१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने भएको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा भएको पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक दीपक बोहराले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए ।

यस्तै, संयोजक बोहराले हालसम्म करिब २५ लाख हस्ताक्षर सङ्कलन भएको जानकारी दिएका छन् । उनले पाँच लाख अपिल र २ लाख हस्ताक्षर फारम भरेर पठाइसकेको पनि जानकारी दिए । हस्ताक्षर अभियानमा हालसम्म ५९ लाख ६८ हजार खर्चको भएको उनको भनाई छ ।

उनले भने, ‘अभियानलाई थप विस्तार गर्न सभापतिको अपिल पाँच लाख र हस्ताक्षर २ लाख पठाइसकेको छ । साउन पाँच गतेबाट घरदैलो अभियानमा जाँदैछौँ । सात प्रदेश र अन्य दुई केन्द्रमा गरी जम्मा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर भएको छ । ’

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको भन्दै रास्वपाले असार ७ गतेबाट हस्ताक्षर अभियान थालेको थियो ।