१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

कमजोर व्यवस्थापन हुँदा संक्रमणको जोखिममा उपत्यका

कमजोर व्यवस्थापन हुँदा संक्रमणको जोखिममा उपत्यका
अ अ+ अ-

काठमाडौँ । सुनसरीको झुम्काबाट सोमबार मोटरसाइकलमा काठमाडौं आएकी एक युवतीको स्वाब परीक्षण गराउँदा कोरोना भएको पुष्टि भयो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार सुरु भएको छ ।  गाउँबाट आएकी उनी ठिमीको शंखधर चोकको यचु पार्टी प्यालेससँगैको एक घरमा साथीको कोठामा बसेकी थिइन् । कुनै लक्षण नभए पनि उनी कार्यरत अस्पतालले काममा फर्कनुअघि परीक्षण गर्न पठाउँदा संक्रमण देखिएको हो । त्यस्तै, काठमाडौंको चन्द्रागिरि, मच्छेगाउँ बस्ने एक युवतीमा मंगलबार संक्रमण देखियो । उनी सोमबार कञ्चनपुरको वेदकोट नगरपालिका–१०, हरपालबाट काठमाडौं आएकी थिइन् । चैत पहिलो साता काठमाडौंबाट गएकी उनी सशस्त्र प्रहरीको गाडीमा फर्किएकी थिइन् । उनका पति सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत छन् । उनले श्रीमतीलाई परीक्षण गराउन सशस्त्रको बलम्बुस्थित अस्पताल लगेका थिए । परीक्षण क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएका भक्तपुर, दुवाकोटका पुरुष पनि रामेछापबाट काठमाडौं आएको पाइएको छ । नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानमा संक्रमण पुष्टि भएको हो ।

रावलका स्वकीय सचिव गोविन्द दुलालका अनुसार श्रीमती बिरामी भएपछि बिदामा गएका उनी एक महिनापछि फर्किएका थिए । रावलको सुरक्षामा खटिन लागेका उनलाई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको हो । ‘तीनै जनामा कुनै लक्षण नभए पनि परीक्षण गर्दा कोभिड–१९ पुष्टि भएको छ,’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा कडाइ नगरिएकै कारण संक्रमित व्यक्ति सहजै प्रवेश गरिरहेका छन् । उनीहरूकै कारण उपत्यकामा जोखिम उच्च भयो ।’ यी तीन जनाको सम्पर्कमा आएका सबैको ट्रेसिङ भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘संक्रमित बसेको क्षेत्र सिल गरिसकेका छौं,’ भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले भने, ‘ट्रेसिङ पनि जारी राखेका छौं ।’

काठमाडौं उपत्यकामा लकडाउन हुँदा पनि पालना नगरी हुलका हुल सडकमा निस्कने गरेका थिए । पछिल्लो तीन दिनयता सडक जाम हुने गरी निजी गाडी र मोटरसाइकल सञ्चालन भइरहेको छ । सरकारी कार्यालय पनि नियमितजस्तै सञ्चालन हुन थालेका छन् । काठमाडौं उपत्यका छिर्ने नाकाहरूमा पहुँच हुनेहरूले जिल्ला प्रशासनबाट ल्याएका पास देखाएका आधारमा प्रवेश पाइरहेका थिए । कर्मचारी, सुरक्षाकर्मी र पत्रकार आफ्नो परिचय देखाएकै आधारमा नाकाबाट सहजै काठमाडौं आइरहेका थिए । काठमाडौंमा उद्योग, पसल, कार्यालय नियमित जस्तै सञ्चालन हुन थालेपछि बाहिर संक्रमित जिल्लाका सर्वसाधारण भने लुकीछिपी काठमाडौं आइरहेका थिए । ‘पछिल्लो तीन संक्रमण त्यसैको परिणाम हो, उपत्यकाभित्रै भएका र बाहिरबाट आएका मान्छे पनि पछिल्लो समय घुलमिल भइसकेका छन् । त्यसैले संक्रमितको संख्या अझै बढ्न सक्छ,’ राजभण्डारीले भने, ‘यतिसम्म कि नक्कली बिरामी बनेर एम्बुलेन्ससमेत रिजर्भ गरेर काठमाडौं भित्रिए । कर्णालीबाहेक सबैतिर कोरोना फैलिएको छ । नाकामा कडाइ नगर्दाको परिणाम काठमाडौंमा हामीले कोरोना भित्र्यायौं ।’

