काठमाडौं: हिजोदेखि नेपालका सामाजिक सञ्जालमा एउटा बहस बडो जोडतोडका साथ उठेको छ एकजना चिकित्सक रामेश कोइरालाले देश छोडे भनेर । उनले उपकुलपति पदमा नियुक्ति चहन्थे रे, नपाएपछि अमेरिका पुगेर राजीनामा पठाए रे । चर्चाको विषय यही हो ।
यसको निकै चोटिलो र छोटो मिठो जवाफ दिएका छन् राप्रपाका नेता रविन्द्र मिश्रले । आफ्नो फेसबुक स्टाटसमा उनी लेख्छन् ‘वास्तवमा यो स्थिति आउनमा तपाइँहरु जस्ताको चरम राजनीतिक आग्रह त्यत्तिकै जिम्मेवार छ ।’
देश छोडेर पलायन भएको विषयलाई पनि संसारै छोडेजस्तो गरी उनले अरुले जस्तो लेखेका त छैनन्, तर फेसबुकमा सामान्य दुःख मनाउ भने गरेका छन् । आफूलाई फेसबुकमा तुच्छ शब्दमा तथानाम र भ्रामक कुरा लेखेर हैरान पारेपछि ब्लक नै गर्नुपरेको तथ्य पनि उनले खुलाएका छन् ।
गंगालाल अस्तालका मुटु रोगका यी चिकित्सकले बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपति चाहेका र त्यो नपाएपछि देश छोडेको कुरा आएको छ । उनले आफूले देश छोडेको कुरा फेसबुकमा लेखेका छन् र राजीनामा पनि फेसबुकमै राखेका छन् । तर पनि उपकुलपति नपाएको कुरा भने आफूले लेखेका छैनन् दोस्रो पटक पनि उनलाई त्यो नियुक्ति नदिइएको कुरा समाचारमा लेखाएका छन् ।
रविन्द्र मिश्रले भनेजस्तै यो स्थिति आउनमा के चरम राजनीतिक आग्रह नै हो त ? उनले पालेको चरम राजनीतिक आग्रह वास्तवमा उनको सामाजिक सञ्जालमा पनि स्पष्टसँगै देखिन्छ । अहिले उनका बारेका प्रतिक्रियाहरु मानिसहरुले दिइरहेको हेर्दा थाहा हुन्छ कि उनले यतिधेरै ट्वीटमा लेखिरहँदा विरामीको उपचार कुन बेला गर्थे ?
राप्रपाकै अध्यक्ष राजेन्द्र लिङदेन आफूलाई सामाजिक सञ्जालबाट रामेशले हैरान पारेको भनेका छन् भने आज बिहानदेखि रवि लामिछानेको एउटा पुरानो भिडियो आएको छ कि उनले रामेशले आफ्ना विरुद्धमा लेखेर दुःख दिएको कुरा पत्रकार सम्मेलन गरेरै जानकारी गराएका रहेछन् ।
अरु त भैगए राजनीतिक नेताहरु, डा रामेशले आफ्नै सिनियर चिकित्सक डा जागेश्वर गौतमलाई पनि के गरेका रहेछन् भन्ने कुरा उनी आफैँले ट्वीटरमा लेखेका छन् । आफू निर्देशक हुँदा स्वास्थ्यमन्त्री गगन थापासँग प्रसुती गृहको सबै सर्जरी फ्रि गर्ने योजनामा बनाएको र त्यो हुन नदिनेमा यिनै रामेश रहेको पनि उनले उल्लेख गरेका छन् । प्रत्यक्ष रुपमा उनले नभने पनि आफूले त्यसपछि राजीनामा दिएको र त्यसको साक्षी रामेश रहेको डा गौतमले बताएका छन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लेखेका ट्वीट पढ्दा पनि भान त्यस्तै हुन्छ । तीमध्येका केही यहाँ प्रस्तुत गरिएका ट्वीटहरु हेर्दा लाग्छ देउवाले केही कुरा मिडियामा बोले कि त्यसको प्रतिवादमा एउटा ट्वीट गरिहाल्दा रहेछन् । त्यो पनि निकै तुच्छ भाषामा र एउटा चिकित्सकको जस्तो मान मर्यादा पनि नराखेरै ।
स्वभावैले देउवा धेरै भाषण गर्दैनन्, नत मिडियामा अन्तर्वार्ता दिन नै खासै रुची राख्दछन् । तर पनि देउवा जति बोलेका छन् त्यो भन्दा बढी उनले ट्वीटमा एक हिसाबले गाली गलौज नै गरेका छन् । तर पार्टी सभापतिलाई यसरी लेख्दा पनि महामन्त्री गगन थापाका बारेमा भने उनले बखानै गरेका हुन्छन् । तर तिनै रामेशलाई आफैँ स्वास्थ्यमन्त्री हुँदा पनि गगन थापाले उपकुलपति बनाएका थिएनन् । समाचार स्रोत भन्छ वर्तमान स्वस्थ्यमन्त्री प्रदीप पौडेल पनि उनलाई उपकुलपति बनाउने पक्षमा थिएनन् । मन्त्री पौडेल र रामेश साथी हुन्, त्यसैले रामेशले औपचारिक बैठकहरुमै धेरैका अगाडि मन्त्रीलाई तिमी भनिदिन्थे । यसले प्रदीपलाई अप्ठेरो महसुस हुने गरेको थियो ।
