१७ असार २०८३, बुधबार
,
Latest
झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरमा बढ्दो अपराध नियन्त्रणका लागि ३५५ स्थानमा सीसी क्यामेरा जडान सुरु



अ+ अ-

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा बढ्दो आपराधिक गतिविधि र सवारी दुर्घटनालाई प्रविधिको प्रयोगमार्फत नियन्त्रण गर्न सीसी टिभी क्यामेरा जडान गर्न थालेको छ।

नगरपालिकाले पहिलो चरणमा १०५ स्थानमा क्यामेरा जडान गर्ने तयारी थालेको हो, जुन आगामी ६ महिनाभित्र सम्पन्न गरिने योजना छ।

जनसंख्या वृद्धिसँगै सार्वजनिक स्थानमा हुने चोरी, डकैती, झैँ–झगडा, सडक दुर्घटना, लागुऔषध दुर्व्यसन लगायतका घटनाहरू बढ्न थालेपछि नगरपालिकाले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालयसँग त्रिपक्षीय सम्झौता गरेर यो योजना अघि बढाएको हो।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार ‘डिजिटल पालिका’ र ‘सुरक्षित सहर’को अवधारणालाई मूर्त रूप दिन यो अभियान सुरु गरिएको हो। चालु आर्थिक वर्षका लागि नगरपालिकाले ११ लाख ६९ हजार रुपैयाँ बजेट छुट्याएको छ।

सम्झौता अनुसार टेलिकमले अप्टिकल फाइबरमार्फत सीसी क्यामेरा जडान गर्नुका साथै वाइफाई हटस्पटको व्यवस्था पनि मिलाउनेछ। जडान गरिने क्यामेरा २४ सै घण्टा सञ्चालनमा राखिनेछन्।

नगरपालिका अन्तर्गत रहेका ३५५ स्थानमध्ये प्रारम्भिक चरणमा १०५ स्थानमा क्यामेरा जडान गरिनेछ भने दोस्रो चरणमा थप २५० स्थानमा आवश्यकतानुसार विस्तार गरिने जनाइएको छ।

टेलिकमका प्रादेशिक प्रमुख कमल लामिछानेका अनुसार नगरपालिकाको वडा नं. ६ र ८ मा पर्ने घण्टाघर क्षेत्र वरपर वाइफाई हटस्पट पनि सञ्चालनमा ल्याइनेछ। यसले सार्वजनिक इन्टरनेट पहुँचलाई समेत विस्तार गर्नेछ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख एसपी सुधीरराज शाहीले सीसी क्यामेराको प्रयोगले नागरिकमा सुरक्षा अनुभूति बढाउने र अपराध नियन्त्रणमा ठोस सहयोग पुग्ने बताए। साथै, समग्र सुरक्षा प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

नगरपालिकाले यो योजनालाई नगर व्यवस्थापन, विधिको शासन, तथा सुरक्षित वातावरण निर्माणका लागि प्रविधिको प्रभावकारी प्रयोगको सुरुवातका रूपमा लिएको छ।