४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

कथा: जीवनका उडानहरु

कथा: जीवनका उडानहरु
अ+ अ-

-उषा शेरचन

ऊ यस्तो समुदायमा जन्म्यो, जहाँ जातीयता के हो, छुवाछुत भनेको के हो भन्ने ज्ञानै नभएको त्यो बच्चासमेत कुरीतिको गरूङ्गो भारीबाट मुक्त हुन सक्तैनथ्यो । आँखाले नभ्याइने तराईका ठूलाठूला फाँटहरु चहार्दैमा र गाईबस्तुहरु चराउँदैमा उसको बाल्यकाल बितेको थियो । दलित परिवारकै भए पनि उसको बाबुमा छोरालाई पढाउनुपर्छ भन्ने चेतनासम्म जागिसकेको थियो । त्यसैले उसको बाबुले उसलाई पनि नजिकैको स्कुलमा भर्ती गराउने उद्देश्य लिएर गए । दलितले आफ्नो बच्चालाई कथित उपल्लो जाति पढ्ने स्कुलमा भर्ना गर्ने सोच राख्नु पनि ठूलै दुस्साहास थियो त्यतिबेला ।
उसको बाबुले त्यै हिम्मत देखाएर हेडमास्टरका अगाडि आफ्नो छोरालाई स्कुलमा भर्ना गर्ने इच्छा प्रकट गरे । हेडमास्टरले पनि सम्झाउने शैलीमा भने- ‘हेर, मैले मात्र भर्ना लिएर हुँदैन तिम्रो छोरालाई । यहाँ सबै उपल्लो जातका बच्चाहरु मात्रै पढ्छन् । तिम्रो छोरालाई मैले भर्ना गरेँ भने सबै गाउँले उठेर मलाई नै यो स्कुलबाट निकालिदेलान् सायद ।’ ‘हजुरजस्तो पढे–लेखेको ठूलो मान्छेले गाँउलेहरुलाई सम्झाई–बुझाई गर्नुभए त मान्नुहुन्थ्यो होला नि हजुर ! जे भए पनि एकपटक कोसिस गरिदिनुभएमा यो गरिबको उद्धारै हुन्थ्यो होला । यति जनी गरिदिनुभए हजुरको जयजयकार गर्थेँ ।’
‘खै, आजै त म केही भन्न सक्तिनँ । भोलि एक पटक प्रधान बासँग कुरा गरेर हेर्छु, उहाँले के भन्नुहुन्छ नाइँ । उहाँले हुन्छ भनेर गाँउलेहरुलाई समेत सम्झाउनुभए त तै पनि होला कि ! मैले मात्रै भनेर त गाँउलेहरुले मान्लान्जस्तो त लाग्दैन मलाई ।’

दलितकोे बच्चालाई पनि आफ्ना बच्चाहरु पढ्ने स्कुलमा पढाउने कुराले गाउँमा भूकम्पै गयो । ‘त्यस्तो स्कुलमा अबदेखि हाम्रा बच्चाहरुलाई नपढाउने’ भन्न थाले गाउँलेहरुले । पछि प्रधान बाले सबै गाँउलेहरुलाई सम्झाई–बुझाई गरेर केही कडा नियमहरु पनि पालना गर्नुपर्ने सर्त राखेर मात्र उसको छोरोलाई भर्ना गर्ने निर्णय भयो । प्रधान बा अलि सुधारवादी प्रवृत्तिका भएकाले मात्रै भर्ना गर्न सम्भव भएको थियो । पहिलोपटक स्कुल जाँदा बकुल्लै बकुल्लाको हुलमा आफू एक्लो काग भएको भान भएर लाजले ऊ पानीपानी भएको थियो । स्कुलमा समेत दलित हुनाको पीडा–बोधबाट मुक्त हुन सकेन ऊ । तराईको त्यो प्रचण्ड गर्मीमा तिर्खा लाग्दा आफैं गएर पानी पिउन वर्जित थियो उसलाई । तिर्खा लागेमा उपल्लो जातिका साथीहरुलाई गुहार्नु पर्थ्यो । साथीहरुले अम्खोरा, जग आदिबाट खन्याइदिएको पानी अँजुलीमा थापेर पिउनुपर्दा बाल मस्तिष्कमा आघात पर्थ्यो । ‘सबै बच्चाहरु एउटैजस्तो, म मात्र किन भिन्न !’ भन्ने प्रश्नले लखेटिरहन्थ्यो उसलाई ।
पढाइमा निकै तीक्ष्ण, मिलनसार र आज्ञाकारी भएकाले साथीहरुले निकै माया गर्थे भने शिक्षकहरुले पनि राम्रो व्यवहार गर्नुहुन्थ्यो उसलाई ।
पछिपछि साथीहरुले सँगसँगै खेल्न बोलाए पनि उनीहरुको घरभित्र भने पस्न पाउँदैनथ्यो । साथीहरुले बाबुआमाबाट गाली खानुपर्ला भनेर ऊ आफैं पनि सतर्क हुन्थ्यो । ऊ कुनै पनि त्यस्ता क्रियाकलापहरु गर्दैनथ्यो, जसले गर्दा साथीहरुलाई अप्ठ्यारो होस् ।

