई बिर्सन बाध्य भएका सन्ततिको अगाडि कुशेऔँशीले कसरी अनुहार देखाइरहेका छ, सञ्चारका माध्यमले लोकाचार कसरी पुरा गरेका छन् भन्ने तथ्यलाई बुझ्न धेरै मिहिनेत गर्नुपर्दैन । जीते वापको रोटी नदेवै काक बाप बनै हो अर्थात् जिउँदो हुँदासम्म सोधखोज छैन मरेपछि पिण्ड दिनुको लोकाचारले औँशीमा होइन कुशेऔँशीको अर्थ र महिमालाई जीवन्त राख्न सक्दैन ।

भदौँ पाँचौँ महिना हो, राशिगत दृष्टिले सिंह पर्छ भाद्र महिना । सिंह राशिमा सूर्य स्वगृही मानिन्छन् । यसैको औँशीमा गरिएका पितृकर्मले पितृगण खुसी हुन्छन् र पितृदोष लगायतका कुप्रभावलाई हटाउन सहयोग दिन्छन् । बुबाखुवाउने  (कुशेऔँशी)मा विधिपूर्वक घरमा कुश ल्याइन्छ । कुशको सम्बन्ध बुबा अर्थात् शरीरको हाडसँग रहन्छ । शरीरको मासु भागलाई आमा र हड्डी भागलाई बुबासँग सम्बन्ध रहेको बताउँछन् ।

जीवनमा बुबाको जति ठूलो भूमिका हुन्छ कुशको पनि धार्मिक अनुष्ठानमा उस्तै मानिन्छ । कुशले धर्मको गतिलाई मात्र साथ दिँदैन एक औषधीय वनस्पतिको जिम्मेवारीसमेत निभाउँछ । ऋषिमुनिहरूले रोगीको अवस्था, रोगको प्रकृतिअनुसार दुई प्रकारका औषधिहरू प्रयोग गर्दथे । एक आपत्कालिक (तत्काल), अर्को बिस्तारै निको गराउने । दर्भो य उग्र औषधिस्तं ते बध्नाम्यायुष्षे अर्थात्, “कुश तत्काल फल दिने औषधि हो, जसलाई आयु वृद्धि गर्न लगाइन्छ ।” मानवजीवन र कुशबीच अन्योन्याश्रित सम्बन्ध छ ।

कुशको फरक नाम र भिन्न काम छन्– फूल नफूलेको कुशलाई दर्भ, फूल फूलेपछि कुश, जरासहितको भागलाई कुतप, अगाडिको भाग काटेमा तृण भनिन्छ । जो फेरि पलाउँदैन त्यसलाई दर्भ र पुन: पलाउन सक्नेलाई कुश भनिन्छ । विशिष्ट व्यक्तिलाई आसन गराउँदा कुशासन दिइन्थ्यो भन्ने तथ्यलाई ऋग्वेद (३।९।९)मा तीन हजार तीन सय उनन्चालीस देवताहरूले अग्निलाई कुशासन दिएबाट बुझिन्छ ।

कुशलाई भगवान्को रौँबाट उत्पन्न भएको मानिन्छ–मम रोम समुद्भूता दर्भा: पुष्टिकरा मता: अर्थात् कुश मेरै राँैबाट उत्पन्न भएको हो, यो पौष्टिक छ । देव कार्य, पितृ कार्य, रोग निराकरण, ग्रह शान्तिका लागि कुशको प्रयोग गरिन्छ । देवकार्य, पितृकार्य आदिमा दाहिने हातमा सुन, चाँदी वा कुशको औँठी हुन आवश्यक हुन्छ ।

विशेष प्रकारका धातु र वनस्पतिले वातावरणमा रहेका दैवी र सकरात्मक शक्तिलाई तानेर शरीरमा प्रवाह गराउँछन् । अचानक सूक्ष्मरूपले भाइरसबाट हुने शारीरिक र मानसिक आक्रमणलाई कुशले रोक्छन् ।

