१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीले बनाउन खोजेको राजनीतिको बाटो



अ+ अ-

काठमाडौं । आफ्नो पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै तरिकाले नयाँ अभियान सुरु गर्नुभएको छ । एमालेले सदस्यता नवीकरण नगरे पनि आफू एमाले कार्यकर्ता नै भएको भन्दै भण्डारीले अभियानलाई तीव्रता दिनुभएको हो ।

राजनीतिक सक्रियता बढाउँदै एमाले नेतृत्वमाथि दबाब सिर्जना गर्न उहाँले फरक रणनीति अबलम्बन गर्नुभएको हो । पार्टी गतिविधिमा संलग्न नहुन भनेर एमालेले भण्डारीलाई सुझाव दिइरहेको छ । तर भण्डारी भने एमालेको सुझावलाई बेवास्ता गर्दै राजनीतिक गर्ने आफ्नो अधिकार भएको जिकिर गरिरहनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले अब एमालेको राजनीतिमा फर्कन आफ्नो बाटो आफैं तय गरिरहनुभएको हो । धेरैभन्दा धेरै कार्यकर्तामाझ पुगेर आफ्नो पक्षमा माहोल सिर्जना गर्ने र नेतृत्वलाई दबाब दिँदै राजनीतिमा बलियो स्थान हासिल गर्ने उहाँको सोच छ । त्यही कारण त उहाँले अहिले विभिन्न सार्वजनिक मञ्चहरुमा सहभागिता जनाउँदै आउनुभएको छ ।

हिजो मात्रै विराटनगर पुगेर सार्वजनिक मञ्चबाटै आफू एमालेको सदस्य भएको र सक्रिय राजनीतिमा लागिसकेको घोषणा गर्नुभयो । उहाँले पार्टी गतिविधिमा संलग्न हुन संविधानले रोक नलगाएको भन्दै एमालेले सदस्यता नवीकरण नगर्ने निर्णयलाई पुनर्विचार गर्ने अपेक्षा पनि उहाँले गर्नुभयो ।

भण्डारीले भदौ ५ गतेदेखि अझ सशक्त कार्यक्रम अघि बढाउँदै हुनुहुन्छ । जनताको बहुदलीय जनवादी सिद्धान्तका प्रतिपादक मदन भण्डारीको ७५ औं जन्मजयन्ती कार्यक्रममा भदौ ५ गतेदेखि उहाँले थप सक्रियता बढाउने बताइएको छ । त्यस दिन काठमाडौंको नयाँबानेश्वरमा मदन भण्डारी फाउन्डेसनले गर्ने कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विशेष घोषणा गर्नुहुने छ ।

लगत्तै भण्डारी वीरगन्ज जाने कार्यक्रम तय भएको छ । त्यसपछि आवश्यकताअनुसार जिल्लाजिल्लामा पुग्नुहुने उहाँले आफ्नो राजनीतिको बाटो आफैं तय गर्न लाग्नुभएको हो ।

एमालेले पार्टी पुनरागमनमा रोक लगाउने गरी राजनीतिक निर्णय लिएपछि पूर्वराष्ट्रपति भण्डारीले त्यसको प्रतिवाद गर्दै अघि बढ्न लाग्नुभएको हो ।

यता, पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने निर्णय गरेसँगै तल ध्रुवीकरण नबढोस् भनेर अध्यक्ष केपी शर्मा ओली प्रदेश इन्चार्ज र केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफलमा हुनुहुन्छ ।

भण्डारीका पक्षमा खुल्ने वातावरण नबनोस् र केन्द्रीय कमिटी बैठकको निर्णय फरक ढंगले नजाओस् भनेर उहाँले केन्द्रीय सदस्यका लागि बालुवाटारको ढोका खुला राख्नुभएको छ ।

ओलीको कठोर कदमबाट विचलित नहुने सन्देश दिएकी भण्डारी पनि निरन्तर आफूनिकट नेता र केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहनुभएको छ ।

केन्द्रीय कमिटीले गरेको निर्णय विधान महाधिवेशनमा उल्ट्याउने गरी भण्डारीले छलफल अघि बढाउनुभएको हो ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । महाधिवेशनमा पेश हुने विधानको मस्यौदालाई अन्तिम रुप दिन अहिले पार्टीका तल्लो तहमा छलफलका लागि पठाइएको छ । त्यो छलफलमा समेत एमालेका नेताहरु ओली र विद्याको पक्षमा विभाजित भएका छन् ।

विधानको धारा १५ अनुसार दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै दोस्रो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् । दसौं महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि थिए । त्यसमध्ये केहीको मृत्यु भएको र केहीले पार्टी छाडेर गएको घटाउँदा दुई हजार हाराहारी प्रतिनिधि हुने अनुमान गरिएको छ ।

केन्द्रीय कमिटीमा विभिन्न हिसाबले मानिस मुखर नभए पनि विधान महाधिवेशनमा प्रतिनिधिले विद्याको पक्षमा कुरा राख्ने तयारी गरेका छन् ।

त्यसपछि एमाले नेतृत्वमा दबाब बढ्ने र आफ्नो राजनीतिक यात्रा अघि बढ्ने अपेक्षा भण्डारीको छ ।