चाडपर्व, मेलाहरुमा जति रमाइलो गरे तापनि खाना सँगै खान नपाइने, पिउन सँगै नपाइने, कतै खाना खाने ठाउँतिर गए पनि सबै साथीहरु चुठेर हिँड्न पाउने तर ऊ भने आफूले खाएको जूठो भाँडा आफैंले माझेर घोप्ट्याएर जानुपर्ने पीडासँगसँगै हुर्केको थियो ऊ । ठूलो हुँदै गएपछि र झन् बढी बुझ्न थालेपछि भने गाउँघरमा हुने जातीय विभेदप्रति मनमनै आक्रोशित हुन थाल्यो ऊ । दलित भएकै कारण बारम्बार अपहेलित र अपमानित जीवन भोग्नुपर्दा ऊभित्र नजानिँदो पाराले विद्रोहको बीजारोपण हुँदै गइरहेको थियो । दलित उत्थानका लागि केही न केही त गर्नैपर्छ भन्ने दृढता मनभित्र पलाइरहेको थियो । समाजले पो तँ दलित, तँ फलाना भनेर छुट्ट्याएका छन् त, तर प्रकृतिप्रदत्त गुणहरु त चाहे कथित उपल्लो जातिका हुन् वा दलित सबैलाई आउने बैँस त एकै प्रकारकै न हो । दलित भए पनि उसको रुपरङ्ग बुद्धि भने कुनै उपल्लो जातिको भन्दा कम थिएन । उसको रुपरङ्ग बुद्धि र विनम्रताले गर्दा प्रायः केटीहरु पनि निकै आकृष्ट हुन्थे ऊसँग, भलै खुलेर व्यक्त गर्न नसकून् । यस्तैमा एउटा मेला भर्न जाँदा उसका आँखा पनि कथित उपल्लो जातिकी ब्राह्मण कन्यासँग जुध्न पुगे । कतिखेर दुबैले एकअर्कासँग आफ्नो मन साटासाट गरे, दुबैलाई पत्तै भएन ।
उनीहरु मनभित्र हजारौं इन्द्रेणीहरु झुलाइरहन्थे । आफ्नै कल्पनाका दुनिया सजाइरहन्थे र एकअर्काको मायाको गहिरो तालभित्र डुबुल्की लगाइरहन्थे । सारा संसारलाई भुलेर मायाको संसारभित्र हराइरहन्थे ।