कुश लगाउँदा कम श्रम, शक्ति र समयमा अधिक कार्य गर्ने तागत प्राप्त हुन्छ । एकपटक पढेको, देखेको, उपदेश गरेको विषयलाई सम्झिरहने मानिसलाई कुशाग्र बुद्धि मानिन्छ । कुशको अग्रभाग तीखो हुन्छ अर्थात् कुशजस्तो पवित्र र तिख्खर दिमागलाई कुशाग्र बुद्धि भनिन्छ । कुशले शरीरलाई स्वस्थ, बुद्धिलाई तेज र विचारलाई पवित्र बनाउन सहयोग गर्दछ । दूधमा कुश राखेर तताए फाट्दैन । भगवान् विष्णुले भन्नुभएको छ–

दर्भा विभूतिर्मे ताक्ष्र्य मम रोमसमुद्भव: ।

अतस्तत् स्पर्शनादेव स्वर्गं गच्छन्ति मानवा: ।।

कुशमूले स्थितो ब्रम्हा कुशमध्ये जनार्दन: ।

कुशाग्रे शंकरो देवास्त्रयो देवा: कुशे स्थिता: ।।

–गरुडपुराण (९।१२–१३)

अर्थात्, “कुश मेरा रौँ हुन् । यसलाई दैनिक छुनाले पवित्र भई स्वर्ग प्राप्ति हुन्छ । कुशको जरामा ब्रम्ह, काण्डमा विष्णु, टुप्पोमा महादेवसहित तीन देवता बस्दछौँ ।” कुशमा जगत्का उत्पत्तिकर्ता, पालनकर्ता र संहारकर्ताको निबास भएकाले यसलाई परम पवित्र र शक्तिमान् मानिएको हो ।

महाभारतअनुसार गरुडले सर्पहरूबाट बन्धक बनाइएकी आफ्नी आमाको मुक्तिका लागि अमृत ल्याएर सर्पहरूलाई दिए । अमृत खानुभन्दा पहिले सर्पहरू नुहाउन गए, आउँदा अमृत देखेनन् । कुशमा अमृत पोखिएको अनुमानले चाटे । कुशको धारले जिभ्रो काटेको हुनाले त्यतिबेलादेखि सर्पको जिभ्रो दुईवटा भयो । अमृतको स्पर्शले कुश पवित्रतम हुन गयो । कुश लगाउनाले शरीरमा शक्ति आउँछ, रोगको निराकरण हुन्छ र अमृतको दर्शन मिल्छ ।

कुशको टोपी बनाएर लगाउने, बाला पहिरने, औँठी लगाउने कार्यले शरीरलाई बहुआयामिक फाइदा दिन्छ । कुशलाई पुज्नेमात्र होइन बुझ्ने र वैज्ञानिक रुपमा प्रयोग गर्ने कार्यमा हामी लाग्नुपर्छ । कुश विद्युतको कुचालक भएकाले चट्याङ पर्न दिँदैन । यसकारण घरका छानामा कुश राख्ने चलन छ । कुशले रिसलाई नियन्त्रण गर्दछ, शत्रुको रिसबाट बचाउँछ । कुशघारी वा बाँसघारीबाट बगेको पानी राम्रोसँग छानिएर पिउनलायक हुन्छ ।

नास्य केशान्प्रवपन्ति नोरसि ताडमाघ्नते ।

यस्मा अछिन्नपर्णेन दर्भेण शर्म यच्छति ।।

–अथर्ववेद(१९।३२।२)

