भिमाद । तीन सय वर्ष बढीको इतिहास बोकेको तनहुँको भिमादस्थित सेती नदीको झोलुङ्गे पुल बेवारिसे बनेको छ ।

ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपुर्ण मानिएको यस पुलको संरक्षणका लागि कुनै कदम चालिएको छैन । पुलको अवस्था दिनानुदिन जीर्ण बन्दै गएको छ ।
मानिस हिँड्न प्रयोग गरिएका काठका फल्याकहरु सिमित मात्र देख्न सकिन्छ भने अधिकांश काठहरु सेती नदिमा खसेर बगिसकेका छन् । यो पुलले दुई स्थानीय तह भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्छ । पुल १६ मिटर लामो छ ।

तत्कालीन राजा सुरेन्द्र वीरविक्रम शाह र प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाका पालामा यस पुलको निर्माण भएको बताइन्छ ।
राजा सुरेन्द्र विक्रमले गुठी स्थापना गर्नका लागि लालमोहर लगाएको शिलापत्रमा उल्लेख छ । श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले सात सय रोपनी क्षेत्रफलमा गुठी दर्ता गराएका थिए । त्यही गुठीबाट उनले झोलुङ्गे पुल निर्माण गरेको तथ्य भेटिन्छ ।

यस पुल निर्माणका लागि तनहुँकै ढोरफिर्दीस्थित मिनाम खानीबाट फलाम उत्खनन गरिएको थियो । उत्खनन गरिएका काँचो फलामलाई कुँदेर पुलको निर्माण गरिएको छ ।
श्रीकृष्ण शाहीले पुल नजिकैको परिसरमा शिवजी, नारायण, शंकरेश्वरी महादेव, भगवती मन्दिर, झोलुङ्ग पुल र दुई वटा कलात्मक धर्मशाला निर्माण गरेका थिए । ढुण्डीराज शाहीले शिवजी मन्दिर निर्माण गरेको इतिहासकार बताउँछन् ।

पुलको विशेषता के छ भने जडान गरिएका सम्पूर्ण धातुहरु कुनै पनि मेसिन तथा कलकारखानाबाट उत्पादन तथा प्रशोधन नगरिकन हातकै सिप प्रयोग गरेर निर्माण गरिएको हो । स्थानीय खानीको फलाम प्रयोग गरि साङ्गाले झोलुङ्गे पुल बनाइएको हुनाले यसको महत्व अझ बढेको छ । स्थानीय कालिगढबाट नै पुल निर्माण भएकाले यस पुलले ऐतिहासिक महत्व र पहिचान बोक्दछ ।

कमजोर बनेको लट्ठा जुनसुकै बेला पनि चुँडिन सक्ने हुनाले यसको संरक्षण गर्न निकै आवश्यक छ । यदि पुल चुँडिएमा इतिहास बोकेको पुलको अस्तित्व नै मेटिन्छ ।