बैँसालु मनले कुनै वर्ग, जात, जाति, धर्म आदिको मतलबै राख्न चाहँदैन । दुनियाँदेखि बेखबर मन उडिरहन चाहन्छ, कल्पनाको सागरमा पौडिरहन चाहन्छ, तर समाज र परिवारको आँखालाई भने त्यस्ता कुराले ठूलै कसिङ्गर परेझैँ गरी नराम्ररी बिझाउने गर्छ । एक दिन उसले बिस्तारै सोध्यो- ‘तिमी ब्राह्मणकी छोरी, म दलितको छोरो, के यो समाजले र तिम्रो घर–परिवारले हामीलाई एक हुन देला त ?’ जबाफमा उनले अँगालोमा कस्दै भनिन्- ‘अब हाम्रो मन हाम्रो हातमा नै कहाँ छ र ! यो त बन्धकीमा परिसकेको छ । बन्धकी परेको मनलाई छुटाउन त्यतिकै सजिलो कहाँ हुन्छ र महाशय !’ उनको कुराले उसलाई झन् धेरै भावुक बनायो र झन् बढी कसिलो गरी अँगालो मार्दै भन्न थाल्यो, ‘आकाशजस्तो शून्यता व्याप्त मेरो छातीभित्र सितारको झङ्कार भएर तिमी मेरो मन–मन्दिरभित्र झङ्कृत भएकी छ्यौ । तिमीसँग बिछोडिनुपर्ला कि भन्ने आशङ्का मात्रैले पनि मलाई पागलै बनाउँछ ।’ ‘तिमीले त्यसबारे चिन्तै लिनु पर्दैन । हामी दुबैलाई भगवानले नै एकअर्काका लागि भनेरै पठाउनुभएको सोच्छु म त । मेरो प्रेम तिमीबाटै सुरू भएर तिमीमै अन्त हुन्छ । हाम्रो शरीर मात्र पो दुइटा त आत्मा त एउटै छ । तिमीलाई म कुनै पनि हालतमा घात गर्दिनँ ।’
‘केही गरी तिम्रा बाबाआमाले हाम्रो मायाप्रीतिबारे थाहा पाएर हामीलाई छुटाउनकै लागि तिम्रो विवाह तिम्रै जातको केटासँग गरिदिए भने हामीले के नै पो गर्न सक्छौँ र !’

‘साँचो माया शून्यबाट एक मात्रै हुन सक्छ, तर एक, दुई, तीन, चार कदापि हुन सक्दैन । यदि त्यसो भए त्यो साँचो अर्थमा माया नभएर विपरीत लिङ्गप्रतिको आर्कषण मात्रै हो । हाम्रो माया क्षणिक आकर्षण मात्र नभएर अजम्बरी छ । मैले तिम्रो शरीरलाई नभएर तिम्रो आत्मालाई प्रेम गरेकी छु । यदि कसैले मेरो आत्माबाट आत्मालाई नै अलग गराउन खोज्छन् भने म त्यसको घोर प्रतिकार गर्नेछु वा आजन्म विवाह गर्नेछैन, यो मेरो प्रतिज्ञा सम्झ तिमीले । हाम्रो प्रेमलाई लज्जित हुन कदापि दिनेछैन । मेरो विश्वास गर ! तिमीलाई कसै गरी पाउन सकिनँ भने आत्महत्या गरूँला, बरू ।’
उनको कुरा सुनेर भावविभोर हुँदै औँलाले उसको ओठ थुन्दै भन्न थाल्यो, ‘ओ मेरी प्राणभन्दा प्यारी, ज्यान दिने कुरा बिर्सेर पनि नगर ! जब तिमी नै यो संसारमा हुन्नौ भने मेरो बाँच्नुको सार नै के रहन्छ र ! तिमीबिनाको एक्लो जीवनको त म परिकल्पनासमेत गर्न सक्दिनँ । साथै बाँचौँला, साथै मरौँला । यो जन्ममा समाजले वा परिवारले साथै बाँच्न दिएनन् भने पनि फेरि अर्को जुनी लिऊँला र जुनीजुनी यसै गरी अजम्बरी माया लाइरहौँला । यसरी उनीहरु घन्टौँ एकअर्कामा हराइरहँदा, सीमारहित माया साटिरहँदा उनीहरुलाई समय गएको पत्तै हुँदैनथ्यो । हरेक दिन छुट्टिने बेलामा एकअर्काका मुटु नै चुँडिन लागेजस्तो भान हुन्थ्यो, प्रेमको रङ्गमा रङ्गिएका ती जोडीलाई ।

