काठमाडौं । चार वर्षअघि नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादी फुटको संघारमा पुगेको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको वाकयुद्ध अहिले चरम उत्कर्षमा पुगेको छ ।
दुई नेताले पार्टीमा अलग–अलग गुट बनाएर आफ्नो शक्ति देखाउन सुरु गरेका छन् । कतिसम्म भने यसअघि अध्यक्ष नेपालले किनारा लगाउन खोजेका नेताहरुलाई नै अहिले आफ्नो बनाउन खोजेको छ । अध्यक्ष नेपालले खनाललाई कारबाही गर्नेसम्मको तयारी थालेका छन् ।
अध्यक्ष नेपालविरुद्ध खनालले आक्रोसपूर्ण अभिव्यक्ति दिन थालेपछि चार दिनअघि नेपालले खनाललाई टेलिफोन गरेका थिए । त्यस क्रममा नेपालले खनाललाई पार्टी नीति, विचार, सिद्धान्त र नेतृत्वविरुद्ध नबोल्न चेतावनी दिएका थिए । तर खनालले आफ्ना अभिव्यक्तिको बचाउ गरेका थिए । त्यसपछि टेलिफोनमै दुई नेताबीच गालीगलौज भएको स्रोतले जनाएको छ ।
त्यसो त नेतृ रामकुमारी झाँक्री अध्यक्ष नेपालसँग आक्रोसित हुँदै आएकी छन् । अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेपछि पद छाड्नुपर्ने पक्षमा रहेकी झाँक्रीले सार्वजनिक रुपमै सिनो बोकेर हिँड्न नसक्ने टिप्पणी गरेकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीभित्र हलचल नै मच्चिएको थियो । त्यति मात्र होइन, पार्टीले झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । उनलाई पार्टीले निस्कासन गर्ने तयारी भइरहेका बेला अध्यक्ष नेपालसँग सम्मानित नेता खनालको आरोप प्रत्यारोप चलेको हो । तर खनालसँग दुरी बढेपछि नेपालले ‘सिनो बोक्न नसक्ने’ अभिव्यक्ति दिने झाँक्रीलाई कारबाही नगर्ने मनस्थिति बनाएको बताइएको छ ।
यो पनि पढ्नुहोस: माधवलाई झलनाथको जवाफ- जबज मान्ने भए एमालेमा गए हुन्छ,किन यता बसेको ?
पार्टीभित्रको विवाद बढ्दै गएपछि महासचिव घनश्याम भुसालले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
महासचिव भुसालले सुरुमा आगामी भदौ ४ गते स्थायी कमिटी बैठक, भदौ ५ गते पोलिटब्यूरो बैठक र भदौ ७ र ८ गते बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएका थिए । तर चाडपर्वको कारण देखाउँदै तीन वटै कमिटीका बैठक सारिएको छ । अब स्थायी कमिटी बैठक भदौ २५ गते, पोलिटब्यूरो बैठक २६ गते र केन्द्रीय कमिटी बैठक २७ र २८ गते बस्ने तय भएको छ ।
यो पनि पढ्नुहाेस- झलनाथलाई माधव नेपालले भने: विद्रोहको औचित्य छैन भन्ने लाग्छ भने ओलीजीको सेवा गरेर बसे हुन्छ
खनाललाई कारबाही गर्ने तयारी स्वरुप अध्यक्ष नेपालले बैठक बोलाउन लगाएका हुन् । यी बैठकमा पार्टीभित्रको अन्तरद्वन्द्वमाथि छलफल गरी खनाललाई कारबाही गर्ने र सकेसम्म पार्टीबाटै धपाउने तयारी नेपालको छ ।
तर पार्टीका औपचारिक बैठक बस्नु अघि नै दुई नेताबीचको जुहारी उत्कर्षमा पुगेको छ । एकले अर्को नेतालाई पार्टीबाट बाहिरिने चेतावनी दिने क्रम जारी छ । कतिसम्म भने एकले अर्कोलाई सैद्धान्तिक बिचलन भएको देखि भ्रष्टाचारीसम्मको आरोप लगाउन थालेका छन् । दुई नेताबीचको बढ्दो दुरीका कारण अन्य नेता पनि विभाजित मनस्थितिमा देखिएका छन् ।
कसरी सुरु भएको थियो विवाद ?
