काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आफूविरूद्ध मन्त्रीहरू र नेताहरूले प्रपञ्च गरेको आरोप लगाएका छन् ।
आफूले सहमतिमै लैजाने प्रयास गरे पनि मन्त्रीहरू र नेताहरूले भित्रभित्र प्रपञ्च गरेको उनले बताए ।
मंगलबार हेटौंडामा बसेको संसदीय दल बैठकमा दल नेता तामाङका पक्ष र विपक्षमा रहेका सांसदहरूको मतविभाजन गरिएको थियो ।
लामाका पक्षमा १५ जनाले मात्रै मत दिए भने सांसद ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना उभिए । बागमतीमा कांग्रेसका ३७ जना सांसद छन् ।
बागमती कांग्रेसमा अहिले संसदीय दल नेता रिक्त भएको अवस्था छ भने त्यसका लागि भोलि निर्वाचन हुनेछ ।
दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री तामाङले पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्रीबाट राजीनामा नदिने प्रस्ट पारे ।
‘मुख्यमन्त्री हुन दल नेता हुनुपर्छ भन्ने कानुनी व्यवस्था छैन । अहिले दल नेता रिक्त भएको अवस्था छ, मुख्यमन्त्रीबाट भने म राजीनामा दिन्नँ ।’ उनले भने ।
संसदीय दल र सरकार फरक विषय भएको बताउँदै दल नेता नहुँदैमा मुख्यमन्त्रीबाट हटाउन सक्ने व्यवस्था नरहेको उनले बताए ।
आफूमाथि विभिन्न आरोप लगाइएको भन्दै असन्तुष्टि जनाउँदै यसबाट कांग्रेसलाई नै फाइदा नपुग्ने बताए ।
उनले गठबन्धन सरकार रहेको र मुख्यमन्त्री हुन दल नेता हुन आवश्यक नरहेको दोहोर्याए ।