उनीहरुको यस्तो मायाप्रीति देखेर सारा गाउँलेहरु जिब्रो टोक्दै भन्थे, ‘के जुग आयो यस्तो राम राम राम ! यी आँखाले पनि के–के देख्नुपर्ने ! कलियुग भनेकै यही हो क्यारे ! लौ हेर हेर, उपल्लो जातकी छोरी भएर पनि त्यस्तो तल्लो जातसँग लागेर आमाबाबु मात्र होइन वंशलाई नै नर्कमा धकेल्ने भई ।’ कसै कसैले त तिनीहरुलाई छिःछिः दूर–दूर गर्दै थुक्थे पनि । कसैले भन्थे, ‘त्यत्रा ठूला घरकी छोरी भएर कोही केटै नपाएझैँ गरी त्यस्ता दलितसँग के लागेकी होली ?’ कसै कसैले चाहि“ अर्को किसिमको धारणा पनि राख्थे, ‘त्यस्ता घरानियाँकी छोरीलाई त्यस्तो दलित केटाले कसरी फसायो होला !’ मुखैपिच्छेका बेग्लाबेग्लै कुरा थिए भने कोही–कोहीले त ‘मोहनी लगाएको रे के मोहनी’ भनेर टीका–टिप्पणीका छिटाहरु बर्साइरहन्थे ।
‘प्रेम अन्धो हुन्छ भन्थे साँच्चै हो रहेछ, प्रत्यक्ष देखियो’ भन्नेहरु पनि थुप्रै थिए । सारा गाउँलेले कुरा काट्न थालेपछि एक कान दुई कान मैदान हुँदै उनका आमाबाबुका कानमा नपर्ने त कुरै भएन । पहिला–पहिला त विश्वासै गरेनन् तर विश्वास नगर्दैमा साँचो कुरो झूटो कहाँ हुन्थ्यो र !

आमाबाबुले केटीलाई घरभित्रै थुनेर राखे । दुबै आत्मालाई एक हुन नदिन कुनै कसर बाँकी राखेनन् । आमाचाहिँ आफैंलाई धिक्कारिरहन्थिन्, ‘मेरो कोखबाट कस्ती कुलच्छिनी छोरी जन्मिछ भगवान् ! बरू कोख बाँझै राखिदिनु भएको भए हुन्थ्यो ।’ बाबु पनि भगवान्लाई पुकारिरहन्थे, ‘हे भगवान्, मैले यो के देख्नुपर्‍यो ! यसले त कुलकै इज्जत त फाली–फाली, बाँकी बहिनीहरुको भविष्य पनि बिगारेरै छाड्ने भई । यस्ताकी बहिनीहरुलाई को माग्न आउलान् ? हे भगवान्, उपाध्याय बाहुनकी छोरीले कुनै केटो नै नभेट्टाएझैँ त्यो मोरो दमाईको छोरालाई के देखेर रोजिहोली ? यस्तो कुरा सुन्नुभन्दा त बरू मरेकै जाति हुन्थ्यो ।’ ‘यस्तीलाई अब यसरी राख्नै हुँदैन, खुरूक्क एउटा ब्राह्मण केटो खोजेर छिट्टै बिहे गरिदिनुपर्छ ।’ परिवारका अन्य सदस्यहरुले सल्लाह दिने गर्थे ।
यसरी बलेर आगो भइरहेका परिवारका सदस्यहरुबीच घिउ भएर थपिरहनुबाहेक के नै पो गर्न सक्थिन् र उनी ! आफ्नो मनको राजासँग यसरी बिछोडिएर बस्नुपर्दा असह्य पीडा हुन्थ्यो, जसलाई सहन सक्ने शक्ति उनमा थिएन, उनी आफैंलाई समाप्त पार्न खोज्थिन् । कति पटक आफ्नै सलले पासो लगाउने जमर्काे पनि नगरेकी होइनन्, तर जबजब उनी त्यसो गर्न तम्सिन्थिन् तबतब आफ्नो प्रियतमले भनेको कुरा झलझली सम्झेर र उनको मायाले उनलाई त्यसो गर्न पनि दिँदैनथ्यो । पलङ्गमा घोप्टो परेर धुरूधुरू रूँदै बस्नु उनको नियति भएको थियो ।
कहिले फेरि मनको कुनै कुनामा झिनो आशा पलाएझैँ पनि हुन्थ्यो । एक न एक दिन साँचो प्रेमको तागतले यो जातीय पर्खाल अवश्य तोडिनेछ भन्ने विश्वास लिएर चुप लागेर बस्थिन् ।
उता पानीबिनाको माछाजस्तै छटपटाइरहन्थ्यो ऊ ।

