काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय कोदो दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले कोदीलगायतका पोषणयुक्त र जलवायुमैत्री रैथाने बाली संरक्षण अभियानमा जुट्न आह्वान गर्नुभएको हो ।
उहाँले मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही दशकदेखि नीतिगत बेवास्ता र सामाजिक उपेक्षाको कारण संकटमा पर्दै आएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ– ‘हाम्रा पहाडी तथा हिमाली भेगमा पुस्तौँदेखि उत्पादन हुँदै आएको कोदो धान, मकै र गहुँ पछिको चौथो मुख्य अन्नबाली हो । तथापि, नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही दशकदेखि नीतिगत बेवास्ता र सामाजिक उपेक्षाको कारण संकटमा पर्दै आएको छ । तसर्थ, भूमिको सदुपयोग, किसानको सम्मान, उत्पादनको व्यावसायिकता, नवप्रवर्तन, प्रविधिको प्रयोग, बीउको संरक्षण, बजार पहुँच र युवाको सहभागितामार्फत कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउने दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ । आउनुहोस्, हामी सबै मिलेर कोदोलगायतका पोषणयुक्त र जलवायुमैत्री रैथाने बालीहरूको संरक्षण, प्रवद्र्धन र समृद्धिको अभियानलाई राष्ट्र निर्माणको अभिन्न हिस्सा बनाऔँ ।’










