काठमाडौँ । बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिप खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेपाली टोली प्रतियोगितामा उपविजेता बन्यो । डबल राउण्ड रोबिनमा खेलाइएको प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो ।
सोमबार बेलुका भएको बंगलादेशसँगको निर्णायक खेलमा ४–० को हार बेहोरेसँगै नेपालको उपाधि सपना तुहियो । यस खेलमा जित निकालेको अवस्थामा नेपालको उपाधि जित्ने सम्भावना रहन्थ्यो ।
बंगलादेश, नेपाल, भुटान र श्रीलंका गरी चार टोलीको सहभागिता रहेको प्रतियोगितामा बंगलादेश ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर विजेता बन्यो ।
यस्तै नेपाल ४ जित र २ हारसहित १२ अंकसहित दोस्रो भयो ।










