२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रै महिना ‘जुवाको अखडा’ उपत्यका



अ+ अ-

काठमाडौं । जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुई/चार दिन हिरासतमा राख्छ । जुवालाई सामान्य अपराध मान्दै जिल्ला प्रशासन कार्यालयले झिनो चार्जमा हिरासतमुक्त गरिदिन्छ । प्रहरीले पक्राउ गरेर सामान्य सजाय पाएर उम्किएकाहरू झन् गोप्य र प्रहरीले पत्तो नपाउने ठाउँमा खोजेर जुवामा जान्छन् । त्यसको उदाहरण हो, पाँच दिनअघि पक्राउ परेका जुवाडेहरूको ९ जनाको समूह ।

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरू शुक्रबार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले जनही ३० हजार धरौटी माग गरी रिहा गरिदिएको हो । प्रहरीका अनुसार उनीहरू धनाढ्य व्यापारी हुन् । अन्य व्यापार व्यवसाय सुचारु नभइरहेको अवस्थामा जुवालाई नै व्यवसाय मानेर मोटो रकमसहित जुवा खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले सोमबार राति पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको समय लिएर अनुसन्धान अघि बढाएको थियो । कमलादीस्थित गंगौर होटलमा जुवा खेलिरहेका बेला रामचन्द्र सांघाई, पुरुषोत्तम अग्रवाल, अशोक अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगार्ई २ लाख ७७ हजार नगदसहित पक्राउ परेका थिए ।  

उनीहरूले नगद थोरै राखेर क्यासिनोमा प्रयोग हुने चिप्स (पैसाकै जस्तो मूल्य भएको सामग्री) प्रयोग गरेकोे आंशका प्रहरीले गरेको थियो । नगद थोरै राखे पनि मोबाइल बैंकिङ, ई–सेवालगायत डिजिटल डिभाइसहरूबाट पैसा पठाएको हुनसक्ने प्रहरीको निष्कर्ष थियो । तर, प्रहरीले गम्भीर र मोटो रकमको कारोबार नभएको भनेपछि  उनीहरूमाथि सामान्य कारबाही भएको छ ।

प्रहरीले बिहीबारै अनुसन्धान प्रमाण सरकारी वकिलको कार्यालयमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार उनीहरूलाई छाडेको छ । तर, यो समूह व्यापारिक र उच्च खानदानी मानिन्छ । राजधानीमा अरू व्यापार सेलाएको बेला पैसा कमाउने खेलमा उपत्यकामा ठुल्ठुला व्यवसायी जुवामा भुलेको विषय यसले पुष्टि गर्छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जुवातासमा प्रहरीले जतिसुकै कडाइ गरे पनि भित्रभित्रै खेल्ने क्रम नरोकिएको बताए । उनले भने, ‘हामीले पक्राउ गर्ने हो, घटनाको अनुसन्धान गरी माथिल्लो निकायमा पठाउँछौं, कारबाही हाम्रो हातमा मात्रै हुन्न ।’  

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनयता उपयत्यकाका विभिन्न ठाउँबाछ जुवा खेल्ने ८ सय जना पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले केही दिन हिरासतमा राखेर छाडेको थियो । ‘जुवा र लागुऔषधमा संलग्नहरू लकडाउनको बेला पनि उत्तिकै सक्रिय रहे, हामीले सामान्यदेखि ठुल्ठुला जुवाखालबाट पक्राउ गरी कारबाही गरेका छौं,’ नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले भने ।  

गत कात्तिकमा पनि उपत्यकामा भिआइपी जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको थियो । महाराजगञ्जस्थित होटल साम्लानजिकै विक्रम पौडेलको घरमा छापा मार्दा ५ करोड बढी रकम बरामद गरेको थियो । त्यतिबेला २५ जनामाथि कुन प्रकारको कारबाही हुने भन्ने चर्चा पनि चलेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई ३० देखि ५० हजार रुपैयाँ धरौटी लिएर छाडेको थियो ।  

प्रहरीले मोटो रकमसहित पक्राउ पर्नेलाई सामान्य हिरासतमा राख्दै छाडे पनि कानुन भने कडा छ । तर, उक्त कानुनअनुसार जुवाडेलाई प्रशासनले कारबाही गरेको देखिन्न । मुलुकी अपराध संहितामा व्यवस्था भए अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । एउटै व्यक्ति दोस्रो पटक जुवा खेलेमा वा खेलाएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । बाम्बार जुवा खालमा संलग्नमाथि ३ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

पूर्व डिआइजी हेमन्त मल्लले जुवा खेल्नेलाई कानुनअनुसार कारबाही नभएको बताए । जुवाको मुद्दामा कारबाही र किनारा गर्ने मुख्य जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई रहन्छ । तर, प्रशासनले सामान्य रकम लिएर जुवामा संलग्न अपराधीलाई छाड्ने गरेको छ । ‘प्रशासनले जुवा खेल्नेलाई त्यति कडा कारबाही गरेको देखिन्न, कम्तीमा कानुनअनुसार कारबाही हुन्थ्यो भने अरू पनि हच्किन्थे,’ उनले भने ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।