काठमाडौँ । बालुवाटारमा बसेको सत्ता साझेदार दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल सकिएको छ ।
मन्त्री हेरफेर लगायत सरकारका काम कारबाहीबारे छलफल गर्न भनेर बसेको बैठकमा संघीय सरकारका मन्त्री फेरबदलबारे छलफल नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
छलफलमा सरकारका काम कारबाही प्रभावकारी बनाउने, विधेयकहरूलाई टुङ्ग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारबारे छलफल भएको नेता खड्काले बताए । उनले भने, ‘संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश पनि भएन, छलफल पनि भएन त्यो विषयमा कुनै चर्चा नै भएन । ’
बैठकमा बागमती सरकारबारे सामान्य समीक्षा भएको जानकारी दिदै उनले भने, ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो, त्यो विषय कांग्रेसको भएकाले कांग्रेसले नै मिलाउँछ एमालेले सहयोग गरिरहेकै छ भन्ने भयो ।’
यस्तै, बैठकमा समग्र सरकारको परफमेन्सका बारेमा छलफल हुँदा काम कारबाही प्रभावकारी बनाउने, बजेट कार्यान्वयनलाई गति दिने लगायतमा छलफल भएकोउनले बताए ।
छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।