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको नागढुंगा, फर्पिङ, भक्तपुरको जगाती, नालालगायत नाकाबाट २४ घण्टामा सात हजार जना भित्रिएको रेकर्ड छ । लुकीछिपी आउनेको तथ्यांक प्रहरीसँग छैन । यसै विषयमा टिप्पणी गर्दै जनस्वास्थ्यविद् समीरमणि दीक्षितले ट्वीटमा लेखेका छन्, ‘संक्रमण यसरी भित्रिरहेको छ, घनाबस्ती भएको सहरमा । उपत्यकावासी चाहिँ अनिश्चितकालीन लकडाउन मान्दै बस्ने ? राज्य अहिले पनि के हेरेर बसिरहेको छ ?’ गृहसचिव महेश्वर न्यौपानेले उपत्यकाबाहिरबाट समेत बसमा आउन थालेपछि रोकेर कडाइ गरेको दाबी गरे । ‘लकडाउनमा स्थानीय तहको सिफारिसमा सार्वजनिक सवारीमा यात्रु ल्याउन र लैजान थालेपछि त्यसलाई रोक्यौं, नाकामा थप कडाइ गर्‍यौं,’ उनले भने, ‘अबदेखि पास वितरणमा समेत कडाइ गरिसक्यौं ।’ काठमाडौं उपत्यका प्रवेश गर्न गृह मन्त्रालयको सहमति आवश्यक पर्ने निर्णय कार्यान्वयनमा ल्याइसकेको उनले बताए ।

सरकारले लकडाउन गरे पनि वैशाख ११ देखि २४ सम्मको अवधिमा मात्रै ३० हजार ९० सवारीसाधनमा ७९ हजार ७ सय जना र ७ सय ६१ जना पैदलै उपत्यका भित्रिएको देखिन्छ । ‘उनीहरू कसैलाई पनि क्वारेन्टाइनमा राखिएको छैन,’ महानगरीय प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘अनि कोरोना फैलिँदैन त ?’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको बिफ्रिङअनुसार वाग्मती प्रदेशमा ४ हजार ७ सय ६३ बेडको क्वारेन्टाइन भए पनि १ सय ११ जना मात्रै क्वारेन्टाइनमा छन् ।

एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश जानेबित्तिकै क्वारेन्टाइनमा राख्नुपर्ने प्रावधान कार्यान्वयन नगर्दा उपत्यकामा संक्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् । खाद्यान्न, तरकारी, इन्धनलगायत अत्यावश्यक सामग्रीका गाडी आउन दिइए पनि यति धेरै संख्यामा सवारी आउजाउ हुनुले लकडाउन कार्यान्वयन फितलो रहेको प्रस्ट हुन्छ । यसरी बाहिरी जिल्लाबाट आउनेलाई क्वारेन्टाइनमा नराखेकै कारण उपत्यका कोरोनाको थप जोखिममा परेको जनस्वास्थ्यविद् दीक्षितले बताए । ‘एक जिल्लाबाट अर्को जिल्ला जानेबित्तिकै क्वारेन्टाइनमा बस्नुपर्छ है भनेर कार्यान्वयन गरिदिएको भए यतिका मान्छेको आउजाउ हुँदैनथ्यो,’ उनले भने, ‘नाकामा जो आउँछ, उसको स्वाब निकालेर परीक्षणका लागि पठाउने र रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा राख्ने गर्नुपर्थ्यो । अझै पनि जो आउँछन्, त्यसै गर्नुपर्छ ।’ लुकीछिपी आउनेलाई पनि स्थानीय तह र घरबेटीको सहायतले यही व्यवस्था तत्काल गर्नुपर्ने उनले बताए । ‘अब गाउँबाट जति फर्केका छन्, उनीहरूको स्वाब परीक्षण गर्न ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।

