१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध



अ+ अ-

कञ्चनपुर । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य दुर्लभ थियो ।

“टाउको झोक्राएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरेका थियौँ”, सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीले भन्नुभयो, “गिद्धको अवस्था हेर्दा बाँच्लाजस्तो लागेकै थिएन, उपचारसँगै स्याहारसुसार र आहारमा ध्यान दिइएपछि तन्दुरुस्त भयो ।”

गिद्धलाई निकुञ्जको सुरक्षित स्थानमा लगेर छाड्दा दुई–तीन पाइला हिँड्दै उडेको देखेर निकै खुसी लागेको उहाँले बताउनुभयो । “उडेको दृश्य निकैबेर नियाल्यौँ”, उहाँले भन्नुभयो, “केही बेरको उडानपछि गिद्ध अस्नाको रुखमा पखेटा फिँजाउँदै बसेको दृश्य क्यामेरामा कैद गर्न भ्यायौँ ।”

सामुदायिक वनका पदाधिकारीले वन क्षेत्रमा गत साउन १९ गते बिरामीको अवस्थाको गिद्ध देखापरेपछि डिभिजन वन कार्यालय कैलालीमा खबर गरेका थिए । त्यसपछि गिद्धको उद्धार गरी उपचार गरिएको थियो । बिरामी परेको गिद्धको बर्दिया राष्ट्रिय निकुञ्जस्थित प्रकृति संरक्षण कोष (एनटिएनसी) का भेटेरिनरी चिकित्सक विकल्प कार्कीसहितको टोलीले आठ दिनसम्म उपचार गरेका हुन् ।

पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट प्राकृतिक विचरणका लागि उडेको गिद्ध भारतका विभिन्न बस्ती हुँदै कैलालीको लम्की पुगेर बिरामी परेका अवस्थामा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चरा विज्ञ हिरुलाल डगौराले बताउनुभयो ।

वर्षात्का समयमा झुण्डबाट छुट्टिएर लामो दूरी तय गर्दा अर्ध वयस्क सानो खैरो गिद्ध पर्याप्त पानी, आहारा नपाउँदा रगतको कमी भई बिरामी परेको हुनसक्ने उहाँले बताउनुभयो । गिद्धको बाह्य चोटपटक लागेको भने नरहेको उहाँले जानकारी दिनुभयो ।

“गत असार २७ गते नवलपुरबाट उडेको गिद्ध सुरूका पाँचदेखि सात दिनसम्म कपिलवस्तुको गैडहवा वन तथा रेस्टुरेन्ट क्षेत्रमै विचरण गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “त्यसपछि गिद्धले कपिलवस्तुको गैडहवाबाट विचरणका लागि भारतको बहराइच, लखिमपुर, टिकुलिया, सीमावर्ती क्षेत्र भजनी हुँदै मसुरियासम्म पुगेर फर्किने क्रममा लाँलीगुरास वनमा बिरामी अवस्थामा फेला परेको हो ।”

गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट टयाग ‘जे १६’ ले उक्त गिद्धले पूर्वी नवलपरासीको जटायु रेष्टुरेन्टबाट उडान भरेको पुष्टि भएको चरा विज्ञ डगौराले बताउनुभयो ।

नेपाल पक्षी संरक्षण सङ्घको तथ्याङ्कअनुसार विगत केही वर्षअघि रेष्टुरेन्टकै एक डङ्गुर गिद्धले भारतको पश्चिमी क्षेत्रसहित पाकिस्तानसम्म विचरणका लागि उडान गरेको थियो । नेपाल पक्षी संरक्षण सङ्घ र सबडिभिजन वन कार्यालय लम्कीको टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गिद्धलाई सुरक्षित क्षेत्रमा छाडेको डगौराको भनाइ छ ।

“गिद्ध उपचारपछि स्वस्थ र तन्दुरुस्त छ”, उहाँले भन्नुभयो, “पुन: पुरानै बासस्थानमा फर्कनेमा विश्वस्त छौँ ।” गिद्धमा जडान गरिएको रेडियो कलरको सहायताले जिपिएस ट्र्याकिङ गरी अवस्थाबारे अध्ययनको कार्य निरन्तर जारी रहने उहाँले उल्लेख गर्नुभयो । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले यस प्रजातिको गिद्धलाई अतिसङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ । रासस