काठमाडौंं । फोटो देखिएको दृश्य मात्र होइन । खिचिएको, नखिचिएको फोटोभित्रै लुकेका हुन्छन् कयौँ अदृश्य भावनाहरू । जसलाई क्यामेराको लेन्स र मानिसको मनले राम्ररी छुट्याउन सक्छ । सायद त्यसैले होला हजार शब्दले वर्णन गर्न कठिन हुने भाव एउटा फोटोले स्पष्ट पारिदिन्छ भनेको ।
कतिपय तस्वीरहरु यस्ता हुन्छन् हेर्ने बित्तिकै आहा भाव उत्पन्न हुन्छ । त्यसमा पनि वाइल्डलाइफ फोटोले त झनै प्रकृतिसँगको समिपमा पुर्याउँछ । यही प्रकृतिसँग सामीप्य खोज्दै मुसीकोट नगरपालिका–१ का विनय रावलले वाइल्डलाइफ फोटोग्राफीलाई आफ्नो कर्म बनाएका छन् ।
जंगल जस्तै देखिने पोसाकमा ठूल्ठूला क्यामरा बोकेर उनी विभिन्न राष्ट्रिय निकुञ्जतिर घुमिरहेका भेटिन्छन् । जहाँ उनको भेट हिंस्रक जंगली जनावरसँग हुने गर्दछ । वाइल्डलाइफ फोटोग्राफी भनेको दौडधुपको खेल होइन, बरु यो प्रतीक्षाको कला हो । यस्तै क्षणको पर्खाइमा घण्टाैं कुरिबस्छन् विनय, र कहिलेकाहीँ एउटै फ्रेमको लागि लामो प्रतीक्षामा बिताउँछन् ।
विनयले खिचेको फोटो हेर्दा लाग्छ उनको लेन्सले बाघको गहिरो नजरलाई भयको रूपमा होइन आत्मविश्वासको प्रतीकका रूपमा प्रस्तुत गर्छ । उनको क्यामेरा लेन्सले पनि त्यही भन्छ । रहरै रहरमा यस क्षेत्रमा लागेका विनयले अहिले आफ्नो भविष्य अब यसैमा देखेका छन् । हाल बर्दिया राष्ट्रिय निकुञ्जमा डुलिरहेका रावलले न्यूजपोलारसँग भने “अब व्यावसायिक रूपमै फोटो खिच्न थालेको छु । सँगसँगै यहाँ आएका पर्यटकलाई वन र वन्यजन्तुका बारेमा पनि जानकारी गराउँछु ।”
उनी भन्छन् “वाइल्डलाइफ फोटोग्राफीका लागि साहस र धैर्य दुवै चाहिन्छ, त्यो अब मसँग छ । यसैकारण पनि मैले आफ्नो रहरलाई धैर्यताका साथ कायम राख्न सकेको छु ।” उनको प्रत्येक फोटोमा एउटा कथा हुन्छ— कहिले संकटग्रस्त प्रजातिको संरक्षणको सन्देश, कहिले मानव र प्रकृतिबीचको नाजुक सन्तुलनको स्मरण ।
पछिल्लो समय मानव र वन्यजन्तु बिचको द्वन्द्व तथा आफैँ शिकार गरेर बाच्ने वन्यजन्तु संकटमा परेको भन्दै विनयले भने ‘प्रकृति सुरक्षित रहे न यहाँ रहेका हामी सबै जीवात्माहरू सुरक्षित हुन्छौँ । यसकारण वन–वातावरणको संरक्षण एकदम जरुरी छ ।’
विनयको अनुभव छ “अहिले वन र वन्यजन्तु देखेर मान्छे डराउने तर मौका पाएपछि मास्न लाग्ने अवस्था छ । तर एकअर्कामा मैत्रीपूर्ण सम्बन्ध जरुरी छ । गर्न खोज्दा यो सम्भव पनि छ । यसका लागि मान्छेमा वन्यजन्तुप्रति प्रेमभाव हुनुपर्यो । यही भावले सबै सम्भव छ ।’ विनयका तस्बिर विनयी छन् । यसले सबैमा विनय भाव राख्छ र भन्छ कि मानव र वन्यजन्तुबीचको सद्भाव विनयशीलताबाटै सम्भव छ ।
वाइल्डलाइफ फोटोग्राफर विनयले वनजंगल भित्रका अनेक जीवजन्तुका सुन्दर तस्बिर खिचेका छन् । तर यहाँ उनले खिचेका बाघको तस्वीरहरु प्रस्तुत गरिएको छः


























