१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलास्कामा ट्रम्प र पुटिनबीच किन जुटेन सहमति ? के-के भयो ? (फोटो फिचरसहित)



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक वार्ता सम्पन्न भएको छ । रुस–युक्रेन युद्ध अन्त्यको पहलका लागि दुई नेताबीच वार्ता भएको हो । वार्ता सकारात्मक भए पनि कुनै सहमति भने जुटेको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको बताएका छन् । वार्ता उपलब्धिमूलक भएको बताए पनि वार्तामा कुनै सम्झौता नभएको उनको भनाइ छ ।

अलास्कामा तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमारुसी राष्ट्रपति पुटिनले आफू युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । त्यसबाहेक उनले थप कुरा बताएका छैनन् ।

पुटिनले यो युद्धको मूल कारणको पहिचान हुनु आवश्यक रहेको बताएका छन् । उनले आफू युद्ध अन्त्यका लागि सचेत रहे पनि युक्रेन र युरोपेली देशदेशलाई यो प्रक्रिया नबिथोल्न चेतावनी दिएका छन् ।

उनले शान्ति स्थापनाका लागि सुरुवाती बिन्दुको रूपमा यो बैठक रहने बताए । ट्रम्पले धेरै कुरामा एक आपसमा सहमति भए पनि केही कुरा मिल्न बाँकी रहेको बताए । तर, उनले यसलाई बुँदागत रूपमा भन्न चाहेनन् ।

ट्रम्पले यस विषयमा जेलेन्स्की र युरोपेली नेतालाई जानकारी गराउने बताए । उनले रुसी समकक्षीलाई फेरि भेट्ने आशा गरेका छन् । त्यो भेट मस्कोमा हुनसक्ने छ ।

पुटिनको नेतृत्वमा रूसी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभ, रक्षा मन्त्री आन्द्रेइ बेलोउसभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, क्रेमलिन सल्लाहकार युरी उशाकोभ, र राष्ट्रपति आर्थिक दूत किरिल दिमित्रिएभ रहेका थिए । जसले युक्रेन युद्ध समाधान प्रक्रियामा प्रमुख भूमिका खेलेका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार, अमेरिकी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री मार्को रुबियो, सीआईए निर्देशक जोन राटक्लिफ, युक्रेन र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसन्ट, र वाणिज्य मन्त्री हावर्ड लुटनिक छन् ।

यसअघि अलास्कामा वार्ता गर्न पुगेका रुसी राष्ट्रपति पुटिनलाई अमेरिकी राष्ट्रपति ट्रम्पले अलास्काको विमानस्थलस्थित रनवेमै पुगेर स्वागत गरेका थिए ।

ट्रम्प एयर फोर्स वनमार्फत पुटिनभन्दा केही समयअघि बेसमा पुगेका थिए । रेड कार्पेटको अन्त्यमा ‘अलास्का २०२५’ लेखिएको ठूलो बोर्ड राखिएको थियो । रेड कार्पेटको दुवैतर्फ चारवटा अमेरिकी लडाकु विमान पार्क गरिएको थियो ।

पुटिन योसहित आठौँ पटक अमेरिका पुगेका हुन् । तर यसपटक उनी करिब एक दशकपछि अमेरिका भ्रमणमा गएका हुन् । उनी अन्तिम पटक सन् २०१५ मा अमेरिकामा आएका थिए । त्यसबेला उनले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर तत्कालीन राष्ट्रपति बाराक ओबामासँग वार्ता गरेका थिए ।

फोटोहरु : एपी