१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति विद्या भण्डारी आजदेखि राजनीतिमा थप सक्रिय हुँदै



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि राजनीतिमा थप सक्रिय हुनु हुने भएको छ । नेकपा एमालेले सदस्यता नवीकरण नगरिदिएको भए पनि उहाँले राजनीतिक यात्रालाई थप गतिशील बनाउन लाग्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेका तत्कालीन महासचिव मदन भण्डारी फाउन्डेसनमार्फत आफ्ना गतिविधि अघि बढाउन लाग्नुभएको हो ।

जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसनद्वारा गठित ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय’ को पूर्वराष्ट्रपति भण्डारीले आज उद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा कार्यालय उद्घाटन गर्न लागिएको हो ।

यो कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो आगामी राजनीतिक यात्राका विषयमा समेत जानकारी दिनुहुने बताइएको छ ।

दुई पटक राष्ट्रपति बनिसकेकी भण्डारीलाई फेरि पार्टी राजनीतिमा सक्रिय नबन्न एमालेले सुझाव दिँदै आएको छ । तर उहाँको सक्रियता रोकिएको छैन ।

तीन दिनअघि मात्र कोशी प्रदेशमा पुग्नुभएकी भण्डारीले आफू राजनीतिक यात्रामा अघि बढिसकेकाले पछाडि फर्केर नहेर्ने बताउनुभएको थियो ।

उहाँले गएको असार १४ मै एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । तर एमालेले भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुपर्ने भन्दै सदस्यता खारेज गरिदिएको छ ।

त्यसपछि उहाँले मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय बन्दै आउनुभएको हो ।

विद्याका श्रीमान् एवं दिवंगत नेता मदन भण्डारीको नाममा रहेको फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । फाउन्डेसनले भण्डारीको हीरक जयन्ती भव्यताका साथ मनाउने तयारी गरेको छ ।

फाउन्डेसनले वर्षभरी नै देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसको अगुवाई गर्दै पूर्वराष्ट्रपति भण्डारीले पनि देशव्यापी पुग्ने र आफ्ना गतिविधि बढाउने तयारी गरिरहनुभएको हो ।