आफ्नो मायालुको अनुपस्थितिले सारा संसार रित्तिएजस्तो , सारा जगतै अँध्यारोमै डुबेजस्तो लाग्थ्यो उसलाई । संसारको कुनै ठाँउ वा चिजमा उसको मन लाग्दैनथ्यो ।
यसरी बिछोडिएर बस्नुपर्दा पखेटा काटिएको पक्षीजस्तै फडफडाइरहन्थे, तडपिरहन्थे । एक झल्को मात्रै भए पनि एकअर्कालाई हेर्न पाए हुन्थ्यो भन्ने ध्याउन्नाबाहेक अरु केही हुँदैनथ्यो ।
न भोक नै लाग्थ्यो न त तिर्खा नै लाग्थ्यो । एक–एक पल एक–एक युगजस्ता लाग्थे दुबैलाई । परिवारको बन्धनबाट फुत्किने कुनै उपाय नै नदेखेपछि दुबै हताश र निराश भएर समयलाई पर्खिनुबाहेक अर्को विकल्प केही देख्दैनथे । जति रोए पनि जति कराए पनि उनीहरुको आवाज पुग्ने ठाउँ पनि त कतै थिएन । एक्काइसौँ शताब्दी लागिसक्दा पनि अन्तरजातीय विवाहलाई त स्विकार्न नसक्ने समाजले दलितसँग विवाह गर्ने अनुमति दिन सक्ने मानसिकता त झन् कसरी बनाओस् ! हाम्रो समाजमा यस्ता कुरीति र कुसंस्कार कति गाडिएका छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।
उसकी आमाले पनि उसलाई सम्झाउनसम्म सम्झाइन्, ‘आकाशको जून ताकेर पनि पाइन्छ र छोरो ! कहाँकी उनी त्यत्रा ठूला घरानकी छोरी, कहाँ तँ दमाईको छोरा ! आफ्नो गच्छेले भ्याउने काम गरे पो हुन्छ । हामी जन्मदै दलित भएर जन्मेपछि आफूभन्दा उपल्लो जातकी छोरीलाई ताक्ने तँ कस्तो मूर्ख ?’
‘हामीले भनेका थियौँ र आमा हामीलाई ब्राह्मणको घरमा जन्म दिनू वा दलितको घरमा भनेर ! त्यसमाथि पनि म त मान्दै मान्दिनँ त्यस्ता जातभातका कुरा । मान्छेको दुईवटा मात्रै जात हुन्छ, त्यो हो लोग्नेमान्छे र स्वास्नीमान्छे ।’