झन्डै दुई साताअघि एक टेलिभिजन कार्यक्रममा सम्मानित नेता खनालले एमालेबाट फुटेर गल्ती भएको बताएका थिए । उनले एमाले विभाजन गरी जनता समाजवादी पार्टी गठनको औचित्यसमेत चार वर्षसम्म पुष्टि हुन नसकेको मात्र भनेका थिएनन्, विभाजन नै गल्ती भएको स्वीकार गरेका थिए ।
खनालको यो अभिव्यक्तिप्रति आक्रोसित अध्यक्ष नेपालले तत्काल सार्वजनिक रुपमै खनाललाई पार्टी छाडेर जान चुनौती दिए । पार्टीको नीति र सिद्धान्तअनुसार चल्न नसक्नेहरु बाहिरिएकै उचित हुने भन्दै नेपालले आक्रोस व्यक्त गरेका थिए ।
उनको आक्रोस त्यतिमा मात्र सीमित रहेन । खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गर्न सुझाव नै दिए ।
अध्यक्ष नेपालको जवाफ सुनेपछि खनाल थप आक्रोसित भएका छन् । उनले माधवकुमार नेपाललाई नै एमालेमा जान सुझाव दिएका छन् । खनालले नेपाललाई ‘आफ्नो अनुहार ऐनामा हेर्न’ र आफैँ एमाले फर्किनेबारे सोच्न व्यंग्यात्मक आग्रह गरेका छन् । खनालले एमालेबाट विद्रोह गरेको चार वर्ष बितिसक्दा पनि त्यसको औचित्य पुष्टि गर्न नसकेको र अध्यक्ष नेपाल आफैँले ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई त्याग्न नसकेको आरोप लगाए । नेता खनालले भने, ‘पार्टीको दशौं महाधिवेशनबाट पारित वैज्ञानिक समाजवादको कार्यक्रमभन्दा पनि जनताको बहुदलीय जनवाद (जबज) तिर रुचि राख्ने माधव नेपाल चाहिँ एमाले फर्कनु राम्रो हुन्छ ।
दुई नेताबीच चर्किएको विवादका कारण पार्टीको प्रतिष्ठामै आँच पुगेको छ । पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टीको हितको रक्षा गर्नका लागि, पार्टीको अनुशासनको पालना गर्नका लागि, पार्टीको निर्णयको परिपालना गर्नका लागि भन्दै अहिले दुवै नेता आफैं अनुशासन उल्लंघन गर्दै हिँडेका छन् । कतिसम्म भने पार्टीभित्रकै बैठकमा छलफल हुनुपर्ने विषय पनि सार्वजनिक रुपमा सञ्चारमाध्यमबाट बाहिर ल्याउन थालेका छन् ।
दुवै नेताले एकले अर्कोलाई एमालेमा जान सुझाव दिँदै आएका छन् । त्यसको अर्थ दुवैलाई एमालेप्रतिको माया घटेको छैन । दुवै नेता एमालेको नेतृत्व गरिसकेका पाका व्यक्ति हुन् । अहिले आवेशमा आएर, प्रभावमा परेर होस् या दबाबमा नै किन नहोस् उनीहरुले मिलेरै चार वर्षअघि एमाले विभाजित गराएका थिए । तर त्यही एमाले दुवै नेताले एकले अर्कोलाई गन्तव्य बनाउन सुझाव दिँदै आएका छन् ।
कहाँ गएर टुंगिन सक्छ विवाद ?
नेकपा एकीकृत समाजवादीको विवाद दुई नेताका अभिव्यक्तिबाट मात्र जन्मिएको होइन । पार्टीको १० औं महाधिवेशन गर्दादेखि नै विवाद देखिएको हो ।
त्यस त्यसबेला नेपाल सर्वसम्मत अध्यक्ष बनेर खनाललाई सम्मानित नेता बनाएका थिए । महासचिवमा घनश्याम भुसाललाई ल्याइयो । तर अन्य पदाधिकारीदेखि केन्द्रीय सदस्य चयनसम्ममा दुई नेताबीच मनमुटाव बढ्यो ।
अझ पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचारको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि त झन् विवाद बढेको हो । भ्रष्टाचारको आरोप लागेपछि नेपालको सांसद पद निम्बित भएको छ । उनलाई अध्यक्षबाट पनि बाहिर बस्न खनालले अनौपचारिक ढंगले सुझाव दिएका थिए । तर, नेपालले मानेनन् । बरु भ्रष्टाचारका आरोपीको ट्याग झुन्ड्याएरै उनले पार्टीको नेतृत्व गरिरहेका छन् । जबकी यो कुरा सम्मानित नेता खनाल र नेतृ रामकुमारी झाँक्रीलगायतलाई मन परेको छैन ।
अब पार्टीको स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्दै छ । यो बैठकमा अध्यक्ष नेपालले झाँक्रीलगायतका असन्तुष्टहरुलाई कारबाही नगरी फकाएर आफ्नो पक्षमा पार्ने र खनाललाई जसरी पनि पाखा लगाउने रणनीति बनाइरहेका छन् ।
एकीकृत समाजवादीमा भर्खरै मात्र प्रवेश गरेका तेस्रो वरियताका नेता बामदेव गौतम पनि अहिले नेपालसँग असन्तुष्ट छन् । आफूलाई सहमतिअनुसार राम्रो जिम्मेवारी नदिएको भन्दै गौतम आक्रोसित बनेका छन् । उनले खनालसँग शनिबार मात्रै पनि लामो छलफल गरेका छन् । नेपाल भने गौतमलाई आफ्नो पक्षमा पारेर खनाललाई एक्ल्याउँदै पार्टीबाटै बाहिर पुर्याउन कसरतमा लागेका छन् ।









