२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुन: सक्रिय भएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल)ले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ ।

एमसिए नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको छ ।

संयुक्त लागत १५ दशमलव ४५ करोड अमेरिकी डलर रहेका यी सम्झौताअन्तर्गत एक सय ८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम हुनेछ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, एमसिसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीहरूको समुपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

“यी सम्झौतामा हस्ताक्षर गरी एमसिसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुन:पुष्टि गरेको छ”, एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भन्नुभयो, “नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।”

अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सबस्टेशनहरू निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सराहना गर्नुहुँदै यस कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने बताउनुभयो ।

“आज भएको निर्माण सम्झौता एउटा उपलब्धिमात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक हो”, नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भन्नुभयो, “यस साझेदारीमार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधारमात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौँ । एमसिसी कम्प्याक्ट नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको आधारशिला हो । सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्न सँगै अगाडि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौँ ।”

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले कम्प्याक्टलाई अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको सराहना गरिएको बताउनुभयो । यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ । हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित रहेको उहाँको कथन छ ।

एमसिसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको ऐतिहासिक लगानी हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउन एमसिसी नेपाल कम्प्याक्ट तयार गरिएको हो । रासस