‘संसारका सबै दलित केटीहरु मरेका छन् र त्यस्तो ठूलाबडाका छोरीलाई ताक्दै हिँड्ने ? घाँटी हेरेर पो हड्डी निल्नुपर्छ । हुनै नसक्ने कुरो गरेर वा ताकेर मात्रै पाइन्छ त !’
‘हामीले कुनै पाप गरेका छैनौँ आमा, मात्र प्रेम गरेका हौँ । प्रेम गर्नु कुनै पाप होइन ।’ ‘भाङ्ग्राको टोपीमा गुँएलीको फूल भनेझैं कहाँ उनी त्यत्रो उचो जातकी कहाँ हामी यस्तो नीचो जातका ।’
‘मान्छेमान्छेमा उचो र नीचो भन्ने हुन्न क्या आमा । सबै मान्छेहरु एकै हुन् । अब हामीजस्ता युवाहरुले नैै यो जातीय उत्पीडनको पर्खाललाई तोड्नुपर्छ र समतामूलक समाजको निर्माणमा लाग्नुपर्छ ।’
‘म त्यस्ता कुराहरु जान्दिनँ । उहिल्यैदेखि चलिआएको चलनलाई तैँले मात्रै तोड्छु भन्दैमा तोडिने हो र ! चाहिने कुरा गरे पो हुन्छ, नचाहिने–नचाहिने कुरा गर्‍यो, भयो । प्रेम पनि आफ्नो जातकै केटीसँग पो गर्नुपर्छ !’ ‘प्रेमले प्रेम मात्र हेर्छ आमा, न कि जात, भात, उमेर र धर्म । यदि त्यस्तो हेरेर कसैले प्रेम गर्छ भने त्यो प्रेम होइन आमा, स्वार्थ हो मात्र स्वार्थ । प्रेम योसँग गर्छु, ऊसँग गर्छु भनेर हुने हो र आमा ! यो त आफसेआफ हुने कुरा हो !’ ‘हामी पानी नचल्ने दलितले उपल्लो जातकी छोरीलाई ताक्दैमा विवाह नै गर्न पाउँछस् भनेर सपनामा पनि नसोच् तै“ले । परापूर्वकालदेखि चलिआएको चलन मेट्न सकिन्छ ?’ ‘सबै चलन मान्छेले नै चलाएको न हो । परापूर्वकालदेखि जरो गाडेर बसेको कुप्रथालाई कसै न कसैले त उखेलेर फ्याँक्न पनि त सक्नुपर्‍यो नि ! यो त मान्छेले मान्छेसँग गर्ने जातीय हिंसाको परकाष्ठा हो, अमानवीयता हो भनेर सबैले जान्न पनि त प¥यो आमा ! मान्छेमान्छे सबै एकै हुन् । सबैको रगत रातै हुन्छ, दलितको बेग्लै, उपल्लो जातिको बेग्लै हुन्न क्यारे, कि हुन्छ आमा !’

‘अरु कुरा जान्दिनँ म, त्यसैले त छोराछोरीलाई पढाउनै हुन्न बिग्रन्छन् भन्दा रहेछन्, यस्तै चाहिने नचाहिने कुरा गर्ने भएर नै त्यसो भनेका होलान् । छोडिदे बाबू बिर्सिदे, तँलाई कुनै पनि हालतमा विवाह गर्न दिनेछैनन् कसैले पनि । बरू ऊ त्यो पल्लो गाँउ कान्छाकी छोरी, हेर्दा पनि राम्री छिन्, बानी–बेहोरा पनि राम्रो छ भन्छन्, जातभात पनि मिल्ने, त्यसैसँग बिहे गर् ! म कुरा उठाउँछु भोलि नै ।’ ‘प्रेमिका पनि लुगा हो र आमा फेरी–फेरीकन लगाउनलाई ! उसलाई छाड्नुपरे, बिर्सनुपरे आत्महत्या गरेर मरूँला बरू, तर म कदापि अर्की केटीसँग बिहे गर्दिनँ ।’
‘नकरा, सोझा ब्राह्मण परेर मात्रै हुन्, त्यस्तै परेको भए तँलाई अरुले त्यो कुरो सुन्नासाथ मारिसक्थे वा बेपत्ता पारिसक्थे, या त हामीलाई नै यो गाँउबाटै लखेटिसक्थे । अरुसँग बिहे नगर्ने भए बरू दुई–चार वर्षका लागि विदेशतिर जाने भए पनि जा ! यसो रिनसिन काटेर भए पनि पठाउने व्यवस्था गरौ“ला, तर ब्राह्मणकी छोरीलाई भने माया मार् छोरा ! त्यो हुनै नसक्ने कुरा गरेर मेरो मासु खाने काम नगर् !’ कति सजिलै भनिन् उसकी आमाले, उसलाई छोडिदे, बिर्सिदे भनेर । त्यही नै त गर्न सकेको छैन उसले । कुनै न कुनै उपाय त निकाल्नै पर्‍यो भन्ने लागेर उसले परिवारलाई तर्साउनकै लागि भए पनि विष पिउने निधो गर्दै विष किनेर ल्यायो । परिवार बाहिर गएको बेलामा खाइयो भने उद्धार गर्ने कोही नहोला भन्ने सोच राखेरै घर–परिवार सबै भएको मौका छोपेर सुटुक्क सबैको आँखा छल्दै विष सेवन ग¥यो । छोरा आफ्नैअगाडि ढलेर मुखभरि फिँज निकालेको देखेर आमा चिच्याइन्– ‘लौ न, मेरो छोरालाई के भयो ?’ फाल हान्दै छोरालाई अँगाल्न पुगिन् । हल्लाखल्लाले घर–परिवार मात्र नभई छिमेकीहरु पनि दौडँदै आए । उसले विष पिएको ठहर गर्दै सबैले उसलाई अस्पतालतिर दौडाए ।

