काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको बताएको छ ।
पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी गराउनुभएको हो । उहाँले पार्टीको विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले यो विषय पेण्डिङमा रहेको बताउनु भयो ।
राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नविकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित हुने बताउनु भयो । स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विधानको धारा ८ ले स्वेच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति राष्ट्रपति पद हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नविकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित छ । अर्को कुनै ठोस प्रक्रिया नभए नयाँ प्रक्रियाबाट आउनुपर्ने तर्फबाट पनि ध्यानाकर्षण भएको छ । यसमा विभिन्न कोणबाट छलफल भएको छ । अहिले निष्कर्षमा पुगेका छैनौँ । स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । उचित समयमा निर्णय लिन्छ । नविकरण पेण्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भएको छ । स्थगन अवस्थामा छ ।’
उहाँले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताउनु भयो । अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुनेकुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको बताउनु भयो । तत्काल पार्टी अध्यक्ष बनाएर जानेकुरामा सकारात्मक नरहेको निष्कर्ष निकालेको छ ।
बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।
पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं ।’