पार्टीका सभापतिमाथि यो हर्कत गर्ने अनि उनैले नियुक्ति दिएनन् भनेर समाचार लेखाउने र देश छोड्ने कति तर्कपूर्ण काम हो ? हुनत सबै चिकित्सकले राजनीति नै गर्नुपर्छ भन्ने छैन, यो देशमा कैयौँ प्रतिष्ठित र नाम चलेका चिकित्सक छन् दशकौँदेखि देश र नागरिकको सेवा गरेका, तर उनीहरुको पार्टी कुन हो भन्ने कुरा आजका दिन सम्म पनि खुलेको छैन ।
यसो भनेर मैले रामेशको राजनीतिक अधिकार माथि कुनै प्रश्न गरेको होइन, गर्न पनि मिल्दैन । उनले कांग्रेस पार्टी रोज्न पाउँछन् रोजे । तर यदि पार्टीमै बस्ने हो भने त त्यही पार्टीका अध्यक्षलाई सामाजिक सञ्जालमै गालीगलौज गर्न पाइएला र ? यसो गर्न पाइने विधानको व्यवस्था कुनै पार्टीमा पनि छैन । अनि पार्टीका अध्यक्ष या प्रमुख व्यक्तिलाई गालीगलौज नै गर्ने अनि फेरि कतिपय पदाधिकारीलाई चाहिँ हाइहाइ गर्ने उनको संस्कारलाई कसरी अर्थ लगाउने ?
उनले हिजो अमेरिकाबाट राजीनामा पठाउँदा मेरो दिमागमा एउटा जिज्ञासा जन्मिएको छ कि आज सन्दुक रुइत, भगवान कोइरालाहरुले पनि यसरी पदका लागि राजीनामाको बार्गेनिङ या सौदाबाजी गरेको भए उनीहरुको उचाइ के यहाँसम्म पुग्थ्यो त ?
सम्झिन्छु रामेशले काठमाडौँको मुटुमा रहेको मुटुरोग अस्पतालमा सरकारी जागिर खाँदै ट्वीट गरिरहँदा सन्दुकले भने ताप्लेजुङ, तेह्रथुम, खोटाङतिरका विकट गाउँहरुका बृद्धबृद्धाहरुका आँखामा ज्योति भरिरहेका हुन्थे । तर आजको वास्तविकता यो को कि उनीहरु कहिल्यै सरकारी जागिर या नियुक्तिको मोलमोलाई गरेनन् । नत, यो वा त्यो पद नदिने हो भने देश छोड्छु पनि भनेनन् ।
सन्दुक र भगवानहरु अमेरिका नभास्सिएर पनि देशको सेवा गरिरहेकै छन्, उनको कद झन् बढेको छ, घटेको छैन । सेवा गर्ने ठाउँ देशमा धेरै छन् जहाँ चित्रप्रसाद वाग्ले जस्ता चिकित्सकहरु पनि घरगाउँमै पुगेर नागरिकका मनमुटुको सेवा गरेका थिए । खै, उनीहरुलाई कहिल्यै रामेशलाई जस्तो देश छोड्न मन लागेन नत सरकारी जागिरको अवसरकै पछि लागे ।
देशको माया हुनेले अहिले विदेशमा भएका प्रतिभाहरुलाई स्वदेश फर्किन सन्देश दिने हो, तर पनि मैले त देश छोडेँ तैँले पनि छोड् भन्ने जस्तो आसयले विदेशबाट राजीनामा पठाउने होइन । उनले दिन खोजेको सन्देश देश बनाउन युवाहरुलाई स्वदेशमै रहनु भन्ने हो कि अरु नै केही हो ? मैले बुझ्न सकेको छैन ।
अनि नेपाली समाजले पनि विदेशिएकाको हाइहाइलाई यसैगरी ललकार्ने कि देशभित्रै भविष्य छ भन्ने ? रामेश कसरी लखेटिएका हुन् र ? उनी सरकारी अस्पतालका जागिरे होइनन् र ?
नियुक्ति भन्ने कुरा त मागेजति र आफूलाई चाहिएजति उनले मात्र होइन अरुले पनि पाएका छैनन् । त्यसैले त थप अर्थात् अतिरिक्त पद नपाउँदैमा समाचार लेखाएर विदेशबाटै राजीनामा पठाउने उनको प्रवृत्ति मन नपराउने पनि सामाजिक सञ्जालमा धेरै देखिएका छन् ।










