१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार जग्गा प्रकरणः तीन सयविरुद्ध पक्राउ पूर्जी, पूर्वमन्त्रीहरु भने जोगाइए



अ+ अ-

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा करिब ३ सय जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तीन सयभन्दा बढीविरुद्ध कीर्ते कसुरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गराएको हो । 

सीआईबीले बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँदै यसबारेको प्रतिवेदन केही दिनमै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइने जनाएको छ । 

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई भने जोगिएका थिए । 

सीआईबीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार अभियोगमा मुद्दा दायर गरेका विजयकुमार गच्छदारसहितका पूर्वमन्त्रीहरूलाई प्रतिवादी बनाएको छैन । 

अख्तियारले तीन पूर्वमन्त्रीहरू गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टचार अभियोगमा विषेश अदालतमा मुद्दा दायर गरेको थियो। तीमध्ये विजयकुमार गच्छदार १० लाख, डम्बर श्रेष्ठ ५ लाख धरौटीमा छुटेका छन् भने शोभकान्त ढकाल मात्रै हाल थुनामा छन् ।  

यस्तै, चन्द्रदेव जोशीलाई साधारण तारेखमा छाडिएको छ भने भ्रष्टाचारमा मुद्दा दायर भएपछि विजयकुमार गच्छदारको सांसद पद नै निलम्बनमा छ । 

सिआईबीको सूचीमा करिब ४ सय जना रहेकामध्ये कस–कसविरुद्ध मुद्दा लैजाने भन्ने अन्तिम तयारी भइरहेको सीआईबी स्रोतले जनाएको छ । 

यता, अख्तियारले दुई पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईलाई मुद्धा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । 

उक्त मुद्दाको सुनुवाइ भए पनि सर्वोच्चभित्रै विवाद भएपछि सर्वोच्चले निर्णय सुनाउन सकेको छैन । अख्तियारले अरु ६५ जनासँग जग्गा जफत गर्न माग गरेको छ । 

सो प्रकरणमा मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । 

सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिएको थियो । 

ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । 

सीआईबी उच्च स्रोतका अनुसार हिनामिना भएको सरकारी जग्गामध्ये सबैभन्दा बढी मीनबहादुर गुरुङका नाममा रहेको पाइएको छ । सीआईबीका उच्च अधिकारीका अनुसार भाटभटेनी सुपरमार्केट्सका सञ्चालक गुरुङसँग मात्र ३६ रोपनी जग्गा रहेको पाइएको छ । 

त्यस्तै, डिल्लीबजार मालपोतका तत्कालीन लेखनदास रामकुमार सुवेदी दम्पती र शोभाकान्त ढकालको संयुक्त नाममा २३ रोपनी जग्गा रहेको खुलेको छ ।