सरकारले हरेक स्थानीय तहले क्वारेन्टाइन बनाउनुपर्ने निर्णय गरे पनि काठमाडौं प्रवेश गर्ने नाकामा क्वारेन्टाइन नभएको प्रहरीले जनाएको छ । ‘ज्वरो आएका सामान्य बिरामीलाई आराम गराउने ठाउँसमेत छैन, क्वारेन्टाइनको कुरा त ढाटाको विषय हो,’ नागढुंगा नाकाका एक प्रहरीले भने ।

किट अभावले न्यून परीक्षण

घरबेटी र कार्यालयको दबाबमा उपत्यकाबाहिरबाट आएकाहरू कोरोना परीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गर्छन् । तर, किट अभाव र ट्राभल हिस्ट्रीलाई आधार मानेर अस्पतालले स्वाब परीक्षणबिनै फर्काउने गरेको छ । बुधबार अस्पतालमा ५ सय जना पुगे पनि ३ सय ५० को मात्रै स्वाब संकलन भएको छ । ‘संक्रमित नभएको जिल्लाका व्यक्ति काठमाडौं आएका छन् भने हामीले स्वाब लिनु जरुरी देखेका छैनौं,’ उनले भने, ‘संक्रमण फैलिएका जिल्लाबाट आएको र कोरोनाको लक्षण छ भने मात्रै स्वाब लिने गरेका छौं ।’ सातायता दैनिक एक सयभन्दा बढी व्यक्ति कोरोना परीक्षण गराउन अस्पताल पुगे पनि लक्षण नभएको भन्दै फर्काइरहेको छ ।

जनस्वास्थ्यविद् दीक्षितले परीक्षणको दायरा कम भएकै कारण उपत्यकामा कोरोना संक्रमण न्यून देखिएको उनले बताए । उपत्यका बाहिरको नमुनासहित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालले १० हजार नौ सय २७ जनाको परीक्षण गरेका छन् । यसबाहेक वीर अस्पतालमा १ सय ८८ र पाटनमा ५३ जनाको स्वाब परीक्षण भएको छ ।

खुकुलो लकडाउन

काठमाडौंकी एक युवतीमा चैत ९ मा कोरोना संक्रमण देखियो । कतारको दोहा हुँदै चैत ४ मा नेपाल आएकी उनमा कोरोना देखिएसँगै त्रास सुरु भयो । त्यसअघि पनि एक युवामा कोरोना देखिएको थियो तर खासै चर्चा भएन । यी युवतीलाई कोरोना देखिएपछि चैत ११ देखि मुलुकभर एक साताका लागि लकडाउन गरियो । काठमाडौंमा कोराना देखिएपछि त्रसित भएर पुर्ख्यौली गाउँ र थातथलो फर्कनेको लर्को नै लाग्यो । उपत्यकाबाहिर जाने सवारीले पनि जिल्ला प्रशासनबाट पास बनाएर गुडाए । काठमाडौं आउन पनि डराउन थाले । सरकारले चौथोपटक वैशाख १५ सम्म एक साता लकडाउन थपेपछि स्थानीय तहले नै घर फर्कन चाहनेलाई काठमाडौंबाट गाडी पठाएर लैजान थाले । स्थानीय तहले सम्बन्धित जिल्लाबाटै गाडी पठाए । त्यो गाडीमा काठमाडौंबाट मात्रै बाहिरिएनन्, काठमाडौंमा रहेकालाई लिन आउने सवारीले यात्रु पनि ल्याए । त्यसको रेकर्ड न प्रहरीसँग छ न त काठमाडौं उपत्यकाको स्थानीय तहसँग ।

उपत्यकामा पनि पास नभएका सवारी नियन्त्रणमा लिएकै आधारमा लकडाउन खुकुलो भएको पुष्टि हुन्छ । बुधबार पनि एक हजार २ सय १५ वटा सवारी नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दैनिक सरदर ५ सय सवारी नियन्त्रणमा लिने गरिन्छ । कान्तिपुर दैनिक