समयमै अस्पताल पुर्‍याउन सकिएकाले डाक्टरहरुले उसलाई मृत्युको मुखबाट निकाल्न सफल पनि भए, जुन उसले चाहेकै कुरो थियो । यो कुरा उसकी प्रेमिकाको कानसम्म पनि पुग्यो र कसोकसो गरी घर–परिवारको दाम्लो चुँडाएर अस्पतालतिर भाग्न सफल पनि भइन् । कुनै पनि तगारोले छेक्न सकेन, थुन्न सकेन उनीहरुको प्रेमलाई । अस्पतालमा दुबै प्रेमी–प्रेमिकाको मिलन हेर्नलायक थियो । उनीहरुको निश्छल प्रेमको वर्षाले वरिपरिका सबैलाई समेत भिज्न बाध्य बनायो । देख्नेहरु सबैले भन्न थाले, ‘ईश्वरले कहिल्यै पनि प्रेम गर्ने दुई प्राणीलाई यसरी अलग्गै नराखून् । मायाले न रुप हेर्छ न त रङ्ग नै । मायाले न त जात हेर्छ न त भात नै । मायाले न उमेर हेर्छ न त अवस्था नै । मायाले त सिर्फ माया मात्र हेर्छ भन्ने उदाहरण पेस गरे दुबैले । आफ्ना सारा बन्धनहरु सदाका लागि तोडेर अर्कै बन्धन रोज्न आएकी थिइन् उनी, जसलाई रोक्ने क्षमता सायद कसैमा थिएन । जति नै समस्याका जघाँरहरु भए पनि दुबै मिलेर तर्ने विश्वास दुबैमा थियो । मरे पनि एउटै चितामा बाँचे भने एकअर्काको साथमा भनेर गरेको वाचा र खाएको कसमलाई दुबैले पूरा गरे । संसारै पल्टे पनि नछुट्ने प्रणको अगाडि समाजले पनि हार मान्न करै लाग्यो । अझै पनि कहिलेकाहीँ अतीततिर फर्केर हेर्दा भने उकुच पल्टेको घाउ बल्झेर अत्यन्त पीडा दिने गर्छ दुबैलाई । र’पनि दुबैबीचको प्रेममा न त कुनै फाटो नै आएको छ न त पे्रमको नदी नै सुकेर गएको छ । न त प्रेमको रङ्ग नै उडेर फिका भएको छ । बरू समयसँगसँगै दुबैबीचको प्रेम झन्झन् प्रगाढ भएको अनुभूति दुबैलाई भइरहेको छ ।