२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी कारबाहीबाट रु चार करोड ४१ लाख राजस्व सङ्कलन



अ+ अ-

कैलाली। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा गरिएको विभिन्न सवारी कारबाहीबाट रु चार करोड ८९ लाख ८७ हजार राजस्व सङ्कलन भएको थियो ।

गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका एक हजार २०३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको जनाउँदै प्रहरी उपरीक्षक शाहीले दुई हजार चार जना घाइते भएका उल्लेख गर्नुभयो । सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र  गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादकपदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडक/मौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका उहाँले जानकारी दिनुभयो ।

ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा रहेका छन् । यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएका प्रहरी उपरीक्षक शाहीले उल्लेख गर्नुभयो । उहाँका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागू गरी कडाइका साथ कार्यान्वयन गरिएको छ ।

लामो दुरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भए/नभएको टिसिए एप्स (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । रासस