काठमाडौँ । सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत गर्नुभएको हो ।
उहाँले समितिमा सांसदहरुले राख्नुभएका धारणा र समितिको निर्देशनअनुसार न्यायिक छानविन समिति बनाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो । सौर्य एयरलाइन्सबारे छानविन आयोगले सेफ्टी अनुसन्धानबारे मात्रै निष्कर्ष निकालेको र न्यायिक निष्कर्ष निकाल्नुपर्ने जरुरी देखिएको बताउनु भयो । न्यायिक छानविन समिति बनाउन मिल्ने हो की होइन भन्नेकुराको निक्र्यौलमा छिटै सरकार पुग्ने पनि बताउनु भयो । बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल हुने पनि बताउनु भयो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘हामीले हवाई नीति बनाउँदैछौँ । अन्तिम चरणमा ड्राफ्ट भएको छ । २०१५ सालको ऐनलाई पनि हामी अब नयाँ मस्यौदा गर्ने क्रममा छौँ । सौर्य एयरलाइन्स दुर्घटना र त्यो दुर्घटनाले उजागर गरेका विषयवस्तु र दिगो समाधानका बारेमा धेरै पटक छलफल गरिसकेका छौँ । मेरो बुझाइ के छ भने सेफ्टी इन्भेष्टीगेसन जुन भएको र न्यायिक विषयसँग सम्बन्धित केही कन्ट्यारडिक्शन छ की भन्ने जस्तो किसिमले हामी छलफलमा अघि बढेका छौँ । हाम्रो मन्त्रालय र मन्त्रालयसँग जोडिएको क्यान, छानविन समिति साधन श्रोतको कमी छ । कतिपय छानविनका लागि विदेश जानुपर्छ । तर पनि काम गर्नुभएको छ । उहाँहरुसमेतलाई राखेर काम गर्नुपर्छ । न्यायिक छानविन समिति बनाउन मिल्ने हो की होइन भन्नेकुराको निक्र्यौलमा पुग्ने, बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल गर्दछौँ । यत्तिकै यसलाई छोड्नु हुँदैन, निष्कर्षमा पुग्नुपर्छ । निष्कर्षमा पुगेर अघि बढौँ ।’
मन्त्री पाण्डेले प्रश्न उठिसकेपछि यत्तिकै छोड्न नहुनेमा सरकार सचेत रहेको बताउनु भयो ।










