काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ ।
भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत सहभागी हुनुहुन्छ ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो ।
यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउनुभएको छ ।
एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा पूर्वराष्ट्रपतिको पार्टीको सक्रिय राजनीतिमा आउनेबारे छलफल चलेको थियो । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।










