काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले मधेसको खानेपानी तथा सिंचाईको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन नमिल्ने टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो टिप्पणी गर्नुभएको हो । मधेसको सुख्खापनको समस्या समाधान गर्न सरकारले प्याकेजसहितको कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले एक वर्षमा जनहितका केही उपलब्धि प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र हुन नसक्ने टिप्पणी पनि गर्नुभयो ।
जनताको आधारभुत सेवा र सुविधा सुनिश्चित गर्न राज्य पूर्णतः असफल भएको आरोप लगाउनु भयो । तपाईंजस्तो दुई तिहाईको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्युनिकरण गरेको खोई ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न उहाँको छ ।
उहाँले भन्नुभयो, ‘मधेसका नागरिकहरुलाई खानेपानी तथा सिंचाईको लागि पानी उपलब्ध गराउने कागजी घोषणले मात्रै सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सरकारले ठोस राहत प्याकेजको व्यवस्था गर्न सम्माननीय अध्यगज्युमार्फत नेपाल सरकारलाई आग्रह गर्दछु । लागु नभएका र नहुने सरकारका सात बुँदाको म यहाँ चर्चा गर्न चाहान्न । जनताले के खोजेका थिए र यो एक वर्षमा के भयो ? नेपाली जनताले अर्थतन्त्रमा सुधार खोजेका थिए तर सरकारले सुधार गर्न सकेन । रोजगारीको माग गरे सरकारले वास्ता गरेन । निःशुल्क औषधोउपचार पाउने गरि जनताको इच्छा समेत पूरा भएन । दलालबाट मुक्ति खोजेका जनताले त्यो पनि पाएनन् । राज्यले तोकेको सेवा जनताले उपभोग गर्न पाएनन् । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईजस्तो दुई तिहाईको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्युनिकरण गरेको खोई ? सक्रिय जनशक्ति पलायन हुनबाट किन रोक्न सक्नुभएन ?’
उहाँले मुलकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।