अर्थात्, “जो नित्य कुश लगाउँछ, उसको कपाल झर्दैन, न त छाति दु:ख्दछ ।” अत्यन्तोपयोगी झार भएकाले कुशलाई औषधि, गहना, सुरक्षाकवच आदिका रूपमा उपयोग गर्दछन् । एकाग्रता, शुद्धता, संयमता आदि शक्ति कुश लगाउँदा प्राप्त हुन्छ । विभिन्न किटाणु र व्याक्टेरिया मार्ने हुँदा यज्ञस्थल आदिलाई पवित्र गराउन कुशपानी छर्कनुपर्छ । उपनयन संस्कारमा कुशको जनै लगाएर मात्र धागोको जनै लगाइन्छ ।

तीजको व्रतमा महिलाहरू कुशको जनै, कन्दनीका साथै टाउको बाँध्ने गर्दछन् । कुश कहिल्यै बासी हुँदैन । आर्यवर्तका हरेक वर्ण, जाति र लिड्डका मानिसहरूले लगाएर भौतिक र आध्यात्मिक फाइदा लिनुपर्छ । विनाकुशको धार्मिक अनुष्ठान्, जल स्पर्शविनाको दान, मालालाई प्रयोग नगरीकन गरिएको जप संख्या सबै निष्फल हुन्छन् ।

कुशपानीले छर्किएको यज्ञस्थल शुद्ध, आयोजक र उपस्थित महानुभाव शारीरिक र मानसिकरूपले ऊर्जाशील हुन्छन् । त्यसैले नुहाउँदा, होम, जप, दान, स्वाध्याय, पितृकार्य, सन्ध्या, अभिवादनलगायतका कार्य गर्दा दुबै हातमा कुशको पवित्र (औँठी) धारण गर्नुपर्छ । कुशलाई बाह्र घण्टा  पानीमा भिजाएर पिउँदा पिसाब सम्बन्धी समस्या आउँदैन । कुशको पर्दा लगाउँदा हानिकारक किटाणु पस्न सक्दैन । यसैले प्राचीन कालदेखि घरनजिकै कुश रोपिन्थ्यो ।

कुशाग्रैस्तर्पयेद्देवान् मनुष्यान् कुशमध्यत:

द्विगुणीकृत्य मूलाग्रै: पितृन् संतर्पयेद्द्विज: ।।

अर्थात्, “देवतालाई कुशको अग्रभाग (अगाडि)बाट, बीचको भागबाट ऋषिगणलाई र जराबाट पितृहरूलाई तर्पण दिनुपर्छ ।” एकाक्षरीकोशअनुसार ‘‘क’को अर्थ पृथ्वी, ‘श’ को अर्थ सुत्नुहुन्छ । जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ । पृथ्वीलाई सत्यले थामेको छ । कुशमा सत्यताको तागत, चेतना जगाउने शक्ति, पवित्र बनाउने ऊर्जा छ । कुशलाई आध्यात्मिक, व्यावहारिक, बौद्धिक, शारीरिक लाभका लागि अत्यन्त उपयोगी र पवित्रतम मानिएको हुनाले लगाउन र घरमा राख्न आवश्यक छ ।

औँशीले अँध्यारो, अप्ठेरो, सघर्ष आदिलाई बुझाउँछ । यस्तो पक्षबाट जीवनलाई उज्यालो, सजिलो र सृजनशील बनाउन बुबाको आशीर्वाद, मार्गदर्शन र साथ चाहिन्छ । पितृऋणबाट उऋण हुन बुबालाई जीवनभरी साथ दिने र मृत्युपछि श्राद्ध गर्नुपर्छ ।

बुबाका आशीर्वाद पाउनेहरु मानदेवजस्ता शासक बन्छन्, बुबाका साथमा रहनेहरु श्रवणकुमार पुत्र हुन्छन्, बुबाको संकेतअनुसार हिँड्नेहरु पृथ्वीनारायणजस्तै राष्ट्रनिर्माता रुपमा चिनिन्छन् । मातृदेव भव, पितृदेव भवका सिद्धान्तलाई कथनीमा होइन करणीमा उतार्नेहरुले नै बुबाको इतिहास र कुशेऔँशीको महत्वलाई जीवन्त राख्न सक्छन् ।