१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली कारागार झडप प्रकरण: गृहमन्त्री सुरक्षा निकायका प्रमुखसंग छलफलमा,कारागार कैदीहरुको कब्जामा



अ+ अ-

काठमाडौंं । कैलाली कारागार कैदीहरुको कब्जामा रहेको छ । शुक्रबार मध्यराति कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा रहेको हो ।

झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरूले उनीहरूलाई कारागारभित्र पस्न दिएनन्।जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेको छ ।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन।

सुरक्षा निकायका प्रमुख छलफलमा

गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाउनु भएको छ ।

धनगढीस्थित कारागारमा कैदीबन्दीबिच झडप भएपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गृहमन्त्री लेखकले गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाउनु भएको गृह मन्त्रालयले जनाएको छ।